अतिक्रमित संरचना भत्काउँदै उपमहानगरपालिका

नेपालगञ्ज उपमहानगरपालिकाले सरकारी जमिन अतिक्रमण गरी बनेका संरचना भत्काउन सुरु गरेको छ । नेपालगञ्ज–९ खटकनपूर्वामा सरकारी जमिन अतिक्रमण गरी बनेका घरटहरा भत्काउन उपमहानगरले आज दिउँसो डोजर चलाएको छ ।

घरटहरा हटाउन एक महिनाको सूचना टाँस गर्दा पनि बेवास्ता गरेकाले भत्काउन बाध्य भएको नेपालगञ्ज उपमहानगरपालिका–९ का वडाध्यक्ष गोविन्दप्रसाद रेग्मीले बताउनुभयो । “अतिक्रमित संरचना हटाउन पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेकाले आज डोजर लगाउन बाध्य भएका छाँै”, उहाँले भन्नुभयो, “अतिक्रमण हटाएर सरकारी जग्गाको संरक्षण गर्ने कार्यमा स्थानीयले पनि सहयोग गरिरहनुभएको छ ।” नेपालगञ्ज उपमहानगरपालिका–९ का विभिन्न क्षेत्रमा रहेका सरकारी जग्गा तारवार गरी संरक्षण गर्दै आएको वडाध्यक्ष रेग्मीको भनाइ छ ।

यसअघि नेपालगञ्जका विभिन्न ठाउँमा नाला र सडक अतिक्रमण गरी पसल व्यवसाय सञ्चालन गरिएको सडकपेटी तथा सरकारी जग्गा खाली गराउन डोजर लगाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट आफैँ डोजर लिएर अतिक्रमण गरी बनाइएका संरचना हटाउन निस्किनुभएको थियो । नेपालगञ्जका अधिकांश ठाउँमा सडकपेटी अतिक्रमण गरी पसल व्यवसाय सञ्चालन गरिएकाले सर्वसाधारण र सवारीसाधन आवागमनमा समस्या भएको छ । यस्ता अतिक्रमण हटाउन प्रमुख विष्ट आफैँ अगाडि सर्नुभएको हो । सडकपेटी अतिक्रमण गरेर संरचना निर्माण गर्ने, पसल व्यापार चलाउने काम नरोकिएपछि बाध्य भएर त्यस्ता संरचना हटाउन आफैँ डोजर लिएर बजारमा निस्किएको विष्टले बताउनुभयो ।

नेपालगञ्जलाई सफा, सुन्दर र व्यवस्थित सहरका रूपमा विकास गर्न यो अभियान सुरु गरिएको उहाँको भनाइ छ । सडकपेटी कब्जा गरी बजार व्यवसाय सञ्चालन गर्दा सर्वसाधारण नागरिकलाई हिँडडुल गर्न र सवारी चलाउन गाह्रो भएपछि त्यसलाई व्यवस्थित गर्न यस्तो काम सुरु गरिएको उहाँले बताउनुभयो । बजारलाई सुन्दर र व्यवस्थित बनाउन अतिक्रमण हटाउन थालिएको नगरप्रमुख विष्टको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया