बाँके र बर्दियामा त्यस्ता सुन्दर र आकर्षक ठाउँ कुन–कुन होलान् जहाँ चलचित्र छायांकन गर्न सकियोस् ? चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले त्यसको खोजीका लागि सरोकारवालासँग आइतवार अन्तरक्रिया गरेको छ ।
चलचित्र छायांकनका लागि उपयुक्त स्थल र पर्यटन प्रवद्र्धनका लागि गरिएको अन्तरक्रियामा सहभागी पत्रकार, कलाकारहरुले स्थानीय सम्भावनामा चर्चामात्रै गरेनन्, आफै चलचित्र बनाउनु पर्ने आवश्यकतामा जोड दिए । ‘हामीलेनै फिल्म बनाएर ती ठाउँहरुको खोजी र उजागार गरिदिनुपर्छ,’ कलाकारहरुको भनाइ छ ।
बाँकेको डुडुवा गाउँपालिकाको कम्दी नजिकै रहेको वनभोज स्थलमा आयोजना गरिएको कार्यक्रममा कलाकारहरुले आफ्नो योगदान, विगत र भविष्यका चर्चा गर्दै पत्रकारहरुसँग गरिएका अपेक्षाबारे पनि आफ्ना धारणा राखे ।
गीत, संगीत र चलचित्र निर्माणका लागि बाँके– बर्दियामा रहेका ‘सुटिङस्पट’बारे स्थानीय कलाकार, पत्रकार, पर्यटन व्यवसायी, होटल व्यवसायी, सिनेमा हल सन्चालक लगायतसँग गरिएको अन्तरक्रियामा सहभागीहरुले जिल्लाको कला, कलाकार र त्यसबारेको सम्भावनाबारे निकैबेर खुलेर चर्चा परिचर्चा गरे ।
उनीहरुले धार्मिक, सांस्कृतिक, सामाजिक मूल्य मान्यता झल्कने यहाँका स्थानीय चाडवाड, गाउँ, तालतलैया, बाटो, पूल नदि लगायत समावेश गर्न सकिने सुझाव दिए । ‘त्यसका लागि स्थानीयस्तरबाटनै अग्रसरता चाहियो,’ उनीहरुको भनाइ छ ।
गुरुवागाउँ, जोगागाउँ जस्ता यहाँका मौलिक मेलाहरुलाई चलचित्रमा समावेश गर्न सकिने कलाकार सुन्दर गुरुङको सुझाव छ । ‘यहाँका ग्रामीण वस्ती, ग्रामीण क्षेत्र, बाटो, नदि, पुल, ताल लगायत हरेक पृष्ठभूमिमा चलचित्र छायांकनका लागि उपयुक्त मौलिकता छ,’ उनको भनाइ छ ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्ररिषि चौलागाईको प्रमुख आथित्यमा भएको कार्यक्रममा बरिष्ठ कलाकार कैलास प्रविण, श्यामानन्द सिंह, कमल विक निर्मोही, विरेन्द्र यादव, जैनुल हक जिनु, अनिता लामिछाने, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, पत्रकार कमल खत्री, कलाकार नवराज सुवेदीलगायतले बोलेका थिए ।
चलचित्र पत्रकार संघ बाँके शाखाका अध्यक्ष रामचन्द्र पौडेलका अध्यक्षतामा भएको कार्यक्रममा संकलन गरिएका सुझावहरु सहित संघले आगामी जेठमा छायांकन स्थलहरू समेटिएको पुस्तक प्रकाशन गर्ने बताइएको छ । संघका सचिव बिक्रम बुढाक्षेत्रीका अनुसार, विद्यालयहरुले स्थानीय पाठ्यक्रममा पढ्न पाउने गरी पुस्तक तयार गर्न सुझाव दिएका छन् ।
‘सहभागीहरुले बाँके राष्ट्रिय निकुञ्ज, गाभर, अगैया, राप्ती पुल लगायतका स्थानहरु छायांकनका लागि उपयुक्त रहेको सुझाएका छन्,’ सचिव बुढाक्षेत्रीले भने । उपाध्यक्ष समिर मान श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा उठेका विषयगत छलफललाई पनि दस्तावेजीकरण गरिने संघले जनाएको छ ।