मोर्चाको आन्दोलनले चुनाव रोकिँदैन् : रावल

काठमाडौं, ३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मधेशी मोर्चाको आन्दोलनले चुनाव नरोकिने स्पष्ट पारेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजा गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले चुनाव लोकतन्त्रको महत्वपूर्ण चरण भएकोले तोकिएकै मितिमा एकै चरणमा निर्वाचन हुनुपर्ने बताए । उनले मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले घोषणा गरेको आन्दोलनले देशको कुनै पनि भूभागमा निर्वाचन नरोकिने समेत दाबी गरे । उनले भने,‘मोर्चाका नेताहरुपनि चुनावमा जान डराउनुहुँदैन्, जनतामा जान किन डराउने ?’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफ्नो पक्षमा जनता भएको दाबी गर्ने मधेशी मोर्चालाई चुनावमार्फत आफ्नो मत ल्याएर दाबी प्रमाणित गरेर देखाउन चूनौति दिए । उनले भने,‘जनताको मत लिनको लागि किन तयार नहुने ? अनि चुनावको मुखमा आएर हुन दिन्नौं भनेर धम्की दिनु भनेको मोर्चा जनताको पक्षमा छैन् ।’ उनले मोर्चा तथा संघीय गठबन्धनको आमहड्तालसहित आन्दोलन गर्ने निर्णय मधेशी जनताको हितमा पनि नभएको स्पष्ट पारे ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका उपाध्यक्ष रावलले सरकारले मोर्चाको माँग सम्बोधन गर्नको लागि ल्याएको नयाँ संशोधन प्रस्तावलाई मोर्चाले अस्विकार गरिसकेको उल्लेख गर्दै भने,‘’मोर्चाको लागि ल्याएको प्रस्ताव मोर्चाले अस्विकार गरिसक्यो, के को लागि ल्याईएको हो ? कसको लागि ल्याईएको हो ? हामीले अहिलेसम्म बुझेको छैन्।’
त्यस्तै उनले सरकारले प्रस्ताव ल्याउनुपुर्व एमाले र मोर्चासँग सहमति गरेर ल्याएको दाबी गरेपनि उक्त दाबीमा कुनै सत्यता नै नभएको जिकिर गरे । रावलले भने,‘सरकारले हामीसँग सहमति गरेर नयाँ संशोधन विद्येयक ल्याएको हो भनेर हल्ला र भ्रम फैलायो, तर यसमा कुनै सत्यता छैन् ।’

उनले वर्तमान सरकारका एक उपप्रधानमन्त्रीले एमालेले प्रस्ताव अस्विकार गरेको कारण समस्या समाधान नहुने भयो भनेर सार्वजकि अभिव्यक्ति दिएको आरोप लगाउँदै भने,‘एमालेको नाम देखाएर जनतामा भ्रम फैलाईएको छ, प्रस्ताव ल्याउनुपुर्व हामीसँग कुनैपनि छलफल तथा सहमति भएको छैन।’

उनले १९ वर्षपछि हुन गैरहेको स्थानीय तहको निर्वाचन हुन दिन्नौं भनेर धम्की दिनु भनेको नेपालको अस्तित्व नै समाप्त पार्ने ठूलो चक्तव्युह रच्ने काम मात्रै भएको आरोप लगाए । रावलले घोषित मितिमै निर्वाचन हुने समेत दाबी गरे । उनले थपे,‘जनता चुनाव भाँड्ने पक्षमा छैन् ।’ रावलले चुनाव सार्ने, टार्ने काम नगर्न समेत सरकारलाई आग्रह गरे ।

केही दिनअघिमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेले चुनाव चाहेको छैन भनेर अभिव्यक्ति दिएकोप्रति टिप्पणी गर्दै रावलले भने,‘प्रधानमन्त्रीले अनर्गल कुरा गर्नुभयो, यो हाँस्यस्पद हो ।’

