भौतिक उपस्थितिमा कक्षा १२ को परीक्षा

नेपालगन्जस्थित ब्राइटल्याण्ड कलेजमा विद्यार्थीहरुको भौतिक उपस्थितिमा बुधवार कक्षा १२ को परीक्षा सञ्चालन गरिंदै । (तस्विरः भरतसिंह विष्ट)

कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आज बुधबारबाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुको परीक्षा भौतिक उपस्थितिमै लिएको हो ।

बिहान ८ बजेबाट सुरु परीक्षा साढे एक घण्टाको हुने छ । बोर्डले यसअघि ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएकोमा यस पटक भने १००% अंककै लिन लागेको हो । अघिल्लो वर्ष थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिएको थियो ।

परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउनु पर्ने छ । उनीहरुलाई ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश दिइने छ । परीक्षा केन्द्रमा सेनिटाइजरको समेत व्यवस्था गरिएको छ ।

बाँके–बर्दियाका उच्च माविहरुमा पनि परीक्षा सञ्चालन गरिएका छन् । हिसान बाँके बर्दिया अध्यक्ष डा. अवनिन्द्रदत्त मिश्रले आवश्यक सावधानी अपनाएर परीक्षा सञ्चालन गरिएको जानकारी दिए ।

नेपालगन्जस्थित ब्राइटल्याण्ड उच्च माविका शिक्षक भरतसिंह विष्टका अनुसार, परीक्षा सम्बन्धी आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सुचारु गरिएको छ । यसपटक होमसेन्टरमै परीक्षा लिइएको भएपनि उत्तरपुस्तिका चेकजाच बाहिर हुनेछ, शिक्षक विष्टले नेपालगन्जन्युज संग भने ।

प्रतिक्रिया

प्रतिक्रिया