छाडा चौपायाले दुर्घटनाको जोखिम

नेपालगञ्जमा मुख्य सडकै छेकेर बस्ने छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

सहरका अधिकांश मुख्य चोक र सडकमा छाडा घोडा, गाई गोरुलगायतका चौपायाले कब्जा गरेपछि सडक दुर्घटनाको चुनौती थपिनुका साथै सर्वसाधारणलाई आवागमनमा समस्या भइरहेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । उपमहानगरपालिकाले छाडा चौपाया छोड्नेलाई जरिवाना तिराउने निर्णय गरेपनि सो निर्णय कार्यान्वयन नहुँदा समस्या भएको उहाँको गुनासो छ ।

नेपालगञ्जको त्रिभुवन चोक, धम्बोझी चोक, बिपी चोक, पुष्पलाल चोक र गणेशमान चोक, सदरलाइन क्षेत्रमा सबैभन्दा बढी छाडा गाईगोरु भेटिने गरेका छन् । ती क्षेत्रमा दुर्घटनाको जोखिमसँगै आवागमनमा पटक–पटक अवरोधसमेत हुने गरेको सदरलाइनका व्यापारी दिपानन्द गुप्ताले बताउनुभयो । गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी १२ पशुचौपायाको मृत्यु भएको थियो ।

तीन पशुचौपाया घाइते भएका थिए । यी दुर्घटनामा परी केही व्यक्ति घाइते भएका थिए । छाडा चौपायाका कारण नेपालगञ्जको ट्राफिक व्यवस्थापनमासमेत समस्या हुँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गरेर नेपालगञ्जको छाडा चौपाया समस्या न्यूनीकरणको लागि योजनावद्ध तरिकाले काम भइरहेको उहाँले बताउनुभयो । छाडा चौपायाको समस्या देखिएपछि अहिले सहरबाट धपाएर काञ्जीहाउसमा लैजाने गरेको उहाँको भनाइ छ ।

Source : Dainik Nepalgunj

प्रतिक्रिया

प्रतिक्रिया