नेपालगन्ज – उद्योग व्यापार संघ कसले कब्जा गर्ने भन्ने राजनीतिक होडबाजीले बैजनाथ गाउँपालिकामा सत्तारुढ नेपाल कम्प्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस बीच तनावको अवस्था उत्पन्न भएको छ ।
दुवै दलको साझेदारीमा गत बैशाख ३० गते तदर्थ समिति गठन गरी जिल्ला प्रशासन कार्यालय बाँकेबाट इजाजत लिएको बैजापुर उद्योग व्यापार संघको मंगलबार पहिलो साधारणसभामै तनावको स्थिति उत्पन्न भएको हो ।
भव्य रुपमा उद्घाटन सत्र आयोजना भएको बैजापुर व्यापार संघको बन्दसत्रमा ‘गणपुरक संख्या’ नपुगेपछि अध्यक्ष जनार्दन पोखरेल सहित कार्यसमितिका सदस्यहरुले माइन्युट लिएर हिडेको भन्दै अर्को पक्षले विरोध जनाएको हो । ‘दुई तिहाई हुनुपर्नेमा नभएपछि एकसातामा फेरि साधारणसभा बोलाउने गरी विधिसम्मत स्थगित भएको हो’, नेकपाका प्रतिनिधि प्रेम सुवेदीले दैनिक नेपालगन्जसँग भने, ‘अनाहकमा विवाद सिर्जना गर्ने काम भयो ।’
काँग्रेस प्रतिनिधि प्रकाश शाहले भने आफुहरुको जानकारी विना माइन्युट नदेखाई साधारणसभा स्थगित गरेकोमा आपत्ति जनाइएको बताए । त्यसविरुद्ध ‘न्यायका लागि सडकमा प्रदर्शन गरिएको’ जानकारी दिंदै शाहले स्थानीय प्रशासनलाई समेत जानकारी गराइएकाले थप छलफल कानुनी रुपमै अगाडि बढ्ने बताए । उनका अनुसार, असन्तुष्ट काँग्रेस सम्बद्धहरुले बनकटवामा झण्डै आधा घण्टा टायर बालेर सडकमै प्रदर्शन गरेका थिए ।
तदर्थ समितिमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने भुपेन्द्र बस्नेतले जबर्जस्ती साधारणसभा स्थगित गरिएकाले जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी दिइने बताएका छन् । यद्यपि, नेकपाका प्रतिनिधि सुवेदीले सहमतिमै विधान अनुसार जाने प्रक्रियाका क्रममा दुई तिहाई नपुगेपछि साधारणसभा स्थगित भएको बताए ।
सम्बद्ध स्रोतका अनुसार, २६ जनाको तदर्थ समितिले सदस्यता वितरणका क्रममा आ–आफ्ना पक्षधर व्यवसायी भन्दै धमाधम गैर व्यवसायी सदस्य भित्र्याएपछि समस्या उत्पन्न भएको हो । ‘३ सय व्यवसायी संगठित संघमा एकाएक नेकपाले ३ सय र काँग्रेसले २ सय सदस्य थपेपछि संघ भाँडियो’, एक व्यवसायीले दैनिक नेपालगन्जसँग भने, ‘जुँगाको लडाईं खेल्दा यो समस्या आएको हो ।’