नेपालगन्जका वडा–वडामा भुकम्प सचेतना

भूकम्पको जोखिममा रहेको नेपालगन्ज उपमहानगरपालिकाका वडास्तरमै सचेतना थालिएको छ । नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले वडास्तरमै भुकम्पबारे सचेतना थालेको हो ।

त्यसका लािग विहीवार वडा नम्बर ८ र ११ का सरोकारवालासंग वडास्तरमा विपद् व्यवस्थापनमा गर्न सकिने गतिविधिका बारेमा छलफल एवं अभिमुखीकरण गरेको सुपरले सहभागीहरुलाई घरघरमै गएर सचेतना फैलाउन आग्रह गरेको छ । ‘उहाँहरुको त्यसमा महत्वपूर्ण भूमिका हुनेछ,’ आपतकालीन कार्य संचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले सबै घरमै पुग्न सरकारी प्रतिनिधि वा परियोजना सम्भव नभएकाले प्रतिनिधिमार्फत घरदैलोमै सचेतना अभियान पु¥याइने बताए । ‘जारजकोट–रुकुम घटनापछि यसको महत्व र संवेदनशीलता अझै बढेको छ,’ उनले भने ।

वडा अध्यक्ष, वडा सचिव लगायत सहभागी कार्यक्रममा युनिसेफका नरेश निदालले भूकम्पको जोखिम, जोखिम न्यूनीकरणका लागि सुपरले गरिरहेका गतिविधि, सरोकारवालाको चासो र सक्रियता, नागरिक दायित्व लगायतका विषयमा प्रस्तुतिकरण गरे । उनले हरेक वडाले पहिलो कामको रुपमा जोखिम नक्सांकन गर्नुपर्ने बताए । निदालले जोखिम नक्सांकनपछि मात्र भूकम्पीय पूर्व तयारी र प्रतिकार्यका लागि कार्ययोजना बनाएर अघि बढ्न सक्ने बताए ।

आपतकालीन कार्य संचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले वडास्तरमा विपद व्यवस्थापनमा गर्न सकिने गतिविधिका बारेमा प्रस्तुतिकरण गरेका थिए । ज्ञवालीले वडा स्तरमा विपद व्यवस्थापन समिति गठन, विपद पूर्व तयारी र प्रतिकार्य कार्यदल गठन, दक्ष जनशक्ति उत्पादन र परिचालन, खोज उद्दारमा सामान खरिद र भण्डारण, विपद व्यवस्थापन कोष स्थापना, विमा कार्यक्रम लागू, खुला स्थानको पहिचान लगायतका गतिविधि वडास्तरमा हुनुपर्ने बताए । उनले सुरक्षित संरचनाले मात्र भूकम्पको जोखिम टर्न सक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

नेपालगन्ज उपमहानगरपालिकाका विपद् समिति संयोजक एवम् वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, वडा नम्बर ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यप, वडा नम्बर ८ का वडा अध्यक्ष रजनीश वाजपेयी (विवेक) ले भूकम्पको जोखिम कम गर्न आवश्यक पूर्व तयारी र सावधानीका लागि तदानुरुपका क्रियाकलाप संचालन गर्ने बताउँदै नागरिक स्तरमा सचेतता अभिवृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सदरलाइन शाखाका सभापति ओमप्रकाश आजादले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि नेपालगन्जमा भइरहेका प्रयास सराहनीय रहेको बताए ।

विशेषतः नेपालगन्जका वडा नम्बर ३ र ७ अझ बढी जोखिममा छन् । पश्चिम नेपालमा ठूलो भूकम्प जान सक्ने प्रक्षेपणपछि नेपालगन्जमा पूर्व तयारी स्वरुप सचेतनासंगै विभिन्न कामहरु भइरहेका छन् । जोखिमयुक्त ठाउँहरुको नक्सांकन गरेर सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ । त्यसका लागि वडा नम्बर ३ र ७ लाई छनोट गरी पूर्व तयारीका कामहरु भइरहेका हुन् । यसका अलावा अन्य वडाहरुमा पनि सचेतीकरणका कार्यक्रम भइरहेको सुपरले जनाएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा सिडिएम र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर)ले नेपालगन्जमा काम गरिरहेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया