तत्कालिन प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर ज.ब.रा.ले वि.सं. १९९७ सालमा (८४ वर्ष अगाडि) मारवाडी समाजका रामकुमार मारवाडी लगायतका व्यक्तिहरुलाई बोलाई थारा गाई, साँढे इत्यादीको संरक्षण, हेरचाह गर्न, सेवा–कार्यहरु गर्न तथा श्री पशुपतिनाथको दर्शन गर्न आउने तिर्थालुहरुको बसोबासको कुनै भरपर्दो व्यवस्था नभएको अवस्था मनन गरी गौशाला र धर्मशाला एवं सेवा कार्य गर्न पशुपतिनाथ मन्दिर नजिकै हालको स्थानमा गौशाला एवं धर्मशाला बनाई संचालन गर्ने लगायतका विभिन्न सामाजिक एवं मानवीय सेवाकार्यहरु गर्न वर्तमान गौशाला धर्मशालाको जग्गा मारवाडी समाजलाई उपलब्ध गराईएको थियो ।
सोही बेला देखि नै मारवाडी समाजका महानुभावहरुले आफ्नो व्यवसायको केही अंश चन्दा स्वरुप प्रदान गरी यस पशुपति गौशाला धर्मशालाको निर्माण गरी गाई गोठ तथा आफ्ना पूर्वजहरुको स्मृतिमा कोठा, हल एवं मन्दिर निमार्ण गर्ने कार्य भएको हो । स्थापनाकालदेखि श्री पशुपतिनाथको अधिषेकका लागि दैनिक २९ लिटर दूध निःशुल्क पठाउने गरिएको, निःशुल्क शववाहन सेवा, शव राख्ने फ्रिज सेवा, निःशुल्क कृत्रिम खुट्टा वितरण, तीर्थालुुहरुलाई सहुलियत दरमा आवास र शुद्व शाकाहारी भोजनको व्यवस्था, निःशुल्क होमियोप्याथिक स्वास्थ्य परीक्षण एवं हरेक शनिबार असहायहरुलाई निःशुल्क भोजन तथा (नेपाल सरकारको विपन्न नागरिक कोष अन्तर्गत) निःशुल्क डायलाइसिस सेवाको व्यवस्था गरिँदै आएको थियो। श्री पशुपति गौशाला धर्मशाला र यसको समग्र परिसर निर्धारित उल्लेखित उद्देश्य अनुरुप संचालनमा रहि आएको एवं यसबाट कुनै व्यक्ति, समुदाय वा संस्थाले कुनै पनि प्रकारले आर्थिक लाभ लिने कार्य नभएको निवेदन गरिएको थियो ।
मिति २०६०।०२।१२ मा मारवाडी सेवा समिति नेपाल र श्री पशुपति क्षेत्र विकास कोष बीच भएको सम्झौता सम्बन्धमा उठेको आपसी विवाद अख्तियार, विशेष अदालत हुँदै सम्मानित सर्वोच्च अदालतबाट समेत उक्त सम्झौता कानुन सम्मत रहेको छ भनी फैसला भएको थियो । सो सम्झौता बमोजिमको रकम पनि आ.व. ०८१/०८२ को पशुपति क्षेत्र विकास कोषलाई बुझाइएको थियो । विक्रम सम्वत २०२१ सालको नापीको फिल्डबुक, मालपोतको श्रेस्ता र २०४४ सालको नापीको फिल्डबुक, गुठी संस्थानको श्रेस्ता र पशुपति क्षेत्र विकास कोषको मोही लगत नम्बर ८३७ को अभिलेख अनुसार आ.ब. ०८१/०८२ सम्मको मोहीले तीर्नु पर्ने वाली वापतको रकम बुझाइएको थियो। पशुपति क्षेत्र विकास कोष अन्तर्गत रहेको हजारौँ मोहीहरु मध्ये मारवाडी सेवा समिति नेपाल अन्तर्गतको श्री पशुपति गौशाला धर्मशालासँग पनि अन्य मोहीसँग भए अनुसारको व्यवहारको अपेक्षा मारवाडी समाजले गरेको छ ।
श्री पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समिति नेपालसँग थप सहयोग उपलब्ध गराउने विषयमा मिति २०६०/२/१२ मा सम्झौता गरेकोमा उक्त सम्झौता कोषले मिति २०८०/४/१७ गते एकतर्फी निर्णय गरी भंग गरेकोले सो निर्णय गैर कानुनी रहेको भनी मारवाडी सेवा समिति नेपालले निर्णय बदर गरी पाउन मिति २०८०/४/२४ मा मुद्दा नं. ०८०–ऋए–०७२३ (३९-०८०–०५२१७) मार्फत श्री पशुपति क्षेत्र विकास कोषको निर्णय विरुङ्ग सम्मानित काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएकोमा उक्त मुद्दा उपर सुनुवाई हुँदा निवेदकको दावी नपुग्ने भनी घटस्थापनाको अघिल्लो दिन मिति २०८१/६/१६ गते सम्मानित जिल्ला अदालतबाट आदेश भएको थियो ।
घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म अदालत विदामा रहने हुँनाले उक्त आदेशको पूर्णपाठ आएपछि सो उपर उच्च अदालतमा पुनरावेदन गर्न पाउने अधिकार सुरक्षित रहेको अवस्थामा प्रतिवादी श्री पशुपति क्षेत्र विकास कोषले अधिकारको दुरुपयोग गरी काठमाडौं महानगरपालिकासँग गौशाला धर्मशाला संचालन सम्बन्धी सम्झौता गरी विना कुनै लिखित जानकारी मिति २०८१/६/२३ गते एक्कासी महानगरपालिकाको प्रतिनिधिहरुको साथमा उल्लेख्य नगर प्रहरीहरु श्री पशुपति गौशाला धर्मशालामा प्रवेश गरी बल प्रयोग गरेर गौशाला धर्मशालाको बोर्ड हटाई कब्जामा लिएको थियो ।
नगर प्रहरीले बल प्रयोग गरी श्री पशुपति गौशाला धर्मशाला कब्जामा लिने क्रममा हाम्रो समाजका धेरै जसो मानिसहरुलाई चोटपटक लागेको जानकारी गराएको थियो । कानुनी राज्यमा कुनै एउटा निकायबाट निर्णय भएको तर अन्य निकायहरुमा पुनरावेदन गर्न जाने अधिकार सुरक्षित रहेको अवस्थामा मुद्दाको अन्तिम किनारा नलाग्दै ८४ वर्षदेखि गौ सेवा लगायत धार्मिक, सामाजिक तथा मानवीय सेवामा समर्पित संस्था उपर यस्तो निन्दनीय कार्य हुनु कानुनी राज्यमा कानुन सम्मत नहोला ! यस घट्नाबाट सम्पुर्ण मारवाडी समाजको मौलिक हक अधिकार हनन भएको व्यहोरा श्रीमान समक्ष अनुरोध गरिएको थियो । मारवाडी सेवा समिति नेपालद्वारा संचालित श्री पशुपति गौशाला धर्मशालाको प्राङ्गणमा मिति २०८१/६/२३ गतेकोे घट्ना नेपालमा बसोवास गर्ने शान्ति प्रिय मारवाडी समाजको ईतिहास मैं अत्यन्त भयभित एवं कहाली लाग्दो घट्ना भएकोले सम्पुर्ण समाज डर त्रासको भयले अत्यन्त चिन्तित बनेको थियो । साथै सो घट्ना पश्चात समाजका व्यक्तिहरुलाई निजी धन सम्पति समेतलाई जोखिम हुने गरी धम्कीपूर्ण भाषामा विभिन्न माध्यमबाट सूचना प्रेशित गर्ने कार्यहरु भईरहेको हुँदा सम्पुर्ण मारवाडी समाजका सदस्यहरुको जीउधनको शान्तिसुरक्षा एवं मुद्दा किनारा नलागेसम्म श्री पशुपति गौशाला धर्मशालामा भएको गैर कानुनी हस्तक्षेप रोक्न आवश्यक सहयोग गरिदिन प्रधानमन्त्रीज्यू समक्ष सम्पुर्ण मारवाडी समाजले विनम्र अनुरोध गरेर ज्ञापन पत्र बुझाएको थियो।