लाइसेन्सको जाँच पास नभएपछि अरुको नम्बर प्रयोग गरेँ

नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा विरामी जाँचेको आरोपमा पक्राउ परेका चिकित्सक सम्बुद्ध भट्टचार्यले मेडिकल काउन्सिलको कीर्ते प्रमाण पत्र प्रयोग गरेको स्वीकारेका छन् ।

सरकारी वकिलको रोहबरमा जिल्ला प्रहरी परिसर, काठमाडौंलाई दिएको बयानमा भट्टचार्यले मेडिकल काउन्सिलको ‘इजाजतका लागि परीक्षा दिएपनि उत्तीर्ण नभएकाले तत्काल काम गर्न लेटरहेड र छाप प्रयोग गरेको’ बताएका हुन् ।

भट्टचार्यले आफू एमबीबीएस गरेको विद्यार्थी भएकाले विरामीको उपचार गर्दै आएको दाबी गरेका छन् । तर, प्रहरीले भने उनले एमबीबीएस पास गरे÷नगरेको स्पष्ट पारेको छैन ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानका क्रममा उनले प्रयोग गरेको एनएमसी नम्बर डा. एलिना श्रेष्ठ र श्रृष्टि खरेलको नाममा जारी भएको भेटिएको थियो ।

मेडिकल काउन्सिललाई उनले प्रयोग गर्ने नम्बरबारे पत्र पठाउँदा उनको भट्टाचार्यको नाम टाँसिएको अर्को पइजाजत पत्र वर्षा बर्माको नाममा जारी भएको देखिएको थियो । त्यसपछि कार्यालयले उनलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

उनले आफूलाई त्रिवि शिक्षण अस्पतालमा कार्यरत् चिकित्क भएको बताएर वी केयर हेल्थ सेन्टरमा विरामी जाँच्दै आएका थिए ।

उनले उपेन्द्र यादव स्वास्थ्य मन्त्री भएका बेलाको प्रशंसा पत्र, विश्व स्वास्थ्य संगठन, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका निकायको पनि नक्कली कागजात बनाएको अनुसन्धानका क्रममा खुलेको थियो ।

‘नक्कली कागजातहरु देखाएर उनले विभिन्न स्वास्थ्य संस्थामा विरामी जाँच्दै आएका थिए’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘यसअघि उनले हिमाल धौलागिरी पोलिक्लिनिक तथा यलम्बर क्लिनिक प्रा.लि.मा समेत उपचार गराएका थिए ।’

यसबारे जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान गरेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई बुझाएको थियो । त्यसका आधारमा जिल्ला अदालत, काठमाडौंमा भट्टचार्यविरुद्ध सरकारी कागजात कीर्ते र मुलुकी अपराध संहिताको इजाजत प्राप्त नगरेको व्यक्तिले इलास गरेको कसूरमा मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया