बुर्कामा सीमा पार…

मानव बेचबिखन विरुद्ध क्रियाशिल अभियानमा स्थानीय सरकारको सक्रिय भूमिकाको अपेक्षा गरिएको छ ।

शान्ति पुस्र्थापना गृहले नेपालगन्जमा आयोजना गरेको ‘बार्षिक सामाजिक लेखापरीक्षण’मा सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिहरुले मानवबेचबिखन न्यूनीकरणमा सचेतना महत्वपूर्ण पक्ष भएको भन्दै त्यसका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका खोजिएको हो ।


‘कानुनी उपायमात्रै खोजेर नहुने देखियो’, लामो समयदेखि मानवबेचबिखन विरुद्ध क्रियाशिल शान्ति पुनस्र्थापना गृहका राष्ट्रिय उद्दार संयोजक भूमिराज भट्टराईले सहभागीहरुलाई ध्यानाकर्षण गराउँदै भने, ‘त्यसलाई साझा समस्याका रुपमा लिएर सबैको संयुक्त प्रयासबाट मात्रै न्यूनीकरण सम्भव देखियो ।’


‘हामी सीमामा बसेर निगरानी गरिरहेका छौं’, संस्थाका सुपरभाइजर पार्वती चौधरीले फिल्डमा बसेर काम गरिरहँदाको अनुभव सुनाउँदै भनिन्, ‘बुर्का लगाएर सीमा आरपार गरिदिंदा हामीले आवश्यक सोधपुछ र चेकजाँचसम्म गर्न सक्दैनौं ।’ उनले संस्थाको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै पछिल्लो पाँच बर्षमा उद्दार गरिएका ४ हजार ४० जोखिमउन्मुख घटनाहरु मध्ये १ सय ६८ जनाले मात्रै मुद्दा दर्ता गराएको जानकारी दिइन् । उद्दार गरिएका मध्ये १ सय ८४ जना भारतबाट ल्याएको चौधरीले जानकारी दिइन् ।


कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र चौधरीले मानवबेचबिखनको घटनालाई आफुले गम्भीरतापूर्वक लिएको धारणा राख्दै छिट्टै जिल्ला समन्वय समिति गठन गरी त्यसमार्फत सचेतनाका काममा स्थानीय तहलाई परिचालित गरिने प्रतिबद्धता जनाए ।


नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले मानवबेचबिखन सचेतना सँग जोडिएको विषय भएकाले त्यसका लागि आफुहरु तयार रहेको बताए । ‘तपाईहरु नाकामा मात्र बसेर भएन, खुला सीमाना भएकाले समाजमै सचेत बनाउनु नै न्यूनीकरणको बलियो उपाय हुनसक्छ’, सीमावर्ती नेपालगन्ज–१५ का वडाध्यक्ष मदन विक्रम शाहले आयोजकलाई सुझाव दिंदै भने ।


बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले अधिकांस बेचबिखनका घटना कानुनी प्रक्रियामा नआउनुका तमाम कारणहरु औंल्याउँदै भने, ‘पीडित पहिचानमा हुने द्विविधा एउटा प्रमुख कारण हो ।’ उनको भनाइ थियो, पीडितको पहिचान नै कानुनी उपचारमा बाधक बनेको छ । प्रहरी प्रवक्ता डाँगीले मानवबेचबिखन विरुद्ध क्रियाशिल संघ, संस्थाहरुलाई सीमानाका मात्र नभई समाजमा पुगेरै आफ्ना अभियान चलाउन सुझाव दिए ।


अधिकांस वक्ताहरुले मानवबेचबिखन अभाव, अशिक्षा र अचेतनासँग जोडिएको विषय भएकाले सामाजिक सचेतनाका लागि सञ्चारमाध्यमसँग सहकार्य गर्न सुझाए । ‘सीमा मात्रै होइन समाजमै समस्या छ’, राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जका प्रमुख द्वारिका अधिकारीले भनिन्, ‘बेचबिखनको उच्च जोखिममा महिला र बालबालिका देखिएपनि अहिले युवा पनि बेचबिखनको चपटेमा पाइएको छ ।’


संस्थाका क्षेत्रीय कार्यक्रम संयोजक निर्मल सुवेदीले कार्यक्रमको सहजीकरण गर्दै अधिकांस पीडितहरु खुल्न नचाहँदा कानुनी उपचारमा बाधा पुगेको औंल्याए । त्यही धारणा संस्थाका प्रतिनिधि गंगा अधिकारीको थियो । ‘सबैको सामूहिक पहलबाट मानवबेचबिखनलाई न्यूनीकरण गर्न सम्भव छ’, सशस्त्र प्रहरी नायब उपरीक्षक विकास भक्त श्रेष्ठको भनाइ थियो ।


कार्यक्रममा गैसस महासंघका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, संस्थाका प्रतिनिधि दिपक लामिछाने लगायतले पनि प्रतिनिधित्व गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया