कोहलपुरमा जिल्लाव्यापी नकआउट फुटबल

बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिता कोहलपुरमा शुरु भएको छ ।


शनिबार एक कार्यक्रमका बिच कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले प्रतियोगिताको उद्घाटन गरेका हुन् । नगरप्रमुख आचार्यले कोहलपुरले पछिल्लो समय खेलकुद क्षेत्रको पुर्वाधारसँगै स्तरीय प्रतियोगिता आयोजना गरेर खेलाडीहरुको मनोबल बढाउने काम गरेको बताए ।

कार्यक्रममा उनले भने, ‘फुटबलमा छिटै एउटा स्तरीय मैदान बन्दैछ । अन्य पुर्वाधारलाई पनि हामीले महत्व दिएको छौं । फुटबल खेलको विकासको लागि फुुटबल संघले हामीलाई थुप्रै सहयोग गरेको छ । यसका लागि म संघलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’


आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो ।


उद्घाटनसँगै भएको पहिलो खेलमा नेपालगन्ज–११ स्पोटिङ क्लबले विजयी सुरुआत गरेको छ । शनिबार कोहलपुर स्थित १३ बिगाह फुटबल मैदानमा नेपालगन्ज–११ ले इजोन स्पोट्स क्लबलाई ३–० ले पराजित गरेको छ । नेपालगन्ज–११ को लागि सुमित थापाले २ गोल र भरत बहादुर घर्ती मगरले १ गोल गरेका थिए । सुमितले खेलको २०औं मिनेट र ६१औं मिनेटमा गोल गर्नु भएको थियो । भरतले ६२औं मिनेटमा गोल गरे ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा ७ वटा क्लबको सहभागिता रहेको जानकारी दिंदै महासचिव कमल खत्रीले प्रतियोगिताको विजेता क्लबले आगामी वर्ष हुने बाँके जिल्ला स्तरीय लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउने जानकारी दिए ।


जेठ २३ गते सम्म चल्ने प्रतियोगितामा नेपालगन्ज –११ स्पोटिङ क्लब, सिटी युथ क्लब, ई जोन स्पोट्र्स क्लब, न्यु दपर्ण युवा स्पोट्र्स क्लब, न्यु नलेज स्पोट्स क्लब, एफसी संघारी, कंञ्चनजंगा भिजन स्पोट्स क्लबको सहभागिता रहेको महासचिव खत्रीले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया