बाल बन्दीहरु तरकारी खेतीमा व्यस्त

रुपनी जि एम

‘तरकारी खेती गर्न थालेदेखि हामी यसैको मलजल र गोडमेलमा यति व्यस्त हुन्छौं की हामीलाई दिन बितेको पत्तै हुँदैन ।’ यो भनाई हो बाँकेको डुडुवा गाउँपालिका ६ असमानपुर स्थित जयेन्दु बालसुधार गृहमा रहेका बाल बन्दीहरुको ।

पहिला पहिला उठ्ने बित्तिकै झुण्ड बनाएर गफिने बाल विजयीकर्ताहरु यतिबेला बालसुधार गृहमा खेरा गईरहेको खाली जमिनलाई खनजोत गरी तरकारी उमार्नमा व्यस्त देखिन्छन् । यसै वर्षदेखि हिउँदे खेती गर्न शुरु गरेका बाल बन्दीहरुले सुधार गृह भित्रकै खाली जमिनमा तरकारी लगाएका छन् ।

‘पहिला पहिला बिहान उठ्यो, साथीहरुसँग गफियो, खाना खायो, दिनभरी सुत्यो फेरी साँझको खाना खायो अनि फेरी सुत्यो यसैगरेर समय बित्ने गथ्र्यो ।’ एक बाल बन्दीहरुले भन्नुभयो,‘अहिले उठ्ने बित्तिकै सुधारगृह वरपर सरसफाई गर्दै तरकारी बारीमा गएर तरकारी गोडमेल गरेर समय बित्ने गर्दछ ।’

अर्का एकजना १६ वर्षका बाल बन्दीले भन्नुभयो,‘पहिला पहिला हामीलाई खेल्ने वातावरण थिएन । तर अहिले हामीले बाजी लगाएर विभिन्न खेल खेल्ने गर्छौं ।’ उहाँले भन्नुभयो,‘हार्नेले जित्नेलाई मासु खुवाउँछन् । मासु खान पाईन्छ भनेर पनि खेलमा भाग लिन मन लाग्छ । कहिले जित्छु, कहिले हार्छु ।’ पहिलाको तुलनामा हिजोआज जयेन्दु बाल सुधार गृह निकै शान्त र घर जस्तै सुरक्षित भएको उहाँले बताउनुभयो ।

उक्त जयेन्दु बालसुधार गृहका चौकीदारले बाल बन्दीहरुलाई बाँडफाँड गरी काम गर्न र विभिन्न प्रकाका खेलमा भाग लिन सहज होस् भन्ने उद्येश्यले बाल क्लब गठन गरिएको बताउनुभयो । उहाँका अनुसार उक्त सुधार गृहमा सगरमाथा, धौलागिरी, कञ्चनजँघा, माछापुच्छ्रे, गोदावरी, वागेश्वरी, असमानपुर, हिर्मीनियाँ, राप्ति र भेरी गरी दश ओटा बाल क्यलब गठन गरिएको छ ।

एउटा बाल क्लबमा १७ देखि १८ जनासम्म बाल बन्दीहरु रहेकाछन् । क्लबमा आवद्ध बाल बन्दीहरुले पालैपलौ आफुले पाएको जिम्मेवारी पुरा गर्ने गरेको चौकीदारीको भनाई छ । उहाँका अनुसार क्लवमा आवद्ध बाल बन्दीहरुले बिहान साढे पाँच बजे सुधार गृह भित्रको सरसफाई गर्नुहुन्छ भने साढे नांै बजेदेखि बाहीरी भागको सरसफाई गर्नुहुन्छ । क्लवको पालो अनुसार तरकारी र खेतबारीको पनि गोडमेल गर्ने गरेको चौकीदारको भनाई छ ।

उक्त बालसुधार गृहको प्रमुख बिमला काउचा मगरका अनुसार बाल बन्दीहरुले आलु, गोभी, प्याज, मुला, साग, केराउ लगायतका हिउँदे तरकारी लगाएर आफ्ना दैनिकीलाई व्यस्त बनाएका छन् । सुधार गृहका प्रमुख काउचा मगरका अनुसार बाल बन्दीहरुले उब्जाएको तरकारी बारीमा पहिले फोहर र झाडी उम्रने गर्दथ्यो ।

‘पहिला यो ठाउँमा फोहर र ठूलाठूला बुट्यानका झाडी उम्रन्थ्यो । अहिले त्यही ठाउँमा हिउँदे तरकारी लगाएर तरकारी टिपेर खान मिल्ने बनाउनु भएको छ ।’ उहाँले भन्नुभयो,‘ बाल बन्दीहरुका लागि आयमुलक काम र शिपमुलक कुनै तालिमको ब्यवस्था नभएको बेला उहाँहरुले लगाएको तरकारी खेतीले सुधार गृहको सुन्दरता र सरसफाईमा मद्दत पुग्नुको साथै उहाँहरुको दैनिकीलाई पनि व्यस्त राखेको छ ।’

गत २०८० असोज ४ गते बालसुधार गृहमा भएको तोडफोड र आगजनीको घटनापछि १६ जनालाई कर्तब्य ज्यान मुद्दा चलाइएको थियो भने केहीलाई कारागार ऐन अन्तरगतको अभियोग लगाई मुद्दा चलाइएको बालसुधार गृहले जनाएको छ ।

उक्त घटनापछि घटनामा संलग्न केही बालकहरूलाई बालसुधार गृह नौवस्तामा सारिएपछि अहिले बालसुधार गृह आसमानपुरमा रहेका बालकहरू मिलेर बसेको सुधार गृहका इन्चार्ज बिमला काउचा मगरले बताउनुभयो । ‘यस अघि आन्तरिक झगडाका कारण तोडफोड भईरहने उक्त बालसुधार गृह हिजोआज शान्त छ ।’ उहाँले भन्नुभयो ।

आन्तरिक झगडा गरेर बालसुधार गृहमा हिंसात्मक गतिविधि गर्ने बाल बन्दीहरुलाई नौबस्ताको क्षेत्रीय कारागारको बालसुधार गृहमा सारेपछि जयेन्दुमा रहेका बालकहरू मिलेर बस्न थालेको सुधार गृहका प्रमुख काउचा मगरको भनाई छ ।

जयेन्दु बालसुधार गृहमा हाल २ सय ९ जना कानूनी बिवादमा रहेका बालकहरू रहेको पाईएको एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले जानकारी दिनुभयो । २ सय ९जना मध्ये ३ जना भारतीय बालकहरू रहेका छन् ।

उहाँका अनुसार १४ देखि १५ बर्षसम्मका २९ जना, १६ देखि १८ बर्ष सम्मका बालक संख्या ८६ जना, १८ बर्ष माथीका ९४ जना रहेका छन् । जसमध्य पुर्पक्षका लागि रहेका १ सय २२ जना र फैसला भइसकेका ८७ जना बाल बन्दीहरु उक्त बाल सुधार गृहमा रहेकाछन् ।

गत असोज ४ गतेको गरिएको तोडफोड र आगजनीको घटनामा झ्याल, ढोकाहरु फोडिएको हुनाले चिसो हावा कोठामा छिरेकाले पुसको चिसोमा बसाईको समस्या भएको, गाडी बिग्रीएकाले अदालत, स्वास्थ्य उपचारका लागि जान अस्पताल जान समस्या भएको हुँदा यी समस्य समाधानका लागि सम्बन्धित निकायलाई सहयोग गरीदिन आग्रह गरेका छन् ।

उता क्षेत्रीय कारागार नौवस्तामा रहेको बालसुधार गृहमा हाल १ सय २६ जना बालकहरू रहेका छन् । उक्त स्थानमा हाल पर्साबाट १५, हेटौडाबाट १८, रूपन्देहीबाट १४ र बाँकेको आसमानपुर बाल सुधार गृहबाट ७९ बालकहरूलाई लगिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया