स्थापना दिवसमा स्टेशनरी व्यवसायीले दिए कारागारमा पुस्तक

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको १७ औं स्थापना दिवस शनिबार नेपालगन्जमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

त्यसक्रममा महासंघको बाँके शाखाले नेपालगन्ज स्थित बाँके जिल्ला कारागारका कैदीबन्दीहरूका लागि पुस्तक हस्तान्तरण कार्यक्रम आयोजना गरेको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेका अध्यक्ष सागर ज्ञवालीले कारागार प्रमुख अर्जुन जंग शाहलाई पुस्तक हस्तान्तरण गरेका हुन् ।

महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष शालिक सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा कारागारका कैदीबन्दीहरूका लागि ज्ञानमूलक पुस्तक प्रदान गरिएको जिल्ला सचिव मोहन चन्दले जानकारी दिए । कानुन सम्बन्धी ऐतिहासिक, धार्मिक, राजनीतिक तथा विभिन्न ज्ञानमूलक ३ सय ५० बढी पुस्तक कारागारमा रहेका कैदीबन्दीहरूको अध्ययनका लागि हस्तान्तरण गरिएको हो ।

‘कारागार भित्र अध्ययन मार्फत सकारात्मक रूपान्तरणका लागि सहयोग पुगोस् भन्ने हाम्रो उद्देश्य हो’, अध्यक्ष ज्ञवालीले कार्यक्रमको उद्देश्यबारे दैनिक नेपालगन्जसँग भने, ‘यसले पठन संस्कृतिको विकास पनि गर्छ भन्ने हाम्रो विश्वास हो ।’

कार्यक्रममा पूर्व अध्यक्ष महासंघका संस्थापक जिल्ला अध्यक्ष, पूर्व अध्यक्षहरू, जिल्ला कार्यसमितिका पदाधिकारी, सल्लाहकार, योग गुरुबाट गिरिराज भट्टराई लगायतको सहभागिता रहेको सचिव मोहन चन्दले जानकारी दिए । कार्यक्रममा पूर्व अध्यक्ष नारायण ज्ञवाली, हेमराज पौडेल लगायतले कार्यक्रमको प्रशंसा गर्दै सिर्जनशील गतिविधिमा जोड दिए ।

प्रतिक्रिया

प्रतिक्रिया