सरकार चलाउन नेकपाको संयन्त्र

सत्तारुढ नेकपाले प्रदेश र स्थानीय सरकार सञ्चालनका लागि संयन्त्र बनाउने भएको छ । पहिलो पटक प्रदेश स्तरीय प्रशिक्षण र पार्टीको प्रदेश कमिटि बैठक पछि सरकार सञ्चालनका लागि संयन्त्र बनाउने निर्णय गरिएको हो ।

प्रदेश सरकार सञ्चालनका लागि पार्टी नेतृत्वमा विज्ञ सम्मिलित १७ सदस्यीय संयन्त्र बन्दैछ । पालिका सञ्चालनका लागि जिल्ला पार्टीले सम्बन्धित तहका पार्टीसँगको समन्वयमा संयन्त्र निर्माण गर्नेछ । ‘अब सरकारको छायाँमा पार्टी पर्ने होइन, पार्टीले सरकार सञ्चालनको अभिभारा लिनेछ’, नेकपाका नेता भन्छन् । बैठकको आतिथ्यता गरेको नेकपा बाँकेका सचिव अशोक कोइरालाका अनुसार, बैठकले केन्द्रीय कमिटिको निर्देशन अनुसारका चार महिने अभियानलाई अनुमोदन गरेको छ । जसअनुसार, फागुन महिनाभरी सबै तहहरुमा भेला बैठकहरु गरिनेछन् । जनवर्गीय संगठनको एकतादेखि सम्पूर्ण बाँकी संगठनात्मक कामहरु फागुनमा सकेर चैत्र र बैशाख घरदैलो, र्याली, सभा सम्मेलन आयोजना गरिनेछन् । ‘पार्टी एकतालाई तल्लो तहसम्म एकीकृत ढंगले पुर्याएर संगठनात्मक एकीकरण भएको नेकपालाई कार्यकर्ता तहमा भावनात्मक एकीकरण गरिनेछ’, बैठकको निर्णय सुनाउँदै प्रदेश कमिटि सदस्य समेत रहेका कोइरालाले दैनिक नेपालगन्जसँग भने, ‘अन्तिम महिना समिक्षाहरु गरिनेछन् ।’


‘सरकार र पार्टी अलग–अलग जस्तो देखिंदै आएको अवस्थामा संयन्त्रले पुलको भूमिका गर्छ’, प्रशिक्षण र बैठकपछि नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले दैनिक नेपालगन्जसँग भने, ‘सबै दृष्टिकोणले प्रदेश स्तरीय प्रशिक्षण र बैठक निकै महत्वपूर्ण रह्यो ।’ एकतापछिको पार्टी केन्द्रीय कमिटिका महत्वपूर्ण निर्णयहरु एकसाथ तीन हजार बढी अगुवा सदस्य, जनप्रतिनिधिहरु र केन्द्रीय नेतृत्व बीच प्रस्तुत हुनु आफैमा विशेष महत्व राख्ने प्रतिक्रिया दिंदै युवा नेता गैरेले भने, ‘दुई पार्टीका साथीहरु एक भएर एकै ठाउँमा प्रशिक्षित हुनुले संगठनमा भावनात्मक एकताको विकास पनि गरेको छ ।’


बैठक तथा प्रशिक्षणमा प्रदेशभरीबाट पार्टी र सरकारलाई विभिन्न खालका महत्वपूर्ण सुझावहरु उपलब्ध भएको जानकारी दिंदै केन्द्रीय सदस्य गैरेले त्यसको कार्यान्वयनले पार्टी र सरकारलाई दुरगामी र सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

‘राम्रा कामको प्रचार गर’

प्रदेश ५ का मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ कमिटीका इञ्चार्ज शङ्कर पोखरेलले प्रदेश सरकारले गरेका राम्रा कामहरुको प्रचार गरी जनस्तरसम्म पुर्याउन पार्टी नेताहरुलाई निर्देशन दिएका छन् । बाँकेको कोहलपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ को तेस्रो पूर्ण बैठकमा उनले सरकारले गरेका राम्रा कामको पार्टी नेता तथा कार्यकर्ताबाटै प्रचारप्रसार गर्नमा कञ्जुस्याइँ भएको भन्दै तीनै तहका सरकारले गरेका कामको पार्टी कमिटीले निगरानी र समन्वय गर्दै सफलता हासिल गर्नमा सहयोग गर्न आग्रह गरेका थिए ।
इन्चार्ज पोखरेलले सरकारका काममा सहयोग तथा समन्वय गर्न पार्टीको स्थानीय तह कमिटी क्रियाशील हुनुपर्नेमा जोड दिएका थिए । ‘स्थानीय सरकारले गरेका राम्रो कामको सरकारमा नरहेका पार्टीका जिम्मेवार नेताहरुले नै आलोचना गरेर निरुत्साहित पार्ने गतिविधि हुने गरेको पाइएको छ, यो राम्रो होइन’, उनले भने । उनले पार्टीको केन्द्रीय निर्देशनअनुसार प्रदेश ५ का सबै जिल्लामा राजनीतिक अभियान सञ्चालन गरी वैचारिक, राजनीतिक, भावनात्मक एकता सुदृढ गर्दै सरकारका सकारात्मक कामको प्रचार गर्ने र जनसम्बन्ध विस्तार गर्न आग्रह गरेका थिए ।


बैठकले प्रदेशका लागि तीनमहिने अभियानको खाका तयार गरी फागुनमा जिल्ला तहदेखि तल्लो तहसम्मका पार्टीका बैठक गर्ने, जनसङ्गठन निर्माण गर्ने, चैतमा सर्वसाधारण र कार्यकर्ताबाट सुझाव सङ्कलन गर्ने, तीन तहकै सरकारको कामको समीक्षा गर्ने, प्रचारप्रसार गर्ने र वैशाखमा बृहत् जनसभा गर्ने निर्णय गरेको नेकपा प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्तीले जानकारी दिएकी थिइन् ।


प्रदेश नं ५ को प्रशिक्षण र बैठकले पार्टीका नेता, कार्यकर्ता र सदस्यका बीचमा वैचारिक, सङ्गठनात्मक एवं भावनात्मक एकताको विकास गर्ने, केन्द्रीय निकाय एवं विभागको पूर्णता, सबै तहमा पार्टी तथा जनवर्गीय सङ्गठनको एकीकरण, पार्टी सदस्यको एकीकृत अभिलेख र नवीकरण, पार्टी सम्पत्तिको अभिलेख एकीकरणलगायत पार्टी एकताका बाँकी काम सम्पन्न गर्न सम्बन्धित कमिटी तथा निकायलाई सहयोग र सहजीकरण गर्नेजस्ता कार्यमा सघाउ पुगेको दाबी नेकपा प्रदेश ५ अध्यक्ष घर्तीको थियो ।

बैठक बस्दै नेकपा बाँके

पहिलो पटक केन्द्रीय नेतृत्वलाई डाकेर प्रदेश स्तरीय बृहत राजनीतिक प्रशिक्षण र प्रदेश कमिटि बैठक आयोजनाको आतिथ्य गरेको नेकपा बाँकेले आगामी फागुन १९ गते जिल्लाको पूर्ण बैठक आव्हान गरेको छ । पार्टी सचिव अशोक कोइरालाका अनुसार, संगठनात्मक संरचनाका कामहरु सकेर दोस्रो पूर्ण बैठक डाकिएको हो ।


‘चार महिने संगठनात्मक अभियानलाई कसरी अगाडि बढाउने भन्ने कुरा बैठकको मुख्य एजेन्डा हुनेछ’, कोइरालाले दैनिक नेपालगन्जसँग भने, ‘केन्द्रीय कमिटि र प्रदेश कमिटि बैठकबाट प्राप्त निर्देशनहरुको कार्यान्वयन योजना बैठकले तय गर्नेछ ।’

प्रतिक्रिया

प्रतिक्रिया