कोहलपुर गोल्डकपको फाइनलः कस्ले उचाल्छ उपाधि ?

कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० को उपाधिका लागि आज बुधवार त्रिभुवन आर्मी क्लब र चर्च व्वाइज भिड्ने भएका छन् ।


मंगलवार भएको पत्रकार सम्मेलनमा कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा हुने त्रिभुवन आर्मी र चर्च व्वाइजका कप्तानले आ–आफ्नो टिमले उपाधि जित्ने दावी गरे । त्यसका लागि आफुले जानको अनुभव र सिपको प्रयोग गरी प्रतिष्पर्धामा खरो उत्रिने उनीहरुको प्रतिबद्धता थियो ।


त्रिभुवन आर्मीका कप्तान भरत खवासले आफुले राष्ट्रिय खेलदेखि लिग हुँदै ‘ए’ डिभिजनका खेल खेलेको र आफ्नो टिमको कडा प्रदर्शन गर्ने बताए । आफ्नो टिममा २ जना राष्ट्रिय खेलाडी र अन्य स्थानिय खेलाडीहरु भएकोले उपाधि हात पार्ने खवास ढुक्क देखिन्थे ।


त्रिभुवन आर्मीका प्रशिक्षक आदर्श मल्लले आफ्नो पहिचान नभुल्ने बताए । ‘खेलमा रफ हुँदैन,’ मल्लले पत्रकारसँग भने, ‘अनुशासनमा रहेर खेल हुन्छ ।’ उनले कोहलपुरमा आफ्नो टिम ल्याउन र खेलमा सहभागी हुन पाउँदाको खुशी आयोजकसँग व्यक्त गरे ।

पत्रकारमाझै चर्च व्वाइजका कप्तान विकु राई पनि खुलेर प्रस्तुत भए । उनको प्रस्तुतिले देखाउँथ्यो, उपाधि लिनेमा ढुक्क छन् । राईले आफ्नो टिमले भनेजस्तो र सोचेजस्तो खेल परिणाम दिने दावी गरे ।


चर्च व्वाइजका प्रशिक्षक रुविन राईले प्रतियोगिताको उपाधि लिनकै लागि भन्दा पनि राम्रो प्रदर्शनका लागि आएको बताए । फाइनलसम्म पु¥याउनु नै ठुलो उपलब्धि मानेका राई भन्छन्, ‘अहिले सबै स्थानीय खेलाडी छन्, बाहिरी खेलाडी नभएकाले पुरै नयाँ टिम छ त्यसैले पनि म सन्तुष्ट छु ।’


प्रतियोगिता सुरु भएको पाँचौ दिनमा भएको खेलमा दुधौली स्पोर्टस् क्लब सिन्धुलीलाई (४—१) गोलको अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी फाइनल पुगेको हो । प्रतियोगिता सुरु भएको तेस्रो दिनमा भएको खेलमा चर्च व्वाइज यूनाइटेडले गोर्खा व्वाइजलाई (३—०) ले पराजित गर्दै फाइनलमा पुगेको थियो ।


प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस् क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली सहभागी थिए ।


प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाखसहित ट्रफी प्रदान गरिने आयोजक रेसिङ्ग सहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया