नतिजा आएको ९ महिनासम्म पनि विद्यार्थीले पाएनन् ट्रान्सक्रिप्ट

त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको ९ महिनासम्म पनि ट्रान्सक्रिप्ट उपलब्ध नगराएको विरोधमा विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुको प्रशासन कक्ष अगाडि रातभर धर्ना दिएका छन् ।

बिहीबार बेलुकी ६ बजेदेखि धर्नामा बसेका विद्यार्थीहरुले रात त्यहीँ बिताए । उनीहरुले नतिजा प्रकाशित भएको तीन दिनभित्र ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने र परीक्षा नियन्त्रण कार्यालय बल्खुमा हुने बेथिति अन्त्य हुनुपर्ने लगायतका माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने बताएका छन् ।

धर्नामा रात बिताएका एक विद्यार्थी प्रदीप भण्डारीले अनलाइनखबरसँग भने, ‘बिएडको नतिजा आएको ९ महिनासम्म पनि ट्रान्सक्रिप्ट दिइएको छैन । त्यसैले हाम्रो मुख्य माग भनेको स्वयं विद्यार्थी उपस्थित भएमा तीन दिन भित्र र विद्यार्थी उपस्थित हुन नसके सात दिनभित्र सम्बन्धित क्याम्पसमै ट्रान्सक्रिप्ट पठाइदिनुपर्छ ।’

साथै ट्रान्सक्रिप्ट लगायतका शैक्षिक प्रमाणपत्र सच्याउनुपर्ने भएमा थप शुल्क नलिइकन सच्याइदिनुपर्ने लगायतका माग पनि आफूहरुले राखेको उनले बताए । उनका अनुसार कसैलाई ६ वटा विषयको परीक्षा दिएकोमा ११ वटा विषयको नतिजा उल्लेख गरेर ट्रान्सक्रिप्ट वितरणसमेत गरेको पाइएको छ र त्यो सच्याउँदा फेरि विद्यार्थीबाट परीक्षा नियन्त्रण कार्यालयले थप शुल्क असुल्ने गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया