यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक : राष्ट्रियसभामा मनोनीत गर्न माग

राष्ट्रियसभामा रिक्त १९ सदस्य चयन गर्न ११ माघमा चुनाव हुँदैछ। आठ राजनीतिक दलबाट १९ सदस्यका लागि ५१ जनाको उम्मेदवारी परेको छ। तर, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको उम्मेदवारी शून्य छ। 

कुनै पनि राजनीतिक दलले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई उम्मेदवार बनाएनन्। अरू सबै समुदायको राष्ट्रियसभामा प्रतिनिधित्व भए पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व हुन सकेको छैन। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले सङ्गठित अभियान सुरु गरेको २३ वर्ष भैसकेको छ। तर, राज्यका निकायमा समुदायको प्रतिनिधित्वका लागि दबाब पुगेको छैन। राज्यका निकायलाई खबरदारी गर्न स्थापना भएको मायाको पहिचान नेपालले राष्ट्रियसभामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका एक सदस्यलाई मनोनीत गर्न राष्ट्रपतिसँग माग गरेको छ। पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशन सुनिलबाबु पन्तले राष्ट्रियसभामा कमसेकम एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गराउन राष्ट्रपतिसँग माग गरे। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभा सदस्यमा एक जना मनोनीत गर्न पाउनेछन्। 

उनले राष्ट्रियसभामा यो समुदायबाट एक जना भए पनि लैजान माग गरे। ‘कमसेकम एक जना यो समुदायलाई राष्ट्रपतिले मनोनीत गर्न सक्नुहुन्छ,’पन्तले भने,‘यो समुदायको किन नराख्ने? हाम्रो समुदायको कोही पनि छैनन् भनेपछि।’यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई समावेश गराउन मायाको पहिचान नेपालले राजनीतिक अभियान सञ्चालन गर्ने पन्तले जानकारी दिए। समुदायका सदस्यलाई राजनीतिमा आउन पन्तले आव्हान पनि गरे। ‘गणतन्त्र र राजतन्त्रबारे बुझ्न आवश्यक छ।

राजनीतिमा चासो लिएर आउन जरुरी छ,’पन्तले भने,‘यहाँहरूले इच्छाएको पार्टीमा समावेश गराउन मायाको पहिचान नेपालले सहयोग गर्छ।’राजनीतिक दलमा आबद्ध हुन, चुनाव प्रचारप्रसार गर्न र चुनाव जितेपछि कसरी काम गर्ने भनेर सिकाउन मायाको पहिचान नेपाल लाग्ने पन्तले बताए। सङ्घीय संसद्, न्यायाधीशहरू, कानुन व्यवसायी, राजनीतिक दल, सरकारलाई यो समुदायकोबारे बुझाउने काम पनि गर्ने उनले बताए। ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबारे पाठ्यक्रममा राखे पनि शिक्षकहरूलाई पढाउन आउँदैन, शिक्षामा छात्रवृत्ति छैन,’पन्तले भने। उनले श्रम ऐन सहित यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमाथि विभेद हुने २०-२५ वटा कानुन संशोधनका लागि पहल गर्नुपर्ने बताए। ‘यो समुदायका लागि ट्रेड युनियनहरूले काम गरेका छैनन्।

हामी ट्रेड युनियनहरूसँग पनि काम गर्छौ,’उनले भने,‘अनेक बहानामा तेस्रोलिंगीलाई कामबाट निकाल्ने गरिएको छ, काम दिन्न र ज्याला पनि दिन्न भन्न पाइँदैन।’ उनले मायाको पहिचान नेपालले नयाँ तरिकाले काम गर्ने बताए। ‘नयाँ तरिकाले काम गर्नुपर्छ। धेरै काम छुटेको छ,’उनले भने,‘मायाको पहिचान नेपालसँग जोडिने बित्तिकै अरू संस्थामा जोडिनु हुँदैन भन्ने छैन। संस्था संस्थाको झगडा हुँदै होइन, यो त जसले हामीलाई विभेद गरेको छ त्यसका विरुद्ध लड्नका लागि हो। हामी हामी लडेर काम छैन।

सबैको आवश्यकता छ।’उनले प्रभावकारी र मितव्ययी ढङ्गले कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। ‘मानसिक स्वास्थ्यको कार्यक्रम गर्नलाई क्रिसमस र नयाँ वर्षको अवसर पारेर छुट्टी मनाउने जस्तो देखिएको छ,’उनले भने,‘थुप्रै गैरसरकारी संस्थाहरूले पोखरामा कार्यक्रम राखे। नारा मात्रै ठुलो राखेर हुँदैन। सबै क्षेत्रका संस्थाहरू सच्चिएर आउनुपर्छ भन्ने लाग्छ।’ मायाको पहिचान नेपालले सिंहदरबार पूर्वी गेट अगाडि अनामनगरमा सोमबारदेखि कार्यालय सञ्चालनमा ल्याएको छ। कार्यालयको उद्घाटन गर्दै सिद्धी गणेश टोल विकास समितिका अध्यक्ष आरबी ठकुरीले माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले विवाह गर्नु अगाडि धेरै बाधा अड्चन भोग्नु परेको सुनाए। 

