नेपालगन्जको विकासमा राजदुतको चासो

नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले नेपालगन्जमा टुरिष्ट इन्फरमेशन सेन्टर स्थापना गर्न सुझाव दिएका छन्

नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले नेपालगन्जको विकासमा गम्भीर चासो देखाएका छन् । राजदुत नियुक्तिपछि तेस्रो पटक नेपालगन्ज आएका पुरीले आइतबार स्थानीय उद्योगी, व्यवसायी, सामाजिक अगुवा, राजनीतिकर्मी, पत्रकार लगायतको उपस्थितिमा भने, ‘नेपालगन्जको विकासमा धेरै सम्भावनाहरु देखेको छु ।’
भारतसँग सीमाना जोडिएको नेपालगन्जले उक्त प्रदेशका सात वटा जिल्लाबाट सोझै सजिलैगरी पर्यटक भित्र्याउन सक्ने सम्भावना आंैल्याएका राजदुत पुरीले ‘मार्केटिङ’ सुझाव दिए । त्यसका लागि दशगजा नजिक अत्याधुनिक सुविधा सहितको ‘टुरिष्ट इनफर्मेसन सेन्टर’ स्थापना गर्न स्थानीय सरकारको ध्यानाकर्षण गराउनु पर्ने राजदुत पुरीको भनाइ थियो ।

 
नेपाल–भारत मैत्री संघको नयाँ कार्यसमितिले राजदुत पुरीलाई नेपालगन्जमा स्वागत सम्मानका लागि आइतबार कार्यक्रमको आयोजना गरेको हो । निकै खुला र अनौपचारिक रुपमा प्रस्तुत भएका राजदुत पुरीले नेपालीसँगको भारतीयहरुको साइनो परम्परागत र आत्मीय भएको प्रस्तुत गर्दै त्यसको फाइदा नेपालले पर्यटकीय क्षेत्रको सुधारबाट लिन सक्ने औंल्याए ।

 
‘सरकारले नै पर्यटकको सेवा, सुविधा र सूचनाका लागि विशेष व्यवस्था गर्नुपर्छ’, भारतीय तीर्थ यात्रीहरुको मानसरोवर यात्राबारे स्थलगत अध्ययनका लागि आएका राजदुत पुरीले नेपालगन्जले त्यसको पनि व्यवसायिक लाभ लिनसक्ने धारणा राखे । ‘नेपालगन्जले मानसरोवरका लागि जाने हज्जारौं भारतीय तीर्थयात्रीहरुलाई सेवा, सुविधा दिएर व्यवसायिक लाभ लिनसक्ने’ भनाइ राजदुत पुरीको थियो ।

 
नेपालगन्जबाट दिल्लीका लागि हुने हवाई उडान प्राविधिक कारणले मात्र ढिलो भैरहेको जनाउ दिंदै राजदुत पुरीले आफ्नो चाहना ‘काठमाडौंपछिको दोस्रो इन्टरनेशनल एयरपोर्ट नेपालगन्ज होस्’ भन्ने रहेको खुलस्त पारे । नेपालगन्जलाई मध्यनजर आफुले गर्न सक्ने तमाम सहयोगका लागि तयार रहेको भन्दै राजदुत पुरीले नेपालगन्जमा नागरिक स्तरबाट सरसफाई अभियान सुरु गर्न अपिल गरे ।

 
पर्यटकीय दृष्टिले ट्रान्जिटका रुपमा विकास भैरहेको नेपालगन्जको सरसफाईलाई विशेष ध्यान दिएका राजदुत पुरीले त्यसका लागि आफ्नो सहयोगको आश्वासन पनि दिए । ‘महात्मा गान्धीको १ सय ५०औं जन्मोत्सव पारेर हामी विशेष अभियान सञ्चालन गरिरहेका छौं’, राजदुत पुरीले भने, ‘तपाईहरु नेपालगन्जमा प्राइभेट–पब्लिक पाटर्नरशीपमा सरसफाई अभियान सञ्चालन गर्नुस् आवश्यक ठान्नुभयो भने हामी सहयोग गर्छौ ।’ त्यस अवसरमा राजदुत पुरीले महात्मा गान्धीको सादगी र संघर्षको चर्चा गर्दै सरसफाई अभियानमा उनले चालेका महत्वपूर्ण कदमबारे जानकारी पनि दिए ।

 
नेपाल–भारत मैत्री संघका अध्यक्ष प्रदिप कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमालले नेपाल–भारतको सम्बन्ध र सहकार्यबारे चर्चा गर्दै खेलाडीहरुलाई भारतका सुविधा सम्पन्न तालिम स्थलहरुमा अवसर दिन आग्रह गरे ।

 
पूर्व नगर प्रमुख विजय कुमार गुप्ताले नेपालगन्जको विकासमा दुरगामी प्रभाव पार्ने नेपालगन्ज–दिल्ली उडानलाई भारत सरकारले पनि उत्तिकै चासो दिएर प्राथमिकतामा राख्नुपर्ने कुरामा जोड दिए । विकासमा नेपालगन्ज बिस्तारै पछाडी पर्दै गएको टिप्पणी गर्दै पूर्व नगर प्रमुख गुप्ताले दिल्ली उडानबाट सकारात्मक फड्को मार्न सकिने आशा व्यक्त गरे ।

 
संघका केन्द्रीय सदस्य धु्रव दाहाल, प्रवक्ता सुदिप भट्ट, राजनीतिकर्मी अमर खड्का लगायतले धारणा राखेको कार्यक्रममा राजदुत पुरीसँगै दुतावासका उच्च अधिकारीहरु पनि सहभागी थिए ।

प्रतिक्रिया

प्रतिक्रिया