नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाललाई बहुल राष्ट्रिय राज्य (बहुराष्ट्रिय राज्य) तर्फ लैजान राष्ट्रिय मुक्ति आन्दोलन गर्ने भनेर दिएको अभिव्यक्तिप्रति मौलिक जरोकिलो पार्टीले आपत्ति जनाएको छ ।
पार्टी प्रवक्ता मित्रलाल शर्माले शनिवार विज्ञप्ति जारी गर्दै उपप्रधानमन्त्री जस्तो पदमा बसेर नेपाललाई घृणा, द्वन्द्व र विभाजनतर्फ उन्मुख गर्ने बहुराष्ट्रिय राज्यको वकालत गर्नु नेपालको स्वतन्त्रता र भौगोलिक अखण्डतामाथिको प्रहार हो भनेका छन् । सिद्धान्ततः बहुराष्ट्रिय राज्य मान्ने लेनिनवादी कार्यकारी प्रमुख भएको बेला उपप्रधानमन्त्रीबाट यस किसिमको अभिव्यक्ति आउनुमा कतै प्रधानमन्त्रीको पनि मिलोमतो छ कि भन्ने आशंका जन्माएको प्रवक्ता शर्माको टिप्पणी छ ।
विज्ञप्तिमा भनिएको छ, तत्कालिन युगोस्लाभिया र सोभियत संघ विघटनको प्रमुख कारण बहुराष्ट्रिय राज्यको अवधारणा थियो भनेर बुझ्दा बुझ्दै नेपाललाई पनि बहुराष्ट्रिय राज्यको आधारमा संचालन गर्ने प्रयास गर्नु नेपालको विघटन गराउने नियोजित षड्यन्त्रको रुपमा पार्टीले लिएको छ । युरोपका क्याथोलिक इसाई र प्रोटेस्टेण्ट इसाई बीचको द्वन्द्व समाधान गर्न सन् १६४८ मा गरिएको वेस्टफ्यालियाको सन्धिमा आधारित बहुराष्ट्रिय राज्यको अवधारणा युरोपमै गतार्थ भइसकेको छ भने नेपाल जस्तो हिन्दू, बौद्ध, बोन, जैन, किरातको मूलभुमीमा लाद्न खोज्नु मानसिक दासताको उपज हो भन्ने पार्टीको ठहर छ ।
पार्टी प्रवक्ता शर्माले नेपालको भूराजनीतिक वैधानिकता वैदिककालदेखि राज्यराष्ट्रको मान्यतामा आधारित रहेर अविच्छिन्न रहिआएको सन्दर्भ जोड्दै भनेका विज्ञप्तिमा छन्, नेपालको मौलिक धार्मिक सम्प्रदायको चिन्तनमा आधारित उदार राष्ट्रियताको चरित्र बोकेको राज्यराष्ट्र सिद्धान्तको अवलम्बन नै उत्तम समाधान हो भन्ने कुरामा मौलिक जरोकिलो पार्टी विश्वस्त रहेको छ ।