विवाह दर्ता हुन सफल भएको कारणले मायाको पहिचान नेपालको केन्द्रीय कार्यालय स्थापना भएको उनले बताए। ‘माया र सुरेन्द्रको विवाह गराउने सौभाग्य मिलेको थियो। विवाहमा बुबा बनेको थिए,’अध्यक्ष ठकुरीले भने,‘ धेरै सङ्घर्ष गरेर मायाको पहिचान संस्था खोल्न सफल भएकोमा बधाई दिन चाहन्छु।’उनले सबैको साथ सहयोग भएर संस्थालाई फलाउने फलाउने काममा लाग्न सुझाव पनि दिए। ‘देशका ७७ वटै जिल्लामा शाखा कार्यालय स्थापना गर्न सफल हुनुहोस्,’उनले भने,‘एकजुट भएर आवाज उठाउनु भएमा राज्यले सुन्ने र अधिकार पाउन पनि सहज हुनेछ।’समर्पण सभ्य समाजका सचिव हनि महर्जन सुनिलबाबु पन्तकै कारण नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई विश्वसामु चिनाउन सजिलो भएको बताए। ‘धेरै काम गर्नुभयो। उहाँले गर्दा नै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक तेस्रोलिंगी, समलिङ्गी दुईलिंगी भनेर आउन सकेका छौँ,’सचिव महर्जनले भने,‘मायाको पहिचानले पहिचान पाएका छ।

तेस्रोलिंगीहरुको विवाह गर्ने संस्थाका रूपमा पहिचान पाएको छ।’ मायाको पहिचान पनि संसारभरि चिनिने उनले सुनाए। उनले भने,‘मायाको पहिचान एलजीबीटीआईक्यू कम्युनिटीको पहिचान हो।’ मायाको पहिचान नेपालकी अध्यक्ष माया गुरुङ्गले मन मिल्ने जीवन साथीसँग विवाह गर्न पाउनु पर्ने बताइन। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको आवाज नउठाउँदा सडकमा उभिनु पर्ने अवस्था आएको उनले बताइन। ‘रोडमै उभिनु पर्ने अवस्था आयो, हाम्रो आवाज नउठाउँदा नयाँ संस्था खोल्नु परेको हो,’अध्यक्ष गुरुङ्गले भनिन्,‘महिला र पुरुष सरह समान अधिकारसँगै सीप मूलक तालिम पाए जीविकोपार्जनमा सहज हुने थियो।’उनले मायाको पहिचान नेपाल सम्पूर्ण यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको संस्था भएको बताइन।  ‘समुदायको लागि खोलेको संस्था हो।

घरपरिवार सहित समाजमा हुने हिंसा रोकथाम गर्नेछौ,’उनले भनिन्,‘सबै मिलेर अगाडि बढ्नु पर्छ।’ उनले सन् २००१ मा सुनिलबाबु पन्तले संस्था स्थापना गरे पनि नै नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय खुलेर आउन सकेको सुनाइन्। ‘उहाँको अभियानले गर्दा खुलेर आउन र समाजमा घुलमिल हुन सहज भएको हो,’अध्यक्ष गुरुङ्गले भनिन्। 

मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसी नेपालमा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारको मुद्दालाई सशक्त रूपमा सफल बनाउन स्ट्रङ एजेन्डा बनाएर अगाडि बढ्ने बताए। ‘महिला र पुरुष सरह समुदायका साथीहरूले पनि समान हक अधिकार पाउनु पर्छ,’उपाध्यक्ष केसीले भने,‘आउने दिनमा यस संस्थालाई देशभरिका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि आवाज बुलन्द गर्न एक बनाएर अगाडि बढ्नेछौ, यो समुदायको साझा संस्था हो।’यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्य टिना राईले सुनिलबाबु पन्तको नेतृत्वमा मायाको पहिचान नेपालले धेरै काम गर्ने विश्वास व्यक्त गरिन्।‘ उहाँले धेरै राम्रो काम गर्नु भएको थियो। उहाँ केही समय जानु भयो। खुल्दुली लागेको थियो कहाँ जानु भयो भनेर’उनले भनिन्,‘अहिले आउनु भएको छ, खुसी लाग्यो। राम्रो काम गर्ने आशा छ।’ 

समर्पण सभ्य समाजका स्वयंसेवक नमस्तिका श्रेष्ठसहित मायाको पहिचान नेपालको कार्यालय उद्घाटनमा सहभागी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले अब हक अधिकारको आवाज बुलन्द हुने विश्वास व्यक्त गरेका छन्। 

प्रतिक्रिया

प्रतिक्रिया