मौलिक जरोकिलो पार्टीले पछिल्लो समय नेपालमा भैरहेका घटनाहरुप्रति गम्भीर चिन्ता व्यक्त गरेको जनाएको छ ।
पार्टी केन्द्रीय प्रवक्ता मित्रलाल शर्माले विहीवार प्रेस विज्ञप्ति जारी गरि विभिन्न घटनाक्रमप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् । ‘काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा रहेको पशुपति मन्दिर (शिवालय मन्दिर) परिसरमा रहेका शिवलिङ्गहरुमा तोडफोडलाई नेपालको मौलिक धार्मिक सम्प्रदायहरु माथि भएको शृंखलाबद्ध आक्रमणको अर्को एउटा कडी भएको पार्टीले ठहर गरेको छ,’ प्रवक्ता शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘नेपालका हिन्दू, बौद्ध, बोन, किरात र जैन जस्ता मौलिक धार्मिक सम्प्रदाय मास्ने उद्देश्यले भैरहेका गतिविधि नियन्त्रण गर्दै नेपालको संविधान २०७२ को धारा ४ बमोजिम संरक्षणको लागि आवश्यक व्यवस्था गर्न मौलिक जरोकिलो पार्टी जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
मौलिक जरोकिलोले नेकपाका दुई गुटबीच भएको सत्ता संघर्षको रस्साकस्सीले पूरै मुलुकअस्थिरताको बन्दी बन्दै गएको भन्दै घटनाप्रति चिन्ता व्यक्त गरेको छ । ‘गुट उपगुटको पछि लागेर पटक पटक असफल भएका पुराना पात्र र प्रणालीलाई फेरि स्थापित गर्ने भन्दा प्रतिमान परिवर्तनको दिशामा अघि बढ्नुपर्ने’ प्रवक्ता शर्माले पार्टी धारणा सार्वजनिक गरेका छन् ।