बिशाल रानामगर
पाँच वर्ष भन्दा बढि भयो नेपालगन्ज फोटोवाकर्स सुरु गरेको । फोटोग्राफी सिक्ने भोकले जन्मेको हो नेपालगन्ज फोटोवाकर्स । फोटोवाक अर्थात फोटो खिच्दै हिड्ने काम । नेपालगन्जमा फोटोवाक गर्दा हामी तीन जना थियौं अहिले करिब तीन दर्जन पुगेका छौं । न कुनै बाँधिएको नियम, न कुनै आर्थिक भार । सायद फोटोग्राफी सिक्ने भोकका कारण होला यो परिवार बढ्दैछ । फोटोग्राफीको बारेमा सिक्ने सिकाउने, छलफल गर्ने र फोटोग्राफीको माध्यमबाट नेपालगन्जलाई चिनाउने प्रयास गर्छु भनेर नेपालगन्ज फोटोवाकर्स सुरु गरेको थिएँ ।
नेपालगन्जका सायद कुनै यस्तो गल्ली छैनन् होला जहाँ फोटोवाक नभएको होस । सम्भव भएसम्म हरेक शनिबार आयोजना गरिने फोटोवाक साँच्चीकै समावेशी छ । अनि हामीले गर्ने व्यवहारमा नेपालगन्जको परिचय सामाजिक सद्भाव र भाइचारा झल्किन्छ । हामीले हरेक धर्मको महान चाडहरुलाई आफ्नो क्यामेरामा कैद गर्ने गरेका छौं । जसमध्ये मुस्लिम धर्मावलम्बीहरुको महान चाड ईद उल फित्रमा हामीले हरेक वर्ष फोटोवाकको आयोजना गर्ने गरेका छौं । जुन यस वर्ष पनि जारी आयोजना भयो । तर अरु वर्ष भन्दा यो वर्षको इद फरक रह्यो नेपालगन्ज फोटोवाकर्सका लागि ।
यो वर्षको फोटोवाकमा दुई खाले सहभागीता थियो । एक खाले लामो समयदेखि फोटोवाकमा भाग लिएका र एक खाले पहिलो पटक फोटोवाक पनि ईद हेर्न पनि पहिलो पटक आएका थिए । एक साता अघिबाट बिता क्रियटिभले सुरु गरेको आधारभूत फोटोग्राफी कोर्समा सहभागी भएका निरज कार्की पहिलो पटक यस्तो खालको वातावरणमा फोटोग्राफी गर्दा फोटोग्राफी गर्ने थप आत्मबल आएको बताए ।
अर्का सहभागी खेम परियारले इदको फोटोवाकले इदको बारेमा बुझ्न र फोटो कसरी खिच्दा राम्रो हुन्छ भन्ने बताए । भने अर्का सहभागी प्रेम बैगारले विशेष गरी फोटो कम्पोजिसनको बारेमा इद फोटोवाकमा सिक्न पाएको खुसी व्यक्त गरे ।
सहभागी गीता गाहामगरले फोटोग्राफी क्लासमा सिकेको फोटो खिच्ने तौरतरिकाहरुलाई फोटोवाकमा आएर सोही अनुसार फोटो खिच्न पाउँदा व्यवहारिक ज्ञान हासिलगरेको बताइन ।
नेपालगन्जमा फोटोवाक अब नौलो रहेन । ईदको फोटोवाक सकिनै लाग्दा नेपालगन्जमा भर्खरै श्रृजनशिल सजावटका साथ स्टिमिंग कप क्याफेको सुरुवात गरेका मोहम्मद रफिले फोटोवाकको सबैलाई सेबईको निम्तो दिए । ईदमा बनाइने एउटा विशेष खानाको प्रकार सेवई खान फोटोवाकमा आएका करिब दुई दर्जन र अन्यलाई पनि रफिजी र इराकी ब्रदर्सले बडो प्रेमका साथ सेबई खुवाए । खासमा ईदको सन्देश पनि यहि होला । खुसीयालीलाई बाँड्ने ।
रफिजीकोमा सेबई खाइनसक्दै मलाई फोटोवाककै सदस्यहरु गुड्डु टि स्टलका गुड्डु भाईजान र निहाल अख्तरको फोन आइसकेको थियो । सबै सदस्यहरुलाई लिएर सेबई खान आउनका लागि । हामी गुड्डु भाईजानकोमा पुगेर सेबई र दहिबरा खाएर जानै लाग्दा फोटोवाकका सदस्य अमित रावलले हाँसो गर्दै भन्दै थिए, ‘कहाँ दहि बरा हुनु छोटा रैछ ।
अनि जानेमाने रेडियो कार्यक्रम प्रस्तोता तथा पत्रकार समिरमान श्रेष्ठ निहाल भाईको घर पुग्दा सम्म अब त हाउसफुल भइयो भन्दै थिए । निहाल भाईको सपरिवारले हामी करिब दुई दर्जनलाई आत्मियताका साथ स्वागत गर्दै सेबई, छोला र दहि बरा पस्किए । हामीले आफैपनि पस्किएर खायौं । निहाल भाईकोमा म पहिले पनि दुई पटक गएको छु ईदको सेबई खान । जुनैद भाइ पनि हामी पुगेको खबर पाएर आइहाले । फोटोवाकमा आइरहने जुनैद भाइको घरमा गत वर्ष पनि ईद मनाउन पुगको थियौ । अनि हरेक ईदमा कविर भाईको सेबई पनि खान पाइन्छ ।
अलि वृतान्त जस्तो भयो यो लेख तर सार महत्वपूर्ण छ । नेपालगन्ज मुस्लिम धर्मावलम्बीहरुको बाहुल्यता भएको जिल्ला हो । देश धर्मनिरपेक्ष हुनु भन्दा अघि देखि म यहाँ बस्न थालेको हुँ । सायद त्यतिखेर आफुपनि घुलमिल नभएर हो यहाँ त्यस्तो वातावरण नभएर । मलाई पहिलेका वर्षहरुमा ईद त्यती उल्लासमय लाग्दैनथ्यो । तर पछिल्ला केही वर्षहरमा हरेक ईद आफ्नै चाड जस्तो लाग्छ ।
अझ एउटा फोटोग्राफर भएकाले ईदको दिन निश्चित समयमा हुने नमाज पढनका लागि गरिएको तयारी र नमाज पढ्दाको दृश्य क्यामेरामा कैद गर्ने सधैं लालसा रहन्छ । अनि फोटोवाकको टिममा भएका साथीभाईको सादर अनुरोधमा उनको घरसम्मै पुगेर ईदको खुसीयाली बाँड्न पाउँदा लाग्छ नेपालगन्जलाई त्यसै सद्भावको सहर भनिएको हैन । यो व्यवहारमा सद्भाव, भाइचार, खुसीयाली र सहिष्णुता बाँड्ने शहर हो ।