पारिश्रमिक नलिएर जनताको सेवा गर्छु : गुप्ता

विजयकुमार गुप्ता नेपालगन्जका चर्चित समाजसेवी हुनुहुन्छ । वाणिज्य संकायमा स्नातक गर्नुभएका गुप्ता राजनीतिसँगै विभिन्न सामाजिक कार्यमा क्रियाशील रहनुभएको छ । लामो समयदेखि नेकपा एमालेमा रहेर राजनीतिमा सक्रिय रहनुभएका गुप्ता आसन्न चुनावमा बाँके क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ बाट विधायकका लागि प्रतिस्पर्धामा हुनुहुन्छ । हाल नेकपा एमाले उद्योग व्यवसाय विभागका केन्द्रीय सदस्य तथा प्रदेश नं. ६ का प्रदेश संयोजक रहनुभएका गुप्ताले विधायकको पारिश्रमिक नलिएर सामाजिक विकासमा खर्च गर्ने उद्घोष गर्नुभएको छ । चुनावी प्रचारप्रसारमा व्यस्त रहनुभएका गुप्तासँग गरिएको कुराकानी ः

१. तपाईको प्रचारप्रसार कसरी अघि बढेको छ ?
– वाम गठबन्धनको पक्षमा अहिले जनलहर बढेको छ । घरदैलो अभियानमा ठूलो जनसहभागिता रहेको छ । हरेक ठाउँमा जाँदा सबै समुदायका मानिसहरुले उत्साहपूर्वक साथ दिएका छन् । एमालेलाई मधेस विरोधीको आरोप लागिरहेका बेला बाँकेमा मधेसी समुदायबाट हामीलाई उम्मेद्वार बनाएर त्यो भ्रमलाई चिर्ने काम भएको छ । यसले समाजमा भ्रम छर्नेहरु निरुत्साहित भएका छन् । अहिले मेरो प्रचारप्रसारमा पार्टीका कार्यक्रमहरुमा नआउने सबै समुदायका ठूलाठूला व्यापारी, व्यवसायीहरुले साथ दिएका छन् । पहिलो चरणको घरदैलो अभियान सकिँदा म निकै उत्साहित छु । टोलटोलमा हाम्रा निर्वाचन कमिटीहरु परिचालन भएका छन् । सबैले जिम्मेवारीपूर्वक काम गरिरहेका छन् ।

२. मतदाताको घरदैलोमा जाँदा कस्तो रेस्पोन्स पाउनुभएको छ ?
– जनताले हृदयबाट स्वागत गरिरहेका छन् । स्थायी सरकार, विकास र संवृद्धिको जनतामा अपेक्षा छ । वाम गठबन्धनले स्थायी सरकार निर्माण गरेर विकास र संवृद्धिका बाटाहरु खुल्छन् भन्नेमा सबै जनताहरु विश्वस्त छन् । यसले हाम्रो पक्षमा जनलहरलाई थप बढाउने काम गरेको छ ।

३. तपाईका चुनावी एजेण्डाहरु के के छन् ?
– हामीले उठाएका एजेण्डाहरु हाम्रा प्रतिवद्धता पत्रमा पनि आइसकेका छन् । हाम्रा श्रद्धेय पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजोकै (सोमबार) कार्यक्रममा हाम्रा एजेण्डाहरु प्रष्टरुपमा भन्नुभएको छ । नेपालगन्ज विमानस्थललाई स्तरोन्नती गरी अन्तर्राष्ट्रिय स्तरको विमानस्थलका रुपमा विकास गर्ने, नेपालगन्जलाई औद्योगिक केन्द्र बनाउने, नेपालगन्जमा विश्वविद्यालय निर्माण गर्ने, भेरी अञ्चल अस्पताललाई स्तरोन्नती गरी सरकार मेडिकल कलेज बनाउने, राप्ती नदीमा स्थायी तटबन्ध गर्ने र बाढीपीडितलाई सुरक्षित वासको व्यवस्था गर्ने, नेपालगन्जलाई विशेष आर्थिक क्षेत्र, सुख्खा बन्दरगाह, चक्रपथ निर्माण लगायतका हाम्रा एजेण्डाहरु छन् । यी सबै एजेण्डाहरुको सम्बोधन गरी कार्यान्वयनका लागि मेरो उम्मेद्वारी हो ।

