२६ औं जनयुद्ध दिवसको बिहानीमा मलाई सम्झना भयो । आज मेरो लागि त विशेष दिन हो । वि.सं. २०७७ फाल्गुन १ गते, मेरा कुनै पनि प्रकारका औपचारिक कार्यक्रमहरु भएका छैनन । तर यस विशेष दिनमा म शान्त तथा चुपचाप बस्न पनि सक्दिन । मलाई र मेरो पुस्तालाई राजनैतिक चेतना तथा स्वतन्त्रता र राजनैतिक दासत्व तथा उन्मुक्तिका विषयमा सजग गराउने महान गौरवमय क्रान्तिको शुभारम्भ भएको दिनको सम्झना, ती महान सहिदहरुको तातो र रातो रगतको बलिदानीमा प्राप्त व्यवस्था माथी उभिएर मैले केही उपहार दिनै पर्ने हुन्छ । ती महान सहिदहरुको रगतको मान राख्न र नेपालको राजनीतिमा उदाउँदा नवयुवाहरुलाई सासस र हौसला प्रदान गर्न, जनयुद्ध दिवसको दिनमा विशेष उपहार प्रस्तुत गर्नैपर्छ । यस विशेष दिनको मिर्मिरेमा मैले निश्चय गरें – एउटा ऊर्जा भरिएको विचारले मात्रै , ती महान सहिदहरु, बेपत्ता योद्धाहरुको, घाइते लडाकुहरुको घाउहरुमा महलमपट्टी लगाउन सक्नेछ । लड्दा-लड्दै पनि प्राप्त गर्न नसकेका उपलब्धिहरुलाई पुनः पुनर्ताजगी गर्दै युवाहरूलाई सशक्त संघर्षमा होमिन उत्प्रेरित गर्न सक्दछ ।
यस गौरवमय घडीमा ती महान व्यक्तिहरु जसले मेरो र मेरो पुस्ताहरुको मौलिक हक र अधिकारको सुनिश्चितता गर्न, राजनैतिक पहुँच एवम् स्वतन्त्रता प्रदान गर्न, अन्धकारयुक्त एकतन्त्रीय शासन व्यवस्था जनतालाई सुम्पन आफ्नो अमुल्य बलिदानी दिनुभएको छ । उहाँहरु प्रती उच्च सम्मान एवम् अभिवादन ! साथै, सम्पुर्ण युवा – विद्यार्थी साथीहरू प्रती जनयुद्ध दिवसको मीठो सम्झनाको साथमा शुभकामना !!!

संगम पोख्रेल आयाम
मुलुक एकतन्त्रीय राजनैतिक छत्रछायामा घस्रीरहेको थियो । जनताका मौलिक अधिकारहरु, आवाजहरु सिमित परिवार भित्रका सदस्यहरूको मुठ्ठी भित्र निमोठिएको थियो / दबाइएको थियो । रंगभेद, जातीयभेद, वर्गभेद जस्ता कैयौं विकृतिहरुको बिगबिगी थियो भने धार्मिक रुढीबाद तथा अन्धविश्वासको आडमा शासन संचालन भइरहेको थियो । मुख्य पक्ष त मुलुक सामन्तवादी एवम् पुजीवादी व्यवस्थामा आधारित थियो ।
यद्यपि विविध प्रतिरोध, दमन, प्रहार, र प्रतिबन्ध लादिए तापनी मुलुकमा स्वतन्त्रताको आवाज बुलन्द भइ रहेकोे थियो । मुलुकले सामन्तवादको अन्त्य गर्न जनलहर तयार गरिरहेको थियो । एउटा विचार तरंगित भइ रहेकोे थियो – ” प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न – जनयुद्धको बाटोमा अगाडि बढौं ।।। “
मुलुक जनयुद्धको बाटोमा अगाडि बढ्यो । युवाहरूको ऊर्जा, विद्यार्थीहरुको कलम, मजदुरहरुको औजार, बौद्धिक जगतको विचार, जनमुक्तिसेनाको हतियार, संचारकर्मीहरुको समाचार पुजीवादी राज्यसत्ताको विरुद्धमा उभिए । पुजीवादीहरु र उनका मतियारहरुमा कम्पन्न सिर्जना भइ सकेको थियो । विचारको सशक्त विद्रोह तिव्र गतिमा अगाडि बढी नै रह्यो । सामन्तवादी एवम् पुजीवादीहरुको निरन्तर प्रहारको सामना गर्दै किल्लाहरुमा लालझण्डाहरु गाडिदै गए ।
वीर योद्धाहरुको रातो रगतले मुलुकमा नयाँ विचारहरु र असंभव ठानिएका परिवर्तनका नक्साहरु कोरिदै गए । यस निरन्तर यात्राले सामन्तवादलाई घुँडा टेक्न बाध्री पार्यो । तर ;
तर पुजीवादी व्यवस्था उन्मुलन गर्न सकेन । जनयुद्ध माथीको निरन्तर भौतिक, रणनीतिक एवम् वैचारिक प्रहारहरुले कैयौं एजेन्डाहरुलाई स्थापित हुन दिएनन् । नागरिकहरुको पहिचान स्थापित हुन सकेन । सामन्तवादको अन्त्य भएर सामन्तवादीहरुको उत्पादन हुन छोडेन । पुजीवादी व्यवस्था आसेपासे पुजीवाद ( क्रीप्टो क्यापिटालिज्म ) मा परिणत भयो ।
