सेनाद्धारा जेष्ठ नागरिक तथा बालबालिकालाई भोजन


रुपनी जि एम
नेपाली सेनाद्धारा बाँकेका जेष्ठ नागरिक तथा बालबालिकाहरुलाई खाना खुवाईएको छ । नेपालगञ्ज उप महानगरपालिका ९ शान्तिनगर स्थित नीलसागर सेवा आश्रममा रहेका जेष्ठ नागरिक तथा बालबालिकाहरुलाई राँझा स्थित श्री नं. ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका बाहिनीपति सहायक रथी प्रकाश थापा र श्री बज्रदलगणका गणपति रविन श्रेष्ठको नेतृत्वमा नेपाली सेनाको टोलीले मंगलबार खाना खुवाएको हो ।

उक्त आश्रममा रहेका दुई सय २३ जना जेष्ठ नागरिक तथा बालबालिकाहरुलाई सेनाले खाना खुवाएको नील सागरका अध्यक्ष सरिता खनालले जानकारी दिनुभयो । उहाँका अनुसार सेनाले खानासँगै जाडोमा लगाउने लत्ताकपडा र खाद्यान्न वितरण गरेको थियो ।

‘सेनाले हाम्रो आश्रममा रहनु भएका आमाबुवा र बालबालिकाहरुलाई बिहानको एकछाक खाना खुवाउनु भनेको हाम्री प्रति नेपाली सेनाको माया र सम्मान झल्किएको छ ।’ अध्यक्ष खनालले भन्नुभयो,‘खानासँगै सेनाले जाडो महिनामा लगाउने लत्ताकपडा र खाद्यान्न समेत वितरण गरेको हुँदा यस्ले हामीलाई धेरै नै राहत पुर्याएको छ ।’

सहायक रथी थापाले सेनाले राष्ट्रको सेवासँगै सामाजिक सेवामा पनि योगदान पुर्याउँछ भन्ने उद्येश्यले एक दिने दिवा भोज कार्यक्रम गरिएको बताउनुभयो । उहाँले ‘जस्को कोही हुँदैन उस्को साथमा नेपाली सेना सधैं रहन्छ ।’ भन्दै आश्रममा रहनु भएका साहाराबिहीन जेष्ठ नागरिक र बालबालिकाहरुलाई एक्लो महसुस नगर्न आग्रह गर्नु भएको थियो । बाहीनीपति थापाले आफैले नै जेष्ठ नागरिक र बालबालिकाहरुलाई भोजन खुवाउनुका साथै लत्ताकपडा वितरण गर्नु भएको थियो ।

नेपालगञ्जमा ८ वर्षदेखि सञ्चालन हुँदै आएको उक्त आश्रममा हाल ६३ जना बालबालिका र एक सय साठी जना जेष्ठ नागरिक बस्दै आउनु भएको छ । दाताहरुको सहयोगमा चलिरहेको सो आश्रममा सडक बालबालिका तथा वृद्धाहरुलाई ल्याएर राखिने गरिन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया