नेपालगन्ज – बाँकेको खजुरा गाउँपालिका–२ सितापुरमा भएको एउटा घटनालाई लिएर आफ्नो पार्टीलाई योजनाबद्ध बदनाम गर्न खोजिएको भन्दै सत्तारुढ नेकपाको स्थानीय गाउँ कमिटिले ‘खेद’ व्यक्त गरेको छ ।
मंगलबार त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य सहितको पहिलो गाउँ कमिटि बैठकले नेपाली काँग्रेसको जागरण सभामा भएको घटना नितान्त व्यक्तिगत भएको भन्दै नेकपालाई त्यससँग जोडिएकोमा आपत्ति जनाएको हो । ‘बैठकले एक सुत्रीय रुपमा काँग्रेसको उक्त कार्यको विरोध जनाउँदै खेद प्रकट गर्ने निर्णय गरेको छ’, नेकपाका युवा नेता भीम ओलीले दैनिक नेपालगन्जसँग भने, ‘काँग्रेसको यो व्यवहारका कारण गाउँमा आक्रोशको अवस्था उत्पन्न भएको छ ।’
गाउँ कमिटि अध्यक्ष राजकुमार विकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि, पार्टी अध्यक्ष समेत रहेका प्रदेशसभा सदस्य आइपी खरेलले अतिरञ्जित ढंगबाट नेकपालाई बदनाम गर्न खोजिएको आपत्ति जनाए । ‘राजनीतिक रुपमा गलत कदम चालेकोमा हाम्रो आपत्ति हो’, खरेलले दोषीलाई कारवाही प्रक्रिया अगाडि बढिसकेको अवस्थामा जबर्जस्ती नेकपालाई बदनाम गर्न खोजिएको टिप्पणी गर्दै भने ।
अर्का प्रदेशसभा सदस्य बाबुराम गौतम, वदनिधी प्याकुरेल, युवा नेता रत्न खत्री, भीम ओली, गाउँपार्टी सचिव यम बहादुर महतरा लगायतले खजुरा–२ सितापुरमै राखिएको नेकपा गाउँ कमिटिको बैठकमा सामान्य घटनालाई अतिरञ्जित बनाएर देशव्यापी रुपमा नेकपालाई बदनाम गर्ने काम भएको भन्दै काँग्रेसलाई यसखालको राजनीति नगर्न चेतावनी दिएका थिए ।