‘दशकउत्सव’ गर्दै धारा नेपालगन्ज म्याराथन

धारा नेपालगन्ज म्याराथनको दशौं संस्करण तय भएको छ । आयोजकले ‘दशकउत्सव’ का रुपमा आउँदो २२ मंसिर शनिबार धारा नेपालगन्ज म्यारराधनको दशौं संस्करण आयोजना हुने घोषणा गरेको हो ।

नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यता प्राप्त दौड प्रतियोगिता हो । यसवर्ष पनि नेपालगन्ज म्याराथनको टाइटल स्पोन्सर प्रतिष्ठित व्यवसायिक ब्राण्ड केएल दुगड ग्रुपको उत्पादन धारा तेल


म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले दशौं संस्करणको मिति तय गरेको जानकारी दिंदै संस्थापक अध्यक्ष टिएस ठकुरीले भने, ‘सरकारले बृहत राष्ट्रिय खेलकुदको मिति तय गरेसँगै काउन्ट डाउन सुरु गरिसकेको हुँदा नेपालगन्ज म्याराथनको मिति केही पछाडि सारिएको हो ।’


आयोजनालाई दशकउत्सव भनेको आयोजकले यस बर्ष केही विधामा नगद पुरस्कार राशीमा वृद्धि गरिने जनाएको छ । ‘केही सरप्राइज प्याकेज पनि घोषणा गरिनेछ,’ म्याराथनका संस्थापक अध्यक्ष ठकुरीले भने ।

नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यता प्राप्त दौड प्रतियोगिता हो । एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । ‘एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ,’ ठकुरी भन्छन् ।

एक दशकको यात्रा मनाउने क्रममा दश विभिन्न कार्यक्रम आयोजना गरिने घोषणा पनि आयोजकले गरेको छ । ‘यसकाबारेमा चाँडै कार्यक्रम सार्वजनिक गरिनेछ,’ ठकुरीले म्याराथनका क्रममा दुई दिने नेपालगन्ज कनक्लेभ र एक्स्पो आयोजना गरिने जानकारी दिंदै भनेका छन्, ‘साथै केही दौडसम्बन्धि प्रतियोगिता र अतिरिक्त क्रियाकलापका कार्यक्रम समेत सञ्चालन गरिनेछ ।’


नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगन्ज म्याराथन यस बर्ष मंसिर २२ गते शनिवार हुने आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ ।

दशकलामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य भई देशले शान्ति, विकास र समृद्धिको बाटोमा यात्रा तय गरेको दिनको स्मरण गर्दै ५ मंसिरमा नेपालगन्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन पनि गरिँदै आएको छ । ‘त्यो कार्यक्रम हाम्रो नियमित तालिकामै हुनेछ,’ ठकुरीले दैनिक नेपालगन्जसँग भने ।

यस वर्ष प्रतियोगितामा पुरुष तर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१किमी), ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८ देखि १२ बर्ष उमेर समूह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको आयोजकले जनाएको छ ।

आयोजक अध्यक्ष ठकुरीले सोमवार विज्ञप्तिमार्फत दिएको जानकारी अनुसार, स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलगअलग स्पर्धा गराइ पुरस्कृत गरिनेछ । त्यसैगरी, बाँके जिल्लाकाहकमाकक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलगअलग दौड (५किमी) सञ्चालन गरिने आयोजकले भनेको छ ।

आयोजकले दिएको जानकारी अनुसार, नेपालगन्ज उपमहानगरपालिकाको गेटबाट सुरु भइ कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भइ सुरुवाती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पुरा हुन्छ । यसवर्ष पनि नेपालगन्ज म्याराथनको टाइटल स्पोन्सर प्रतिष्ठित व्यवसायिक ब्राण्ड केएल दुगड ग्रुपको उत्पादन धारा तेल रहेको आयोजकले स्पष्ट पारेको छ ।

नवौं धारा नेपालगन्ज म्याराथन विजेता गोपीचन्द्र पार्की थिए । महिला हाफम्याराथनतर्फ सातौं, आठौं र नवौं संस्करणमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन् । पार्कीले विश्व प्रतिष्ठित लण्डन म्याराथन तथा सन्तोषीले पेरिस ओलम्पिकमा सहभागिता जनाउन सफल भएका छन् ।

हरेक दुई बर्षमा आयोजनाहुने एम्सको २३ औं बार्षिक साधारणसभा मा नेपालबाट पहिलो पटक नेपालगन्ज म्याराथनले प्रतिनिधित्व गरेको थियो । जापानको ओशाकामा भएको २३ औं सभामा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भाग लिएका थिए ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए । दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्ला निवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भुमिराज राई र पाँचौंमा सेनाका भिमबहादुर साउदले उपाधि उचालेका हुन् ।


त्यस्तै, नेपालगन्ज म्याराथनको छैठौं संस्करणमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की, सातौंमा एपीएफकै किरणसिंह बोगटी, आठौंमा सेनाकै खडकबहादुर खड्का र नवौंमा एपीएफकै गोपीचन्द्र पार्की विजेता बनेका थिए ।


महिला हाफ म्याराथनतर्फ सातौं, आठौं र नवौं संस्करणमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन । त्यसैगरी पहिलो संस्करणमा एपीएफका कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पुर्णलक्ष्मी न्यौपाने, छैटौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए ।


दुई संस्करण जित्ने खेलाडी कान्छीमाया कोजु रतीन संस्करण जित्ने सन्तोषी श्रेष्ठ हुन् । पुरुषतर्फ दुई पटक म्याराथनतर्फ विजेता हुने एपीएफका गोपीचन्द्र पार्की मात्र हुन् ।


क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको दशौं धारा नेपालगन्ज म्याराथनका लागि २०८१ भदौ १ देखि खेलाडी दर्ता खुला गरिएको बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया