वेष्टर्न रियल स्टेटले हाउजिङ्गमा लगानी गर्ने भएको छ । यसका लागि पहिलो चरणमा ११ वटा आधुनिक शैलीका घर निर्माणका लागि आज शनिबार भूमि पुजन गरिएको कम्पनीका अध्यक्ष कोशलराज नेपालले जानकारी दिए ।
‘पहिलो चरणमा ११ वटा घर निर्माण गर्दैछौं’, अध्यक्ष नेपालले मध्यम परिवारका लागि उपयुक्त घर बनाउन लागिएको जानकारी दिंदै ६ महिनाभित्र घर तयार गरी हस्तान्तरण गरिने बताए ।
‘अब घडेरी मात्र होइन हामी घर नै उपलब्ध गराउने गरी योजना अघि सारेका छौं’, पहिलो चरणमा नेपालगन्ज–१९ स्थित सोल्टी होटल पूर्व आवासीय घर निर्माण कार्य सुरु गर्न लागिएको जानकारी दिंदै वेष्टर्न रियल स्टेटका वरिष्ठ सञ्चालक इश्वरी ज्ञवालीले भने, ‘कम्पनी निरन्तरताको २०औं बर्ष प्रवेश गरिरहँदा नयाँ र विशेष योजनाका साथ हामी अगाडि बढ्दै छौं ।’
कम्पनीका शेयर सदस्यहरु बीच अत्याधुनिक सुविधा सहितका आवासीय हाउजिङ्ग भवनहरु निर्माण कार्यका लागि शनिबार भूमि पुजन गरिएको वरिष्ठ सञ्चालक ज्ञवालीले जानकारी दिए ।
‘न्यूनतम ९ देखि १५ मिटरसम्म मोहडा भएका घडेरीमा ९ धुर देखि १ कठ्ठासम्मको क्षेत्रफल भित्र घडेरी व्यवस्थापन र हाउजिङ्गका लागि अलगअलग क्षेत्र निर्धारण गरी बस्ती विकास गरेका छौं’, वरिष्ठ सञ्चालक ज्ञवालीले भने, ‘अहिलेसम्म हामीले विकास गरेका घडेरीहरुमा बस्ती बसिसकेकाले नयाँ ठाउँमा हामी आफै बस्ती विकास गर्दैछौं ।
ज्ञवालीका अनुसार, शेयर सदस्य, लगानीकर्ता, शुभेच्छुकहरुबीच भूमिपुजन गरिएको हो । ‘मंसिरबाट निर्माणकार्य शुरु हुन्छ,’ उनले भने ।