मानव सेवा आश्रमलाई तिमिल्सिना वाङमय प्रतिष्ठानको सम्मान

तिमिल्सिना वाङमय प्रतिष्ठानले एकैदिन ‘रामेश्वर कमला स्मृति पुरस्कार’ वितरण गरेको छ । शुक्रवार गरिएको भव्य कार्यक्रममा मानव सेवा आश्रम र प्रा.डा. भागवत् प्रसाद शर्मालाई एकैसाथ पुरस्कार प्रदान गरिएको छ ।


तिमिल्सिना वाङमय प्रतिष्ठानद्वारा प्रत्येक वर्ष प्रदान गरिंदै आएको पुरस्कार यो वर्ष मानवीय सेवामा समर्पित मानव सेवा आश्रमलाई प्रदान गरिएको हो ।


अघिल्लो वर्षको पुरस्कार पनि यसै वर्ष एकैसाथ बौद्धिक व्यक्तित्व प्रा.डा.भागवत् प्रसाद शर्मालाई प्रदान गरेको छ । प्रतिष्ठानले शुक्रवार आयोजना गरेको पुरस्कार अर्पण कार्यक्रममा डा. शर्मा र मानव सेवा आश्रम नेपालगन्जलाई जनही ११ हजार १११ नगद र सम्मानपत्र सहितको पुरस्कारले सम्मान गरिएको हो । प्रा. डा. शर्मा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष हुन् ।


भेरी साहित्य समाजका निवर्तमान अध्यक्ष हरिप्रसाद तिमिल्सिना र समालोचक मिना बरालले माता पिता कमलादेवी उपाध्याय र रामेश्वर उपाध्यायका नाममा २०७२ सालमा प्रतिष्ठान गठन गरि पुरस्कार स्थापना गरेका हुन् ।


वरिष्ठ साहित्यका प्रा.डा.गोपालप्रसाद शर्मा अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न श्रष्टाहरुले रचना वाचन गरेका थिए ।


कार्यक्रममा प्रा.डा कृष्णप्रसाद घिमिरे, वरिष्ठ कथाकार सनत कुमार रेग्मी, प्राज्ञसभा सदस्य महानन्द ढकाल, साहित्यकार डा. इन्द्र बहादुर भण्डारी, पूर्णलाल चुके, किरण आचार्य, खगेन्द्र गिरि कोपिला, गणेश जि.सी., विष्णु कुम्हाल, इश्वरी रिजाल, पुष्कर रिजाल, लेख प्याकुरेल, पुष्पमणि प्रधान, भरत रानाभाट, चरित्रा शाह, खोपीराम ओली, कल्पना पौडेल ’जिज्ञासु’, सारिक रब्बानी, भिम बहादुर शाही लगायत पाँच दर्जन बढी साहित्यकारहरूको सहभागिता रहेको थियो ।


प्रतिष्ठानका संरक्षक हरिप्रसाद तिमिल्सिनाका अनुसार, २०७२ सालमा स्थापित रामेश्वर कमला स्मृति पुरस्कार २०७३ देखि क्रमशः अब्दुल लतिफ शौक, प्रा.जगत प्रेक्षित, प्रा.डा.चूडामणि बन्धु,गणेश जिसी,प्रा.डा.गोपाल शर्मा अधिकारी, किरण आचार्य पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया