मम उत्सव गरिंदै

नेपालगन्जमा सिद्धार्थ कटेजले ४१ प्रकारका ममसहितको उत्सव गर्न लागेको हो

नेपालगन्जमा मम उत्सव गर्न लागिएको छ । सिद्धार्थ कटेजले नेपालगन्जमा पहिलो पटक ‘मम फेस्टिवल’ गर्न लागेको हो ।

‘४/५ प्रकारका मम खाने गरेका स्वादका पारखीहरुका लागि एकै थलोमा ४१ थरि मम पस्किंदै छौं,’ उत्सवबारे जानकारी दिन सोमवार आयोजित पत्रकार सम्मेलनमा सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका निर्देशक केशव न्यौपानेले भने, ‘अझ महत्वपूर्ण कुरा प्रतियोगितात्मक उत्सव हुनेछ ।’ जहाँ ममसँग जोडिएका कयौं प्रतिष्पर्धा गरिने जानकारी दिंदै न्यौपानेले महिलाहरुलाई लक्षित गरि ‘कम्युनिटी कुकिङ’ प्रतियोगिता पनि गरिने बताए ।

सिद्धार्थ कटेजले माघ ११, १२, १३ गते मम फेस्टिवल आयोजना गर्न लागेको जनाएको छ । आयोजक सिद्धार्थ कटेजका अपरेशन म्यानेजर पदम न्यौपानेले स्थानीय उत्पादनहरुलाई प्रमोशन गर्ने उद्देश्यले मम उत्सव गर्न लागेको जानकारी दिंदै फापर, कोदो, तरुल, दिउँदे सिमी, केरा लगायतका विभिन्न स्थानीय परिकारबाट बनेका ममका स्टलहरु राखिने बताए ।

उत्सवमा आकारका दृष्टिले पनि विभिन्न १० छुट्टाछुट्टै आकारका आकर्षक मम पस्किन लागेको सिद्धार्थ कटेजका एक्जुकेटिभ सेफ अमर दाहालको भनाइ छ । ‘पहिलो पटक यसरी नयाँ ढंगले मम पस्किन लागेका छौं,’ सेफ अमरले भने ।

आयोजकका अनुसार, मम क्वीज, लाइभ म्युजिक, दोहोरी साँझ, गजल नाइट लगायतका विभिन्न प्रतियोगिताहरु संचालन हुने उत्सवमा प्रत्यक्ष मम पकाउने प्रतियोगिता पनि गरिंदै छ ।

सिद्धार्थ बिजनेश ग्रुका सेल्स एण्ड मार्केटिङ म्यानेजर नविन भंट्टका अनुसार, उत्सवलाई आकर्षक र भव्य बनाउन सुर्खेतको स्थानीय ब्यान्ड ज्यापर, अन्य कलाकार निम्त्याइदै छ ।

प्रतिक्रिया

प्रतिक्रिया