शिक्षालाई व्यवसायीकरण गर्नुपर्नेमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको जोड

भावुक योगी

बर्दियाको ठाकुरबाबा नगरपालिका ३, बगनाहा जुड्पानीमा रहेको चुरे माध्यमिक विद्यालयले स्वर्णमहोत्सव मनाएको छ । विक्रम संवत् २०३० पुस ३ गते निम्न माध्यमिक विद्यालयका रुपमा सञ्चालन भएको ५० वर्ष पुगेको अवसरमा विद्यालयले विविध कार्यक्रमसहित स्वर्णमहोत्सव मनाएको हो ।

बर्दिया जिल्लाकै अग्रणी शैक्षिक संस्था चुरे माविको ५० औँ वार्षिकोत्सवमा अवसरमा मंसिर २७ गतेदेखि विविध कार्यक्रमका साथ सुरु भएको स्वर्ण महोत्सव कार्यक्रम मंगलबार विविध कार्यक्रमको आयोजना गरि सम्पन्न भएको हो ।

स्वर्णमहोत्सवको स्वर्णमहोत्सव कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वर्ण जयन्ती स्तम्भको अनावरण गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री चौधरीले उत्पादन मूलक र रोजगार मूलक शिक्षा आजको आवश्यकता रहेको बताउँदै समाजको भविष्य कस्तो हुन्छ भन्ने कुरा आज दिइरहेको शिक्षाले निर्धारण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “शिक्षा बिनाको समाज कल्पना पनि गर्न सकिँदैन, समाज रूपान्तरणका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ ।”

शिक्षा क्षेत्रमा राजनीति भएको, शिक्षक राजनीतिमा बढी केन्द्रित भएको र शिक्षा अनुत्पादक भएको टिप्पणी हुने गरेको पनि मुख्यमन्त्री चौधरीले बताउनुभयो । शिक्षा र शिक्षक माथि उठ्ने गरेका प्रश्नको निराकरणका लागि तीनै तहका सरकार योजनाबद्ध तरिकाबाट अगाडी बढ्नु पर्ने आवश्यकता रहेको समेत उहाँले बताउनुभयो ।

शिक्षाले कुुशल वैज्ञानिक, कुशल प्रशासक, कुशल राजनीतिज्ञ, कुशल कृषक र कुशल शिक्षक जन्माउने भएकाले शिक्षामा शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने मुख्यमन्त्री चौधरीले बताउनुभयो । अहिले शिक्षाको नाममा व्यापार बढी भईरहेको बताउँदै शिक्षालाई आवश्यकता अनुसार व्यवसायीकरण गरेर अघि बढ्नु पर्नेमा मुख्यमन्त्री चौधरीले जोड दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै चुरे माध्यमिक विद्यालयका पूर्व विद्यार्थीसमेत रहनुभएका ठाकुरबाबा नगरप्रमुख तिलकराम लम्सालले विद्यालयलाई यहाँसम्म ल्याई पुर्‍याउन सहयोग गर्ने सम्पूर्णलाई आभार व्यक्त गर्नुभयो । विद्यालयलाई अझै अगाडी बढाउनका लागि सबैको साथ र सबैमा सौहार्दता पूर्ण सम्बन्ध रहि रहनुपर्ने बताउँदै सबैलाई सहकार्य गरेर अगाडी बढ्न पनि आग्रह गर्नुभयो ।

फरक प्रसंगमम बोल्दै ठाकुरबाबा नगर प्रमुख लम्सालले ठाकुरबाबा लुम्बिनी प्रदेशको पुछारको पालिका भएपनि पर्यटकीय सम्भावनाको हिसाबले धेरै सम्भावना भएको पालिका भएको र यस क्षेत्रका स्थानीयहरूको जीवनस्तर उकास्नका लागि आवश्यक आर्थिक नवप्रवर्तनका कार्यक्रमहरू सञ्चालन गर्न प्रदेश सरकारसँग अनुरोध गर्नुभयो ।

५० औँ वार्षिकोत्सवको अवसरमा विद्यालयले ‘चुरे स्वर्णोत्सव स्मारिका २०८०’ समेत प्रकाशन गरेको छ । स्मारिकामा विद्यालय स्थापनाको कालखण्डदेखि वर्तमानसम्मका कुराहरू, विद्यालयका शिक्षकहरूको स्मरण, विद्यालयका विषयसँग सम्बन्धित लेख रचनाहरू समावेश गरिएको विद्यालयका प्रधानाध्यापक राजेशकुमार यादवले बताउनुभयो । विद्यालयको अभिलेख अनुसार क्षेत्रिय शिक्षा निर्देशनालयबाट चुरे निम्न माध्यमिक विद्यालयको रुपमा २०३० फाल्गुन १२ गते विद्यालयले सञ्चालनको अनुमती पाएको हो ।

स्वर्णमहोत्सवमा रक्तदानको आयोजना, १३५ पीन्ट रगत संकलन

चुरे माध्यमिक विद्यालय, बगनाहाको ५०औँ वार्षिकोत्सव समारोहको अवसरमा ‘रक्तदान, जीवनदान’ नारासहित दशौँ बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

ठाकुरबाबा नगरपालिका, सैनवारको आयोजनामा नेपाल स्वयम्सेवी रक्तदाता समाज, ठाकुरबाबा नगर समिति एवम् जिल्ला शाखा बर्दियाको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र नेपालगञ्ज, बाँकेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

सम्पन्न बृहत रक्तदान कार्यक्रममा १०४ जना पुरुष र ३१ जना महिला गरी १३५ जनाले रक्तदान गरेको गरेका छन् । दशौं बृहत रक्तदान कार्यक्रममा बाँकेका बरिष्ट रक्तदाता तथा नेपाल स्वयम्सेवी रक्तदाता समाजका केन्द्रिय सदस्य पवन जैसवालले ९९औँ पटक रक्तदान गर्नुभयो ।

यस्तै बर्दियाका बरिष्ट रक्तदाता तथा नेपाल स्वयम्सेवी रक्तदाता समाज बर्दिया शाखाका अध्यक्ष प्रेम प्रसाद लम्सालले ६७ औँ पटक रक्तदान गर्नुभएको छ ।

शरीरमा हरेक ३ महिनामा नयाँ रगत उत्पादन हुने र शरीरमा आवश्यकता भन्दा बढि भएको रगत आफै नष्ट भएर जाने हुँदा रक्तदान गरि आर्थिक अवस्था कमजोर भएका कारण जीवन र मृत्युसँग लडिरहेका बिरामीहरुलाई नयाँ जीवन दिन बर्दियाका बरिष्ट रक्तदाता प्रेम प्रसाद लम्सालले सबैलाई आग्रह गर्नुभयो ।

पछिल्लो समय थारु समुदायमा बढी देखिएको सिकलसेल ऐनिमिया तथा थालेसेमियाका बिरामीहरुलाई रगतको बढि आवश्यकता हुने भएकाले पनि रक्तदान गरी जीवनदान गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

प्रतिक्रिया