स्वतन्त्र राजनीतिक समूहले भन्यो, ‘नेपालगन्जलाई किन बेवास्ता ?’

विभिन्न माग सहित सरकारलाई ज्ञापन पत्र बुझाउने तयारी

नेपालगन्ज – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग चुनावी तालमेल गरेको स्वतन्त्र राजनीतिक समूहले आफुलाई देशभरी बिस्तार गर्ने निर्णय सहित नेपालगन्जको विकासमा सरकारले बेवास्ता गरेको भन्दै गम्भीर चासो व्यक्त गरेको छ । मंगलबार राजधानी काठमाडौंमा भएको हृदयश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहले विभिन्न १७ बुंदे निर्णय सार्वजनिक गर्दै पश्चिम नेपालकै केन्द्रीय सहर नेपालगन्ज प्रति भएको निरन्तरको बेवास्तामा चासो व्यक्त गरेको हो ।

‘तमाम राजनीतिक मुद्दामा हाम्रो चासो सँगै नेपालगन्जको विकासमा भैरहेको बेवास्ता प्रति केन्द्रीय कमिटिले उच्च प्राथमिकता दिएको छ’, समूहका सदस्य पशुपति दयाल मिश्रले निर्णय सार्वजनिकसँगै दैनिक नेपालगन्जसँग भने, ‘यसबारे सम्बन्धित मन्त्रीहरु लगायत प्रधानमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।’

समूहले राजनीतिक निर्णयका १३, १४ र १५ नं. बुंदामा नेपालगन्जको विकासलाई सम्बोधन गर्ने आफ्नो चासो उजागर गरेको छ । पश्चिम नेपालको ट्रान्जिट प्वाइन्टका रुपमा रहेको नेपालगन्जमा पर्यटन क्षेत्रको भविष्यको सम्भावनाका आधारमा दर्जन बढी तारे होटलमा भैरहेको लगानीलाई मध्यनजर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन रणनीतिक योजनामा नेपालगन्जलाई प्राथमिकतामा नराखेको विषयलाई बैठकमा छलफल भएको मिश्रले जानकारी दिए ।

‘नेपालगन्जलाई राष्ट्रिय पर्यटन रणनीतिक योजनामा प्राथमिकताका साथ सामेल गराई कार्यान्वयनमा तदारुखता देखाइनु पर्छ’, मिश्रले नेपालगन्ज विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्ने, नेपालगन्ज–दिल्ली हवाई उडानका लागि पहल लिने, नेपालगन्जदेखि पर्यटकीय सहर पोखरा र राराका लागि नियमित हवाई उडान चालु गर्ने विषयमा पर्यटन मन्त्रीसँग भेटघाट गरिने जानकारी पनि दिएका छन् ।

बागेश्वरी मन्दिर पश्चिम नेपालको मुख्य धार्मिक, सामाजिक एवं पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण स्थलका रुपमा रहेकाले यसको समग्र विकासका लागि ‘बागेश्वरी क्षेत्र विकास कोष’ स्थापना गरी बागेश्वरी क्षेत्रको विकास सम्बन्धी आवश्यक कार्यहरु गर्न, गराउन स्वतन्त्र राजनीतिक समूहले माग गरेको छ । ‘यसबारे सम्बन्धित निकायमा गम्भीरतापूर्वक कुरा उठाइने छ’, नेता मिश्रले दैनिक नेपालगन्जसँग भने, ‘स्वतन्त्र राजनीतिक समूहले यसलाई नितान्त राजनीतिक रुपमा भन्दा विकासलाई मूल मुद्दा बनाएर समृद्धिको सवालमा साझेदारी गर्न यसरी सवालहरु उजागर गर्न खोजिएको हो ।’ समूहले नेपालगन्ज विश्व विद्यालयका लागि तीन दशकदेखि आन्दोलित स्थानीय जनताको माग र सम्बोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

समूहले विभिन्न १७ बुंदे निर्णय सार्वजनिक गर्दै आफुलाई राजनीतिक दलको आकारका रुपमा ग्रहण गर्ने संकेत गरेको छ । ‘तत्कालीन एमालेसँग राजनीतिक रुपमा चुनावी सहकार्य गरेपनि यो छुट्टै शक्ति हो’, मिश्रले विकास निर्माण र समृद्धिका सवालमा सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने नीति लिएको जानकारी दिंदै भने, ‘भ्रष्टाचार विरुद्धको अनुगमन, नागरिकताको सवाल लगायतका विभिन्न विमतिहरुमा विपक्षी दलहरुसँग छलफल र सहकार्यलाई पनि सँगसँगै अगाडि बढाउने निर्णय गरिएको छ ।’

सांसद हृदयश त्रिपाठीको संयोजकत्वमा रहेको केन्द्रीय समितिमा मिश्र सहित ५ जना छन् । त्रिपाठीसँगै ब्रिजेश गुप्ता सांसद रहेको समूहले काठमाडौंमा प्रधान कार्यालय र देशका सबैजसो जिल्लामा संयोजक चयन गरी कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको मिश्रले जानकारी दिए ।

‘प्रधानमन्त्री दल र संसद समक्ष एजेण्डाका रुपमा प्रस्तुत गरिने १७ वटै बुंदामा अब हाम्रो समूह केन्द्रित हुन्छ’, मिश्रले त्यसमध्ये नेपालगन्जसँग जोडिएका विकासका सवालमा छुट्टै पनि सांसद, मन्त्रीहरुसँग छलफल चलाइने जानकारी दिंदै भने ।

प्रतिक्रिया

प्रतिक्रिया