४. जनताले तपाईलाई भोट किन दिने ?
– एमाले गरिबको काम गर्ने पार्टी हो । म स्वयं आफैले पाउने पारिश्रमिक सामाजिक काममा खर्च गर्छु भनेर प्रतिवद्धता जनाइसकेको छु । मैले शुन्य भ्रष्टाचारमा काम गर्छु । राजनीति लगानी गरेर पैसा कमाउने थलो होइन, विशुद्ध सामाजिक सेवा हो । मैले त्यही रुपमा लिएको छु । हरेक उम्मेद्वारको जात हुन्छ, त्यो फेरिँदैन । तर, राम्रो नागरिक भएर समाजलाई परिवर्तन गर्न सकिन्छ । मेरो सम्पूर्ण जीवन सामाजिक सेवामा खर्च गरिसकेको छु । मैले सामाजिक स्वार्थमा मात्रै काम गर्ने हो । अवधि, उर्दु लगायतका भाषाको सम्मान गरेर रोजगारी सिर्जनामा लाग्नेछु । मैले उद्योगी व्यवसायीको मर्का बुझेको छु, करदाता र रोजगारदाताको सम्मानका लागि पनि मेरो उम्मेद्वारी हो । जडिबुटीका कारखानाहरु खोलेर भारतमा कच्चा पदार्थ होइन, प्रशोधित पदार्थ निकासी गरिनेछ । मानिसलाई विदेशमा जान नपरोस्, यही रोजगारको सिर्जना गरिनेछ ।

५. तपाईका क्षेत्रका खास समस्या के के हुन्, त्यसलाई कसरी समाधान गर्नुहुन्छ ?
– ढल निकास र डुवानको समस्या छ । अव्यवस्थित घरहरु बनेका छन् । सबै ठाउँमा ढल, विजुली र पक्की सडकको व्यवस्था गर्न स्थानीय सरकारसँग हातेमालो गरेर अघि बढ्नेछु । तरकारी र कृषि उपजलाई बजारीकरण गरी उत्पादित बस्तुको उचित मूल्य पाउने व्यवस्था गरिनेछ । अहिले पनि नेपालगन्जमा लोडसेडिङ्गको समस्या छ, यसको अन्त्यका लागि वैकल्पिक उर्जाको उपयोगलाई बढाइनेछ । जीर्ण अवस्थामा रहेका भौतिक पूर्वाधारहरुको मर्मत सम्भार गरी सञ्चालनमा ल्याइनेछ । नेपालगन्जको फोहर व्यवस्थापनको समस्यालाई सुल्झाउन पुनःप्रयोगका परियोजनाहरु सञ्चालन गरिनेछ ।

६. अन्तमा केही भन्न चाहनुहुन्छ ?
– अति पिछडिएका समुदायहरु चिडिमार, लोनिया, घसियारा, बेहना, वाल्मिकी लगायतका समुदायमा आवश्यक सेवा प्रवाह गरी मुलधारमा ल्याएर सरकार सबैको बराबर हो भन्ने अनुभूति गराइनेछ । सीमा नाकामा हुने चोरी पैठारी नियन्त्रण गरी व्यापार व्यवसायलाई सुरक्षित गराइनेछ । जीर्ण रहेका धार्मिक स्थलहरुको मर्मत सम्भारको साथै धार्मिक सद्भावमा जोड दिएर अन्तरधार्मिक परियोजनाहरु सञ्चालन गरिनेछ । विशुद्ध सामाजिक सेवाका लागि अघि बढेकाले मतदाताहरुले अमूल्य मत दिएर मलाई जिताउनु हुनेछ भन्ने विश्वास लिएको छु । मैले नेपालगन्जको शीर झुक्न नदिने गरी काम गर्नेछु ।

प्रतिक्रिया

प्रतिक्रिया