हिन्दुहरुको अन्तिम मृत्यु संस्कारका लागि बाँकेको राप्ती नदी सिधनियामा व्यवस्थित घाट ‘बैकुण्ठघाम’ निर्माण गरिने भएको छ ।
त्यसका लागि यहाँका सामाजिक अगुवाहरु अग्रसर भएका हुन् । उनीहरु त्यसको स्रोतका लागि आध्यात्मिक महोत्सव गर्ने तयारीमा जुटेका छन् । ‘मृत्यु संस्कारका लागि मात्रै होइन, जीवन बुझ्ने आध्यात्मिक गन्तव्य पनि हुनेछ बैकुण्ठधाम,’ त्यसका लागि क्रियाशील समितिका सदस्य श्रीराम सिग्देलले भने ।
‘बैकुण्ठघाम’ निर्माणका लागि बनाइएको समितिले सिधनियाघाटमा १२ कठ्ठा जमिन खरिदका लागि प्रक्रिया शुरु गरेपछि निर्माण स्रोतका लागि महोत्सव गर्ने भएको हो ।
त्यसका लागि आइतवार बिहान वाचन शिरोमणि दिनबन्धु पोखरेलले समितिका पदाधिकारीहरुसँग आवश्यक परामर्श गर्नुका साथै डुडुवा गाउँपालिका वडा नम्बर–५ कम्दि स्थित प्रस्तावित बैकुण्ठधाम निर्माणस्थल पुगेका थिए ।
नेपालगन्जस्थित मल्हमपट्टी मर्निङ वाक ग्रुपको अग्रसरतामा समितिनै गठन गरि बैकुण्ठघाम निर्माणमा आवश्यक प्रक्रिया अगाडी बढाइएको हो । जहाँ परम्परागत संस्कारका पूर्वाधारदेखि अत्याधुनिक पार्कसमेत बनाइनेछन् । त्यसका लागि स्रोतको पहलकदमी थालिएको छ ।
आइतवार समितिले त्यसबारे जानकारी दिन वाचन शिरोमणि पोखरेलकै प्रमुख आतिथ्यमा पत्रकर सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा प्रतिकठ्ठा आठ लाखको दरले चार जना जग्गाधनीलाई बैना दिइसकिएको जानकारी दिंदै समितिका सदस्य डा. बद्री चापागाईंले ब्रम्हनाल, धारा, प्रतिक्षालय, काठ गोदाम, पूजा सामाग्री पसल, शौचालय, किरियापुत्री घर, मन्दिर, पार्क बनाउने योजना सुनाए । भविष्यमा विद्युतीय शवदाह गृहको योजना अघि सारिएको उनको भनाइ छ ।
समितिका अध्यक्ष डा. सुरेशकुमार कनोडियाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पण्डित पोखरेलले आध्यात्मिक महोत्सवको उद्घोषण गर्दै २० करोड रुपैया संकलन गर्न सकिने बताए । आध्यात्मिक ज्ञान र विज्ञानको महोत्सवमा शालिकराम दर्शन, ब्रतबन्ध, विवाह, चौरासीपूजा, रुद्री, ग्रहशान्ति लगायतका विभिन्न धार्मिक अनुष्ठानका योजना सुनाए ।
समितिका उपाध्यक्ष भोला महतले सहजीकरण गरेको पत्रकार सम्मेलनमा सदस्य सिग्देलले जग्गा व्यवस्थापनदेखि महोत्सवसम्मका विभिन्न पक्षबारे प्रकाश पार्दै बैकुण्ठधाम नेपालगन्जको महत्वपूर्ण र आकर्षक गन्तव्यका रुपमा बन्ने बताए ।