३३औँ प्याब्सन स्थापना दिवसमा आयोजित विज्ञान प्रदर्शनी

३३औँ प्याब्सन स्थापना दिवसका अवसरमा आयोजित विज्ञान प्रदर्शनीमा कोहलपुर–२ स्थित गोरखा युनाइटेड पब्लिक स्कुल प्रथम भएको छ । विज्ञान प्रदर्शनीमा गोरखाका विद्यार्थीहरूले प्रदर्शन गरेको थियो। प्रोजेक्टले प्रथम स्थान हासिल गरेको हो । त्यसैगरी, नेपालगन्ज उपमहानगरपालिका–१८ स्थित स्प्रिङ डेल स्कुल दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । नेपालगन्जकै जयबागेश्वरी सेकेन्डरी स्कुलले विज्ञान प्रदर्शनीमा तेस्रो स्थान हासिल गरेको छ ।

गोरखाका कक्षा ११ का विज्ञान संकायका मिलन रिजाल, विपुल आचार्य, जनश शाहीलगायतका विद्यार्थीहरूले प्रदर्शन गरेको प्रोजेक्टले प्रथम स्थान हासिल गरेको हो । स्प्रिङ डेलका नियल पौडेल क्याप्टेन रहेको विद्यार्थीहरूको टोलीले प्रदर्शन गरेको ‘मोडर्न फाम हाउस युज अल्टरनेटिभ सोरसेस अफ इनर्जी’ विषयक प्रोजेक्टले दोेस्रो स्थान हासिल गरेको थियो । प्रदर्शनीमा स्प्रिङका विद्यार्थीहरू सुशान्त शर्मा, आर्यन वली, जयन्द्र सिजापति, चिराग सुबेदी, रिदम शर्मा, अंकित गुप्ता, सुभम यादव, सुभास विष्ट र करण साहु सहभागी थिए ।

त्यसैगरी, तेस्रो स्थान ल्याएको नेपालगन्ज–२ स्थित जयबागेश्वरी सेकेन्डरी स्कुलका शिवम यादव क्याप्टेन रहेको विद्यार्थी टोलीमा वीर गुप्ता, एन्जल बोगटी, श्रेया श्रेष्ठ र अंकित अधिकारी सहभागी थिए । उनीहरूले स्मार्टसिटी र फोहोरमैला व्यवस्थापन र बिजुली उत्पादनसम्बन्धी प्रोजेक्ट प्रदर्शन गरेका थिए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बाँकेले मंगलबार आफ्नो ३३औं स्थापना दिवसका अवसरमा विज्ञान प्रदर्शनी प्रतियोगिता आयोजना गरेको हो । सो अवसरमा प्याब्सनमा आबद्ध बाँकेका प्रत्येक विद्यालयबाट एक जना शिक्षकलाई सम्मानसमेत गरिएको थियो । यसअघि आयोजित विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीलाई समेत सो अवसरमा पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया