बाँकेको खजुरा गाउँपालिकाले स्वास्थ्य सेवा ऐन बनाउने भएको छ । स्वास्थ्य नीति तथा ऐन सम्बन्धी शुक्रवार सरोकारवालाहरुसंग छलफल गर्दै गाउँपालिकाले स्वास्थ्य नीति बनाउने निष्कर्षमा पुगेको हो । स्वास्थ्य ऐन अतिआवश्यक रहेको भन्दै गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले नीति माथि टेकेर ऐन बनाइने उल्लेख गर्नुभयो ।

स्वास्थ शाखाको आयोजनामा भएको छलफल कार्यक्रममा स्वास्थ्य तथा सरसफाई नीतिनिर्माणको प्रक्रियामा रहेको भन्दै नीति सगै ऐन बनाउनु पर्नेमा कार्यक्रममा बोल्ने सहभागिहरुले जोड दिएका थिए । खजुरा गाउँपालिकाले बनाएको नितिलाई अध्ययन गरि आवश्यकता अनुसार संसोधन गरि स्वास्थ्य सेवा ऐन बनाउनका लागी ऐन निर्माण तथा नीति अध्ययन समिति गठन समेत गरिएको छ । ऐन निर्माण तथा नीति अध्ययन समितिमा कार्यपालिका सदस्य योगमाया खनालको संयोजकमा ६ सदस्यि समिति गठन गरिएको हो ।
समितिको सदस्यमा स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेल, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक कृष्ण आचार्य, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, सुचना अधिकृत सुरेश साहु, वडा नम्बर २ का वडाध्यक्ष देविलाल खनाल, कानुनी सल्लाहकार विकास आचार्यलाई चयन गरिएको छ । समितिको सल्लाहकारमा स्वास्थ्यकालागी सक्षम प्रणाली परियोजनाका रामहरी अधिकारी, जिल्ला स्वास्थ्यकार्यालयका प्रमुख धीरजंग शाहलाई चयन गरिएको छ ।
सामाजिक विकास संयोजक फत्ते कुमारी जैसीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, कृषिशाखा प्रमुख पुनम पोखरेल, शिक्षक, ८ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, लेखा अधिकृत प्रदिप सुनार, स्वास्थ्यकर्मी लगायत सहभागी थिए ।