पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि गर्दै नाट्टा

सजल गैरे

पश्चिमका विभिन्न जिल्लाका आकर्षक गन्तव्यहरुलाई प्याकेज बनाएर व्यवसाय गर्न नेपाल एशोसियसशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) बाँकेले आफ्ना सदस्यहरुका लागि क्षमता अभिवद्धि गर्न थालेको छ ।

धराशयी भएको पर्यटन व्यवसायलाई पूनरुत्थान गर्न गन्तव्यहरुको प्रोडक्ट बनाएर बेच्नु पर्यो भन्ने ध्येयलेनैे तालिम आयोजना गरिएको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

अध्यक्ष सिग्देलका अनुसार, तालिममा बाँकेका ट्राभल्स एजेन्सी, होम स्टे, साना तथा ठुला होटलका जनशक्ति, पर्यटनका बारेमा अध्ययन गरिरहेका विद्यार्थी, होटल व्यवस्थापनका विद्यार्थी सहभागी छन् ।

अध्यक्ष सिग्देलले पर्यटनका क्षेत्रमा काम गरिरहेका जनशक्तिलाई क्षमतावान बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको जानकारी दिंदै आन्तरिक तथा वाह्य पर्यटनका लागि नयाँ गन्तव्यको खोजीसँगै त्यसको प्रवद्र्धन थालिएको बताए ।

शनिवारमात्रै नेपालगन्जबाट नरैनापुरस्थित चुरे पहाडको चुचुरोमा रहेको सन्तानेश्वर महादेव मन्दिरमा सामुहिक यात्रा आयोजना गरेको नाट्टाले सय बढी विभिन्न क्षेत्रलाई हाइकिङ गराएको थियो । त्यसैगरि अब व्यवसायिक प्याकेज बनाउन क्षमता अभिवृद्धि गराउन लागिएको नाट्टा बाँकेले जनाएको छ ।

आइतबार पाँच दिने तालिमको नेपालगन्ज उप–महानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्दै पश्चिम नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान रहेको धारणा राखे । नाट्टा बाँक पर्यटन क्षेत्रलाई व्यवसायिक बनाउन आयोजना गरेको क्षमता अभिवृद्धि तालिम महत्वपूर्ण हुने नगर प्रमुख विष्टको विश्वास थियो ।

नाट्टा बाँकेका महासचिव झविलाल शर्माका अनुसार, तालिममा नाट्टाका केन्द्रिय महासचिव कुमार थपलिया, तालिम संयोजक युविका भण्डारी, बाँके च्याप्टरका उपाध्यक्ष डिल्ली रेग्मी लगायतले बोलेका थिए । नाट्टा केन्द्रिय महासचिव थपलियाले तालिमको उद्देश्य र आवश्यकता बारे प्रकाश पारे ।

प्रतिक्रिया

प्रतिक्रिया