नेपालगन्जमा कर्पोरेट सेक्टरबाट पहिलो पटक राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिताको घोषणा गरिएको छ । निजी क्षेत्रबाट सञ्चालित हेल्थ केयर अस्पताल तथा प्रसुति गृह (एचसिआरसी अस्पताल)ले आफ्नो सेवा बिस्तार सगै खेल क्षेत्रमा राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेको हो ।
सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी अस्पतालका अध्यक्ष डा. कुमार शान शाहले हरेक बर्ष पुस अन्तिम सातामा ‘एचसीआरसी कप ब्याडमिन्टन टुनामेन्ट’ आयोजनाको औपचारिक घोषणा गरे । यस बर्ष नेपालगन्जबाट सुरु हुने प्रतियोगिता प्रत्येक बर्ष क्षेत्र, प्रदेश हुदै राष्ट्रिय स्तरको टुनामेन्टको रुपमा स्थापित गर्ने लक्ष्य राखिएको अध्यक्ष डा. शाहले प्रष्ट पारे ।
यसका लागि आवश्यक सबै लगानी हेल्थ केयर अस्पताल तथा प्रसुति गृहले गर्नेछ । प्रसुतिका लागि विशेषज्ञ अस्पताल विकासको योजनामा निरन्तर लगानी बढाइरहेको एचसीआरसी अस्पतालले यसै बर्षदेखि आधुनिक तथा सुविधा सम्पन्न भवन निर्माण कार्य अगाडी बढाएको जनाएको छ ।