दुई ट्रक ठोक्किँदा सात घाइते

नारायणगढ–मुग्लिन सडकखण्डमा दुई ट्रक एक आपसमा ठोक्किँदा सात जना घाइते भएका छन् ।भरतपुर महानगरपालिका–२९ गाइघाटमा बिहीबार बिहान करिब ६ः५० बजे नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ९८९७ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा सात जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले दुबै ट्रकको अगाडिको भागमा क्षति पुगेको जानकारी दिनुभयो । ट्रकका चालकलाई च्यापिएको अवस्थामा उद्धार गरिएको छ । दुबै चालकको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।  अन्य यात्रुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेहरुमा प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रकका चालक भरतपुर–१२ मुनालचोक बस्ने ३७ वर्षका सन्तोष सुवेदी र ना ६ ख ९८९७ नम्बरको ट्रकका चालक रौतहट गरुड नगरपालिका ५ बस्ने ३४ वर्षका धनराज कुमार यादव हुनुहुन्छ ।

यस्तै, ०१–००६ ख ६२८७ नम्बरको ट्रकमा सवार यात्रु रौतहट बौदीमाई नगरपालिका ७ का जयकान्त राय यादव, सोही ठाउँका हरिशंकर यादव, आकाश यादव, रवि कुमार यादव र अनिल कुमार यादव घाइते हुनुभएको छ । उहाँहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया