डुडुवा (बाँके)/समाचारदाता
आगामी आर्थिक वर्ष ०७५/०७६ का लागि बाँकेको डुडुवा गाउँपालिकाले २४ करोड बढीको बजेट पारित गरेको छ । गाउँपालिकाको तेस्रो गाउँसभाले सोमवार २४ करोड ५ लाख ७८ हजारको बजेट पारित गरेको हो ।
बजेटले शिक्षा, स्वास्थ्य, कृषि पशु स्वास्थ्यका अभियानलाई प्रभावकारी बनाई दिगो बनाउने र विकास निर्माणको कार्यलाई नमुना बनाउने कुरालाई मुख्य प्राथमिकतामा राखेको जानकारी दिंदै गाउँपालिकाले गाउँ समुदायस्तरमा आर्थिक समृद्धिको विकासतर्फ जोड दिइएको जनाएको छ ।
गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरीले चालु, सशर्त, वित्तीय सामानीकरण र प्रदेश सरकारबाट प्राप्त कुल बजेट छलफल गरि सर्वसम्मत रुपमा पारित गरिएको दावी गरे । पारित बजेट कार्यक्रम अनुसार, संघीय सरकार अनुदानबाट रु २१ करोड ५७ लाख, प्रदेश सरकार अनुदानतर्फ रु १ करोड ८६ लाख ७८ हजार, आन्तरिक आयतर्फ रु ६२ लाख गरि कुल रु २४ करोड ५ लाख ७८ हजार रुपियाको बजेट ल्याइएको हो । प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद रेग्मीले गाउँपालिकाले असार १० गते ल्याएको नीति तथा कार्यक्रममाथी छलफल गरेको आधारमा बजेट विनियोजन गरि गाउँ सभाको बैठकबाट पारित गरिएको जानकारी दिए ।
गाउँसभाले ४ वटा विधेयक ऐन पारित पनि गरेको बताइएको छ । आर्थिक ऐन २०७५, विनियोजन ऐन २०७५, न्यायिक समिति कार्यविधि ऐन २०७५ र शिक्षा ऐन २०७४ (पहिलो संशोधन २०७५) पारित गरेको हो । विधेयक समितिका संयोजक लिलावती यादवले प्रस्तुत गरेकोे ऐन माथी छलफल गरि सर्वसम्मत रुपमा पारित गरिएको बताइएको छ ।
गाउँसभा बहिष्कार !
प्रमुखले मनोमानी गरेको भन्दै बाँकेको डुडुवा गाउँपालिकाको गाउँसभा कतिपयले बहिष्कार गरेको जनाएका छन् । उनीहरुले गाउँपालिका प्रमुख नरेन्द्र कुमार चौधरीले मनोमानी ढङ्गले योजना बनाउन खोजेपछि गाउँसभा बहिष्कार गर्नुपरेको बताए ।
‘वडाको विकासका लागि विनियोजित बजेट वडा कार्यालयमार्फत संचालन गर्न पाउनुपर्ने हाम्रो माग सुनुवाई गरिएन,’ गाउँसभा बहिष्कार गरेका वडा नं. ६ का अध्यक्ष मोहनराम मिश्रले भने । उनीसँगै वडा नं. ३ का अध्यक्ष भण्डारीलाल यादवले बताए । वडा नं. ४ अध्यक्ष सगिर खाँ र तीन वटै वडाका वडा सदस्य समेतले गाउँसभा बहिष्कार गरेका हुन् । उनीहरुले वडाको विकासका लागि विनियोजित रकम वडा कार्यालयबाट संचालन गर्ने निर्णय नहुँदासम्म गाउँसभामा सहभागी नहुने अडान सहित सभाबाट बाहिरिएको प्रत्यक्षदर्शी पत्रकार यदुराज मिश्रले जानकारी दिए ।
‘मुख्य कुरो बजेट विनियोजन गर्दा पूर्वाधारको ४० प्रतिशत मात्र दिएर झारो टार्ने काम भएको विषय प्राथमिकतामा राखियो’, वडा नं. ६ का अध्यक्ष मिश्रले भने, ‘हामीलाई कार्य सम्पादन इमान्दारिता पूर्वक भएको हेर्ने रहर छ ।’
गाउँपालिकामा भइरहेको अनियमिता सार्वजनिक गर्न माग गर्दै उनीहरुले गाउँसभा नै बहिष्कार गरेको वडा सदस्यले बताए । यसअघि गाउँपालिकामा भर्ना गरिएका कर्मचारीको कुनै कानूनी प्रक्रिया पूरा नगरेको आरोप सहित वडा अध्यक्ष र सदस्यहरु बहिरिएका हुन् ।
गाउँपालिका प्रमुखले मनोमानी हिसाबले कार्य सम्पादन गरीरहेको आरोप लगाउँदै डुडुवा गाउँपालिका वडा नं.३ का अध्यक्ष भण्डारीलाल यादवले भने, ‘कर्मचारी भर्ना देखि सवारी साधन खरीद प्रक्रिया सम्म भ्रष्टाचार भएको छ ।’
गाउँपालिकाले डाकेको गाउँसभामा सहभागी भएका अधिकांस स्थानीय बासिन्दाले कार्यसम्पादन प्रति असन्तुष्टि जनाइरहेका बेला वडा सदस्य र अध्यक्षहरुले सभा बहिष्कार गरेका थिए ।
‘गाउँपालिकामा बहुमतको दम्भ छ’, वडा नं.३ का अध्यक्ष सगीर खाँ भन्छन्, गाउँपालिका प्रमुखले सभामै भने, ‘मेरो बहुमत छ जे मनमा आउँछ त्यही गर्छु ।’ स्थानीय स्तरमा गाउँपालिका प्रमुखले प्रयोग गर्ने सवारी साधनदेखि वडाका कर्मचारीको लागि खरिद गरिएको मोटरसाइकलसम्म विवादको विषय हो ।
हालै उपाध्याक्षको लागि खरीद गरिएको स्कूटीदेखि गाउँपालिका प्रमुखका लागि खरिद गरिएको चार पाँग्रे सम्म मापदण्ड पूरा नगरिएको वडा अध्यक्षहरुको आरोप छ । ‘गाउँमा विकासका एजेण्डा र मुद्दा पनि पार्टीको हिसाबले अघि बढेका छन्’, स्थानीयहरुले भने, ‘पार्टी हेरेर काम भइरहेको छ ।’ ‘गाउँ सभामा सहभागी नभएका वडा अध्यक्षहरुले बहिस्कार गरेको विषय थाहा भएन’, गाउँपालिका प्रमुख नरेन्द्र बर्मा चौधरीले भने, ‘बहिष्कार गर्नका लागि पहिलो विषय सभामा सहभागी हुनु पर्छ ।’
गाउँपालिकामा भएको अनियमितता, ढिलासुस्ती बारे कुनै गुनासो भए छलफल गर्न सकिने अवस्था हुँदा हुँदै बहिस्कारको आरोप लगाउने ब्यक्तिहरु सहभागी भए नभएको विषय पनि प्राथमिकतामा हुनु पर्ने प्रमुख चौधरीले बताए । नियम, प्रक्रिया पूरा नगरीकन कुनैपनि काम गर्न नमिल्ने भन्ने विषय कानूनले नै भनिरहेको अवस्थामा प्रक्रिया मिचेर कर्मचारी भर्ना गरेको, गाडी खरीद गरेको आरोप लगाउनु अनुचित भएको प्रमुख बर्माको भनाइ छ ।