रावलले जनताले मत हाल्न पाउने अधिकार प्रयोग गर्न नदिने कुरा लोकतान्त्रिक चरित्र नभएको आरोप लगाए। उनले भने,‘मधेसी जनता चुनाव हुन नदिने पक्षमा छैनन्, उनीहरु त चुनावको तयारीमा जुटिसकेका छन् ।’
पछिल्लो संशोधन प्रस्तावमा एमालेसंग कुनै सहमति नभएको र मधेसी मोर्चाको माग सम्बोधनको लागि ल्याइएको संशोधनलाई एमालेलाई दोष दिनु गलत हुने उनको भनाई थियो । त्यस्तै उनले निश्पक्ष, स्वच्छ र शान्तीपुर्ण ढंगले निर्वाचन गराउन एमाले सरकारलाई सहयोग गर्न तयार रहेको बताए ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले मधेशी मोर्चाको निर्णय आश्चर्यजन रहेको टिप्पणी गर्दै मोर्चाले चुनावमा भाग नलिएपनि चुनाव तोकिएकै मितिमा हुने दाबी गरे ।
उनले भने,‘मोर्चाले निर्वाचन बहिष्कार गरेपनि चुनाव हुन्छ, तर हामी सहमतिको लागि अन्तिमसम्म पनि लचिलो भएर प्रस्तुत हुन्छौं।’ उनले सरकार मोर्चालाई पेलेरै एकलौटी ढंगले निर्वाचनमा जाने पक्षमा नभएको समेत स्पष्ट
पारे ।

मन्त्री नायकले सरकारले मोर्चासँग हरेक विषयवस्तुमा छलफल गरेर नै नयाँ संशोधन प्रस्ताव ल्याएको भएपनि मोर्चा प्रस्ताव अस्विकार गरेर नाटकीय ढंगले प्रस्तुत भएको आरोप लगाए ।
उनले भने,‘हामीले उहाँहरुसँग हरेक विषयवस्तुमा छलफल गरेर नै अहिलेको संशोधन प्रस्तावमा उल्लेख भएका विषयहरु ल्याएका छौं, तर उहाँहरुले बाहिर नाटक गर्नुभयो ।’ मन्त्री नायकले मोर्चाले अहिलेको प्रस्ताव स्विकार गरेर आउनुपर्दथ्यो भन्दै प्रस्ताव अस्विकार गरेर मोर्चाले गम्भिर भुल गरेको टिप्पणी गरे । उनले मोर्चा तथा संघीय गबन्धनको निर्णयले मुलुकलाई कतै प्रतिगमनतर्फ लैजाने षडयन्त्र भैरहेको छैन भन्ने भान भएको समेत बताए ।

मोर्चाले आन्दोलन गरे मधेश झनै अप्ठयारोमा पर्ने र मधेशी जनतालाई अधिकारविहीन पार्ने र झनै पछि धकेल्ने काम हुने उनको चिन्ता थियो । उनले भने,‘मोर्चाले कसलाई देखाउन र के को लागि यस्तो नाटक गरिरहेको छ ? यो बुझ्न सकिएन, तर जे भएपनि अब निर्वाचन रोकिँदैन् ।’

राष्ट्रलाई बन्धक बनाएर राख्न नहुने पक्षमा सरकार रहेकोले यदि सहमति हुन्छ र मोर्चापनि चुनावमा भाग लिने वातावरण बन्छ भने केही प्रदेशमा दुई चरणमा पनि चुनाव हुन सक्ने उनले विश्वास व्यक्त गरे । उनले तराई मधेशका जनतामा पनि निर्वाचनले छोईसकेकोले अब निर्वाचन तोकिएकै मितिमा हुनेमा कुनै शंका नगर्न सबैलाई आग्रह गरे ।

त्यस्तै कार्यक्रमा प्रमुख दल नेपाली काँग्रेसका नेता रमेश रिजालले मुलुक र प्रजातन्त्र बचाउनको लागि पनि निर्वाचन केही दिन सार्नुपर्ने बताएका छन् । उनले मधेश केन्द्रित दललाई पनि विश्वामा लिएरमात्रै चुनावमा जानुपर्ने बताए । उनले मुलुकमा संघीयता स्थापित गर्ने शक्तिलाई बाहिर राखेर निर्वाचनमा जान नहुनेबारे आफ्नो पार्टीभित्र छलफल भएको स्पष्ट पारे ।

रिजालले निर्वाचन १० देखि २० दिन पर सारेर भएपनि मोर्चासँग सहमति गरेरमात्रै अघि बढ्नुपर्ने धारणा राखे । उनले चुनाव गर्नको लागि पनि मोर्चाको विश्वास लिनुपर्नेमा जोड दिए । उनले भने,‘चुनावको मिति सार्दा आकाश खस्दैन, धर्ती फाट्दैन ।’

उनले मोर्चाले सरकारले आफूहरुलाई झुक्याएको गुनासो गरेको उल्लेख गर्दै अहिले ल्याईएको संशोधन प्रस्तावलाई परिमार्जन गरेर भएपनि मोर्चालाई विश्वासमा लिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

प्रतिक्रिया