राज्यसत्तामा अग्रगामी शक्ति भन्दा यथास्थितिवादी तथा प्रतिगामी शक्ति केन्द्रको हस्तक्षेप रह्यो । सबैभन्दा पिडाको क्षण, प्रतिगामी र यथास्थितिवादी शक्तिहरुको विरुद्धमा नै संघर्ष गरेर आएका योद्धा/कमान्डरहरुले नै पश्चगमनको हातमा सत्ता र शक्ति पुर्याउन योगदान गरें । युवाहरुमा चेतना राजनैतिक वितृष्णाको रुपले भरियो । जसले प्रतिगामीहरुलाई स्टन्टबाज राजनीतिको प्रयोग गर्दै राजनैतिक पहुँचबाट युवाहरूलाई नै पन्छाउने र गुमराहमा राख्ने अवस्थाको सिर्जना गरियो ।
बौद्धिक जगतमा घुसपैठ गरि वास्तविक एवम् वैज्ञानिक सोच विचार प्रस्फुटन गर्नु भन्दा भ्रमपुर्ण र अवैज्ञानिक कुण्ठाको भण्डारण गरियो । शिक्षा प्रणालीमा परिवर्तन हुन नदिइ दास उत्पादन गर्ने कारखानाको स्वरुप बनाइयो । पुजीवादी शिक्षाको जगमा टेकेर विद्यार्थीहरुको अबोध मानसिकतामा असत्यको साँचो लगाइयो ।
तथापि त्यही जनयुद्धको बलमा प्राप्त विचार स्वतन्त्रता अधिकारको प्रयोग गर्दै पुनः जनयुद्धको एजेन्डाहरुलाई उजागर गर्न आवश्यक छ । प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै बाकी रहेका एजेन्डाहरुको पक्षमा जनमत सिर्जना गर्दै अगाडि बढ्नु पर्दछ । सामन्तवादको अन्त्य भए तापनि अवशेषका रूपमा खडा भएका सामन्तवादीहरुको प्रतिरोध र प्रहारलाई रोक्न सशक्त युवा मोर्चा निर्माण गर्न आवश्यक छ । जनयुद्धको बलमा स्थापित एवम् उदयमान शक्तिहरुको बृहत मोर्चाबन्दी हुन जरुरत छ ।
वर्तमान अवस्थामा सिर्जित राजनैतिक घटनाक्रमले स्वयं जनयुद्धको पुर्ण सफलता नभईसकेको, सामन्तवादको हाँगो मात्रै काटिएको तर जरा नउखेलिएको, पुजीवाद नमेटिएको तर स्वरुप र आकार मात्रै फेरिएको स्पष्ट प्रमाणित गरेको छ । वर्तमान घटनाक्रमले नै प्राप्त वैचारिक एवम् नागरिक स्वतन्त्रता, संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र आदि लगायतका परिवर्तनकारी उपलब्धिहरु जोखिममा रहेको पुष्टि पनि गरेको छ । परिवर्तनकारी एजेन्डा बोक्ने शक्तिहरुलाई दमन/प्रतिबन्ध गर्नु, संचार हमला गर्नुले निरंकुशता र सामन्तवादको नयाँ बिज उत्पादन भइसकेको संकेत गर्दछन ।
आज २६ औं जनयुद्ध दिवसको अवसरमा, म लगायत जनयुद्धको चेतना ओतप्रोत भएका लाखौं युवा-विद्यार्थीहरुले सहिदहरुको रगतलाई साँची राख्दै, संयुक्त प्रतिज्ञा एवम् घोषणा गरौं ;
प्रतिगमनका विरुद्धमा, मौलिक हक र नागरिक अधिकार माथि हुने बज्रपातका विरुद्धमा, स्वतन्त्रता, संघियता, धर्मनिरपेक्षता, पहिचानलाई स्थापित गर्दै, गणतन्त्र तथा लोकतन्त्रका पक्षमा रहि सामन्तवाद, पुजीवादका विरुद्धमा तथा यिनिहरुको मलजलले उत्पादित विविध वेथिती, कुरिती, अनिती, भ्रष्टाचार, हिंसा र असत्यका विरुद्धमा, न्यायसंगत ढंगले सामाजिक न्याय स्थापना गर्न म र मेरो पुस्ता शरिरमा रगतको अन्तिम बुँद नसुकेको अवस्था सम्म निरन्तर संघर्षरत रहनेछौ । वैज्ञानिक शिक्षा प्रणालीको विकास गर्दै, मुलुक परिवर्तनको कार्यभार आफ्नो कर्तव्य ठान्दै सत्य र न्यायका निमित्त सधैंव आन्दोलित रहि संघर्षकै मैदानबाट मुलुकलाई समाजवादमा पुर्याउन जिवनको सम्पुर्ण ऊर्जाको प्रयोग गर्न तयार रहनेछौ । हामी प्रतिज्ञा गर्दछौ – संघर्ष र कठिन परिस्थितिमा अविचलित रहि आइपर्ने जस्तोसुकै दमन प्रतिरोधको सामना गर्दै, युवा मोर्चालाई आफ्नो उद्देश्य प्राप्तिको दिशामा अगाडि बढाउदै लक्ष प्राप्त गर्नेछौ । मुलुकलाई उन्नत समाजवादमा परिणत गर्न प्रतिबद्ध छौ । पुनः जनयुद्ध दिवसको शुभकामना !!!
(२०७७ फाल्गुन १ )