सरकार गठनभन्दा पहिले नै पार्टी एकता हुन्छ विष्णु पौडेल

१६ पुस, काठमाण्डौ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले निर्वाचन आयोगले प्रतिनिधीसभातर्फ समानुपातिकको नतिजा तत्काल सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालले गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले औपचारिक रुपमा निर्वाचनको नतिजा राष्ट्रपतिलाई बुझाउनको विकल्प नरहेको प्रष्ट पारेका छन् ।

 

 

प्रतिनिधीसभाको २ सय ७५ वटै सिटको चुनावी परिणामको प्रतिवेदन राष्ट्रपतिलाई नबुझाइएका कारण नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्न नसकेकोमा पौडेलले आयोगप्रति आक्राष पोख्दै भने “निर्वाचन आयोग कहाँबाट संचालित छ । के गर्दै छ ? विलम्ब हुनुको कारण के हो । प्रष्ट पार्नुपर्छ ।” क्लबका सभापति ऋषि धमलाको अध्यक्षतामा सम्पन्न साक्षात्कारमा बोल्दै नेता पौडेलले राष्ट्रियसभाको चुनावपछि मात्रै परिणाम सार्वजनिक गर्छु भन्नु गलत भएको बताए । “प्रतिनिधिसभाको निर्वाचन परिणाम अबिलम्ब घोषणा गरेर नयाँ सरकार बनाउने ढोका खोलिदिनुपर्छ । नयाँ सरकार निर्माण गर्नलाई राष्ट्रिय सभाको चुनाव जरुरी छैन । नयाँ सरकार गठनसँग लागि राष्ट्रियसभाको कुनै सम्बन्ध छैन ।”

 

 

प्रतिनिधीसभाको सबै परिणाम सार्वजनिक भएपछि नयाँ सरकार बन्छ । राष्ट्रियसभाको चुनाव हुँदै गर्छ । परिणाम सार्वजनिक गर्न आयोगले आलटाल गरेर उम्कन मिल्दैन । ३३ प्रतिशत महिलाको सहभागिता दलहरुले राष्ट्रियसभा गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले प्रतिनिधीसभासँग त्यसको सम्बन्ध नरहेको उनले बताए । “संविधानअनुसार हामी महिलाको सहभागिता सुनिश्चित गछौँ । त्यसैले प्रतिनिधीसभासँग राष्ट्रियसभा जोडेर हेर्न मिल्दैन ।” उनले भने ।

फागुन दोस्रो हप्तातिर मात्र निर्वाचनको सबै नतिजा सार्वजनिक गर्ने भन्ने आफूले सुनेको बताए । “यदी त्यस्तो गर्न खोजिएको हो भने दुखद कुरा हो । चालु आर्थिक वर्ष सकिनै लाग्दा बल्ल अर्को सरकार बनाउन दिने खेल भइरहेको छ । त्यो हामीलाई कदापी स्विकार्य छैन । तत्काल नतिजा सार्वजनिक गर्न म आयोगलाई आग्रह गर्छु । नयाँ सरकार बनाउने प्रक्रियालाई नरोक्न अनुरोध गर्दछु ।”

 

 

नेता पौडेलले एमाले र माओवादीबिचको एकता भाँड्न षडयन्त्र भइरहेको बताए । प्रत्यक्ष–अप्रत्यक्ष रुपमा एकता विरोधी शक्तिहरु सक्रिए भएको भन्दै उनले एकता तोड्ने प्रयास असफल हुने बताए । कसैले यो एकता तोड्न सक्दैन । एमाले–माओवादी गठबन्धन काँचो धागोमा टेकेको गठबन्धन होइन । यो सहयात्रालाई कसैले तोड्न सक्दैन ।” पौडेलले भने । पार्टी एकताको मापदण्ड बनाउन हामी अन्तिम गृहकार्यमा जुटेका छौँ । अब छिटै एकता संयोजन समितिको बैठक बस्छ । त्यसले पार्टी एकता घोषणाको मिति तय गर्छ ।

 

 

नयाँ सरकार गठन गर्नु अघि नै पार्टी एकता गर्ने बारेमा छलफल भइरहेको छ । सम्भवतः हामी सरकारमा जानुभन्दा अघि नै पार्टी एकता गरेर एउटै पार्टीको नेतृत्वमा सरकार बनाउँछौँ । अहिले केही समयका लागि हामी दुईवटा पार्टी गठबन्धनको रुपमा छौँ । तर सरकार निर्माण गर्दा एउटै कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेको हेर्न पाउँनेछन् ।  आगामी सरकारको नेतृत्व कसले गर्छ भन्ने पत्रकारको प्रश्नमा पौडेलले कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्ने भन्दै को प्रधानमन्त्री को बन्ने भनेर खुलाएनन् ।  अबको प्रधानमन्त्री बन्छ सबैलाई थाहा छ ऋषि धमला जी । तपाईले नै घोषणा गरिसक्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली बन्ने भनेर । अब यसमा कुनै अन्यौल छैन । उहाँ नै बन्ने हो ।

 

 

एकतापछि पार्टी अध्यक्ष को बन्ने भन्ने विषय छलफलकै क्रममा रहेको उनको भनाई छ । हामी दुवै नेताको राम्रोसँग व्यवस्थापन गछौँ । ओली र प्रचण्ड को बन्ने भन्ने कुरा छोड्दिनुस् । तपाईहरुले घोषणा भएपछि थाहा पाउनुहुनेछ ।
पत्रकारहरुको अर्को प्रश्नमा नेता पौडेलले प्रदेश नम्बर ५ को राजधानी लुम्बिनी नै हुने प्रष्ट पारे । “ऐतिहासिक महत्व र भौतिक पूर्वाधारका हिसाबले लुम्बिनी नै राजधानी हुन्छ । यसमा कसैले शंका नगरे हुन्छ । अन्तराष्ट्रिय क्षेत्रले समेत लुम्बीनीलाई चिनेको छ । त्यसैले प्रदेश नम्बर ५ को राजधानी रुपन्देही नै हुन्छ । यसमा तलमाथि हुँदैन ।” पौडेलले भने ।

 

 

सरकारले अस्थायी राजधानी तोक्ने तयारी गरेको भन्दै प्रदेश नम्बर ५ को राजधानी लुम्बिनीलाई नै तोक्न उनले आग्रह गरे । “प्रदेश सभाको बैठकले सच्याउनुपर्ने गरी सरकारले प्रदेश राजधानी तोक्नुहुँदैन । सरकारले सोच विचार गरेर मात्रै निर्णय गरोस् ।” यो सरकारलाई प्रदेश प्रमुख तोक्नेदेखि अन्य दीर्घकालिन महत्वका निर्णय गर्ने अधिकार नभएको पौडेलले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया