प्रतिवादका प्रतिक्रियाः आन्दोलनको चेतावनी

नेपालगन्ज – सीतापुर घटना तन्काउँदै जाने मनःस्थितिमा रहेको काँग्रेसका लागि प्रतिवादका प्रतिक्रिया बाहिर आएका छन् । सभापति घाइते प्रकरणमा नेकपाका कार्यकर्ता संलग्न नरहेको भन्दै सुरुमै घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेको नेकपाका युवा कार्यकर्ताहरु आन्दोलनको चेतावनी सम्म दिन थालेका हुन् ।

‘निर्दोषलाई फँसाइए कामकाज रोकेर सडकमा उत्रिनुपर्ने अवस्था आउँछ,’ नेकपा सम्बद्ध बाँकेका २५ जना वडाध्यक्षहरुले प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै भनेका छन् । आक्रमण घटनामा खजुरा–१ का वडाध्यक्ष सुमन मल्ललाई तानिएपछि राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले ज्यान मुद्दा लगाउन खोजिएको भन्दै वडाध्यक्षहरुले भनेका छन्, ‘सरकारले घटनाको गहिरो अनुसन्धान गरोस् ।’ दोषीलाई कारबाही गर्न माग गरेका उनीहरुले ज्ञापनपत्रमा भनेका छन्, ‘तर, वास्तविकता भन्दा पर गएर राजनीतिक आग्रहका कारण निर्वाचित जनताका प्रतिनिधिलाई फँसाउने उद्देश्यका साथ अप्रिय निर्णय गरियो भने हामी जनताको काम छोडेर जनताका साथ सडकमा उत्रिन बाध्य हुनेछौँ ।’

कांग्रेसको जागरण अभियानमा भएको घटनामा वडाध्यक्ष मल्ललाई राजनीतिक प्रतिशोधले गर्दा फँसाउन खोजिएपछि वडाध्यक्षहरु आन्दोलित हुने अवस्था आएको हो । ‘वडाध्यक्ष मल्ललाई राजनीतिक प्रतिशोधका आधारमा ज्यान मार्ने उद्योगमा मुद्दा प्रपञ्च रचिँदैछ । यो हाम्रो लागि किमार्थ स्वीकार्य हुनेछैन,’ नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं. १ का वडाध्यक्ष प्रमोद रिजालले भने ।

आइतवारनै नेकपा निकट भातृ संगठनका युवा–विद्यार्थीले खजुराको घटनामा उपस्थित समेत नभएकालाई व्यक्तिहरुलाई फँसाउन खोजिएको भन्दै अनाहकमा काँग्रेसले आफ्नो पार्टीलाई गरिरहेको बदनामी नसहने चेतावनी दिएका छन् ।
पत्रकार सम्मेलन गर्दै उनीहरुले आम नागरिकलाई न्याय दिने सरकारी संयन्त्रको जिम्मेवारीलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘तर आस्था, अरुको दवाव र पार्टी विशेषका आधारमा पक्षपात गरिए त्यसको परिणाम जस्तो सुकै आन्दोलन गर्न युवा विद्यार्थी तयार छन्,’ युवा संघ बाँकेका अध्यक्ष किशोर थापाले भने ।

खजुरा घटनामा निर्दोषलाई फँसाउन खोजिएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएका युवा विद्यार्थीले संयुक्त विज्ञप्तीमार्फत घटनालाई राजनीतिक रुप दिएर नेकपाका नेता कार्यकर्तालाई दुःख दिन खोजिएको भन्दै विरोध जनाएका छन् ।
युवा संघ नेपाल बाँके अध्यक्ष किशोर थापा, वाइसियल नेपाल अध्यक्ष सुरज जागा, अनेरास्ववियु अध्यक्ष मोहित शाह र अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष सुरेन्द्र जंग शाहले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी खजुरा घटनालाई अतिरञ्जित गर्न खोजिएको गुनासो गरे । उनीहरुले नेपाली काँग्रेसले संचालन गरेको राष्ट्रिय जागरण अभियानका बाँकेको खजुरामा आयोजित कार्यक्रममा भएको घटनामा नेकपा कार्यकर्ताको कुनै संलग्नता नरहेको प्रष्ट पारेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया