काठमाडौं, १५ पुस । वाणिज्यमन्त्री मिन विश्वकर्माले नयाँ सरकार गठनको लागि कम्तिमा पनि ६ हप्ता समय लाग्ने भएकोले त्यसपछिमात्रै आफूहरुले सरकार छोड्ने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले राष्ट्रिय सभाको निर्वाचन नभएसम्म नयाँ सरकार गठनको लागि प्रक्रिया नै सुरु नहुने जिकिर गरे ।
उनले भने,‘वाम गठबन्धनका साथीहरुले अबको १५ दिनभित्रै नयाँ सरकार बन्छ भन्नुभयो, उहाँहरुले बहुमत ल्याएकै दिनदेखि सरकार गठन गरिसक्नुभयो, तर निर्वाचन आयोगले दल दर्ताको लागि १५ दिनको समय तोक्छ, त्यसपछि एक महिनाभित्रै चुनाव सम्पन्न गर्नुपर्छ, हामी त आयोगलाई सहजीकरण गर्ने हो, यसरी हेर्दा सरकार गठनको लागि कम्तिमा पनि ६ हप्ता समय लाग्छ।’ उनले आउने फागुण यता नयाँ सरकार नबने ठोकुवा नै गरे ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफूहरु प्रतिपक्षमा बस्न तयार रहेको स्पष्ट पारे । मन्त्री विश्वकर्माले थपे,‘कांग्रेस प्रतिपक्षमा बस्न तयार छ, हामी रचनात्मक भूमिका निर्वाह गर्छौं, संविधानको पूर्ण कार्यान्वयन र समावेशी–समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्दै अघि बढ्छौं।’ उनले आफूहरु सरकारबाट छिटोभन्दा छिटो छोड्ने तयारीमा रहेको समेत उनको भनाई थियो ।
मन्त्री विश्वकर्माले वर्तमान सरकारले आयु लम्ब्याउन खोज्यो भनेर बाहिर हल्ला चलेकोप्रति टिप्पणी गर्दै भने,‘यो गलत हल्ला हो, यस्तो खाले टिकाटिप्पणीमा कुनै सत्यता छैन, हामी संवैधानिक बाटोहरु पहिल्याउँदै हिँड्छौं।’
उनले वाम गठबन्धनवीच सहकार्य र एकता होस् भन्ने आफूहरुको शुभकामना रहेको बताए । ‘हाम्रो शुभकामना छ, एमाले र माओवादीवीच एकता होस्, गठबन्धन कायमै रहोस्’–उनले थपे । निर्वाचनमा सभागी हुँदै गर्दा एमाले र माओवादी केन्द्रले जनतामा जे एजेण्डा लिएर गएका थिए ती सबैलाई पालना गर्न समेत उनले जोड दिए ।
उनले भने,‘एकजना अध्यक्ष बन्नोस्, एकजना प्रधानमन्त्री बन्नोस, हाम्रो शुभकामना छ, तर शुभकामना दिएरमात्रै हुँदैन, व्यवहारमा चल्दैन रैछ, बाम गठबन्धनमा अहिले प्रधानमन्त्री र अध्यक्षलाई लिएर खटपट भैरहेको सुनिँदैछ, यो राम्रो होईन्।’
त्यस्तै उनले निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई लिएर केही युवा नेताहरुले नेतृत्वबाटै हटाउने भन्नुभएको छ नि भनेर सोधिएको प्रश्नमा जवाफ दिँदै भने,‘पार्टी भनेको कुनै एक अमुक व्यक्ति होईन, यो त संगठन हो, हाम्रो सभापति शेरबहादुर देउवा कसैले टिका लगाएर सभापति बन्नुभएको होईन, महाधिवेशनबाट निर्वाचित हुनुभएको हो।’ उनले पार्टी सभापति देउवामाथिको टिप्पणी गर्नु नै मुर्खता भएको आरोप लगाए । उनले यो निर्वाचनमा पनि पार्टीको मत नघटेको उल्लेख गर्दै थपे,‘उहाँको नेतृत्वमा बरु पार्टीको ईमेज वृद्धि भएको छ, प्रत्यक्षतर्फ ३५ प्रतिशत र समानुपातिकतर्फ ३३ प्रतिशत मत खसेको छ, गणितीय हिसावले हामी पछि परेका हौं, तर राजनीतिक हिसाबले हामी एक नम्बर पार्टी हौं।’
उनले युवा नेता गगन थापाले सभापतिविरुद्ध दिएको अभिव्यक्ति अहिले आएर सच्याउन थालेको पनि सुनाए । उनले भने,‘जसले हिजोका दिनमा सस्तो अभिव्यक्ति दिए, तीनीहरुले अहिले आफ्नो अभिव्यक्ति सच्याईसके, उत्ताउलो बन्नु गलत हो, जसले बोल्यो त्यो उत्ताउलो र उच्छृङ्खल अभिव्यक्ति हो, युवाको अभिव्यक्ति थिएन, त्यो त वालक हो।’
अबको १५ दिनभित्र नयाँ सरकार गठन हुन्छ ः राम कार्की
काठमाडौं, १५ पुस । नेकपा माओवादी केन्द्रका नेता एवम् नवनिर्वाचित सांसद राम कार्कीले अबको १५ दिनभित्रै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता कार्कीले अबको १५ दिनभित्रै नयाँ सरकार गठन हुने बताएका हुन् । उनले भने,‘हामी सरकार निर्माणको गृहकार्यमा जुटिसकेका छौं, अब ढिलोमा १५ दिनभित्र नयाँ सरकार बन्छ, यसमा कुनै दुई मत छैन्।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै पूर्वमन्त्री समेत रहेका कार्कीले सरकार निर्माण गर्दा मुलुकमा यो माईलस्टोन सावित होस् भन्ने आफूहरुको चाहना रहेकोले सोही अनुसार अहिले गृहकार्य भैरहेको विश्वास दिलाए । उनले भने,‘विगतमा भएका कमीकमजोरीहरु सच्याउँदै हामी अब समाजवादको आधारलाई ध्यानमा राखेर काम गर्न केन्द्रित हुन्छौं, पार्टी एकताको मापदण्ड पनि समाजवादलाई परिभाषित गर्दै अघि बढने नै हो, जनतालाई शोषणबाट मुक्त गर्नु नै समाजवाद हो।’
उनले अब नेपालमा एमाले र माओवादी पार्टी भन्ने नै नरहेको जिकिर गरे । उनले भने,‘माओवादी र एमाले भन्ने कुरा अब रहेन, औपचारिक रुपमै जनताले केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको एकता अभियानलाई छाप लगाईसक्नुभएको छ।’ कार्कीले यतिवेला पदीय बाँडफाँडभन्दा पनि कसरी समाजवादको लक्ष्यलाई हाँसिल गर्न सकिन्छ भन्ने नै आफूहरुको मुख्य ध्यान रहेको सुनाए ।
चुनावमा होमिँदै गर्दा नै आफूहरुले अबको प्रधानमन्त्री एमाले अध्यक्ष ओली बन्ने भनेर नै प्राजेक्शन गरिसकेकोले यसमा कुनै द्धिविधा नभएको उनको भनाई थियो । यद्धपी उनले ओलीले आफू बन्न नचाहँदा उहाँले चाहेको व्यक्ति नै प्रधानमन्त्री बन्न सक्ने विश्वास दिलाए ।
उनले भने,‘केपी ओलीजी प्रधानमन्त्री बन्दा प्रचण्डलाई पनि क्रुसियल वा पिभोटोल रोल दिईने समझदारी छ, त्यसै अनुरुप अघि बढ्छौं।’ कार्कीले आफूहरुवीच पद विशेषमा कुनै झगडा नहुने समेत जनाए । त्यस्तै उनले ओली र प्रचण्ड दुवै शीर्ष नेताहरु मुलुकको प्रधानमन्त्री र पार्टी अध्यक्ष भैसकेको व्यक्तित्व भएकोले उहाँहरु साधरण सदस्य भएर बसेपनि पार्टी नेतृत्वको अथोरेटी उहाँहरुमै हुने पनि स्पष्ट पारे । उनले आफूहरुको अर्को मुख्य ध्यान भनेको नेपाली कांग्रेसलाई पनि विश्वासमा लिएर अघि बढ्ने नै रहेको जनाए ।
राष्ट्रिय सभाको गठन नभएपनि सरकार बन्छ ः पाण्डे
काठमाडौं, १५ पुस । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री सोम प्रसाद पाण्डेले राष्ट्रिय सभा गठन नभएपनि नयाँ सरकार गठन हुने स्पष्ट पारेका छन् । पाण्डेले भने,‘संविधानले नै स्पष्ट पारेको छ, नयाँ सरकार गठनको लागि राष्ट्रिय सभा गठन नभएपनि हुन्छ, त्यसैले अबको १५ दिनभित्रै नयाँ सरकार बन्छ।’
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पाण्डेले वाम गठबन्धनको नेतृत्वमा दुई हप्ताभित्रै नयाँ सरकार बन्ने विश्वास दिलाए । उनले भने,‘अब सरकार गठनको प्रक्रिया हामी सुरु गर्छौं, संविधानको धारा ७६ को उपधारा १ मा स्पष्ट छ, नयाँ सरकार गठनको लागि राष्ट्रिय सभाको गठन नभएपनि हुन्छ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले वाम गठबन्धनलाई जनताले बहुमत मात्रै नभएर झण्डै दुई तिहाई मत दिएको स्पष्ट पारे । उनले भने,‘चुनाव चिन्हका कारण दुई तिहाई मत आउन सकेन, तर हामी झण्डै दुई तिहाईको नजिक छौं।’
पाण्डेले तत्काल एमाले र माओवादी केन्द्रवीच पार्टी एकीकरण प्रक्रिया पनि सुरु हुने विश्वास दिलाए । उनले भने,‘कामको हिसावले हामी एउटै कमिटीजस्तो छौं, अब माओवादी र एमाले एउटै पार्टी भसके, जनताले एकता अनुमोदन गरिसक्नुभएको छ।’उनले दुवै पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीचको सल्लाहबाट सबै कुरा टुँगो लाग्ने पनि विश्वास दिलाए । उनले भने,‘एकता प्रक्रियाको छलफलको चरण सुरु भएको छ, अब छिट्टै टुँगो लाग्छ।’