लायन्स भन्छ, ‘हामी पुनःनिर्माणमा सहकार्य गछौंं’

भूकम्प प्रभावित क्षेत्रमा १७ लाखबढीको आपतकालीन राहत वितरण, एक करोडबढीको अर्काे पहल

लायन्स क्लब इन्टरनेशनलले जाजरकोट र रुकुमका भूकम्प प्रभावित सहयोगका लागि वृहत अभियाननै थालेको छ ।


१७ लाख बराबरको आपतकालीन राहत वितरण गरेको जनाएको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनले भुकम्पपछिको महत्वपूर्ण पक्ष रहेको पुनःनिर्माणमा चासो राखेको छ ।

‘सरकारले दियो भने हामी विशेषतः पुनः निर्माणमा हातेमालो गर्न चाहन्छौं,’ लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ’एन’ का डिष्ट्रिक गभर्नर मुकुट ढकालले भने, ‘त्यसका लागि देशका झण्डै ५० हजार लायन्स एक ढिक्का भएका छौं ।’


लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ’एन’ ले बुधवार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर लायन्सको चासो र योजनालाई सार्वजनिक गरेको हो ।


नलगाड नगरपालिका वडा नम्बर १ को चिउरी वस्ती, भेरी नगरपालिका वडा नम्बर १ को राउत गाउँ, पिपे, रिम्रा र कोल्चौरमा ५ सय जनालाई १७ लाख बराबरको आपतकालीन राहत वितरण गरेर फर्किएपछि डिष्ट्रिक गभर्नर ढकालले विपदका बेला लायन्स सधैं अगाडी रहेको सिद्ध भएको बताए ।


लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ’एन’ ले जाजरकोटमा त्रिपाल, बल्यांकेट, चामल, म्याट, खाने तेल, दाल, पिठो, नुन, फ्रुटी, चिउरा, भुजा, बिस्कुट, पी–फर्म, टोपी, जुत्ता, चप्पल, औषधि आदि वितरण गरेर फर्किएको जनाएको छ ।


पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, भूकम्प आएको भोलिपल्टै कार्तिक १८ गते पहिलो चरणमा तत्कालै नेपालगन्जबाट डिष्ट्रिक ३२५ ’एन’ का डिष्ट्रिट गभर्नर ढकाल र सुर्खेतबाट डिष्ट्रिक्क एकज्यूटिभ चिफ टिकाराम चपाईको नेतृत्वमा गएको टोलीले १७ लाख बराबरको आपतकालीन राहत वितरण गरेको हो ।


यस्तै कार्तिक २१ गते डिष्ट्रिक्ट ३२५ ’के’ को टिम जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नम्बर ३ मा १ सय २५ जनाको लागि त्रिपाल र बल्यांकेट लिएर प्रस्थान गरेको ढकालले जानकारी दिए ।

‘बुधबार पनि डिष्ट्रिक ३२५ ’एम’ बाट स्याङ्जाको टिम पश्चिम रुकुमको आठविसकोट नगरपालिका क्षेत्रमा १०० परिवारको लागि आवश्यक सामग्री लिएर गएको छ,’ लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ’एन’का गभर्नर ढकालले भने ।


नेपाल सरकारको एकद्वार प्रणाली नीति अनुरुप समग्र नेपालभरिका लायन्सहरुको सहयोगलाई एकीकृत गरि डिष्ट्रिक ३२५ ’एन’ को नेतृत्वमा वितरण गर्ने योजना अनुसार काम भइरहेको जानकारी दिंदै ढकालले भने, ‘अब तिहार लगत्तै दोस्रो चरणको राहत वितरण गर्ने तयारीमा जुटेका छौं ।’ उनका अनुसार, त्यो राहत प्याकेज १ करोड बराबरको हुनेछ ।

‘राहत प्याकेज नै बनाएर कम्तिमा एक परिवारलाई एक महिनासम्म पुग्ने आवश्यक सम्पूर्ण राहत सामग्री वितरण गर्ने’ योजना सुनाउँदै ढकालले भने, ‘त्यसका लागि आवश्यक समन्वय र सहकार्यका लागि स्थानीय प्रशासनसँग समन्वय गरिरहेका छौं ।’ लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ’एन’को टोलीले बाँके प्रशासनसँग छलफल पनि गरिरहेको जनाएको छ ।


कार्यक्रममा लायन्स क्लबका पूर्व डिष्ट्रिक गभर्नर शेमराज शाक्यले लायन्स क्लब इन्टरनेशनलबाट ठुलो राहतको आशा गरिएको बताए । ‘हामी पुनः निर्माणका लागि जुटिरहेका छौं,’ शाक्यले भने, ‘सरकारले इजाजत दियो भने कम्तिमा एउटा गाउँवस्तीनै बनाउन साधनस्रोत जुटाउन सक्छौं ।’


लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ’एन’ का क्याविनेट सेक्रेटरी उमा थापामगरले सहजीकरण गरेको कार्यक्रममा डिजास्टर म्यानेजमेन्ट कोअर्डिनेटर कृष्ण प्रसाद श्रेष्ठ, लियोका डिष्ट्रिक प्रमुख विवेक श्रेष्ठ लगायतले अबका योजना बारे धारणा राखेका थिए ।


त्यसक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ‘एन’ यसअघि विपदमा गरेका सहयोगबारे पनि जानकारी दिइएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया