बाँकेमा ट्राफिक सक्रियता : पर्वबीचपनि चेकजाँच र सचेतनासँगै

बाँके ट्राफिकले जिल्लाका विभिन्न ठाउँठाउँमा पुगेर ट्राफिक नियम कानुनसम्बन्धी सचेतना कार्यक्रम निरन्तर गरिरहेको जनाएको छ ।

‘दुर्घटना न्यूनिकरण रोक्न आवश्यक सचेतना र कारबाहीका लागि चेकजाँचलाई सँगसँगै अगाडी बढाएका छौं,’ शनिबार जिल्लाका विभिन्न स्थानमा सडक प्रयोगकर्ताहरूलाई ट्राफिक नियमसम्बन्धी विभिन्न सचेतना कार्यक्रम गरिएको जानकारी दिंदै जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले दैनिक नेपालगन्जसँग भने ।
पर्वका बेला राजमार्गमा कुनै ठुला दुर्घटना हुन पाएन । ‘पछिल्ला दुई दिनका दुर्घटनाले हामी चिन्तित छौं,’ जिल्ला ट्राफिक इञ्चार्ज सुवेदीले ट्राफिक नियम, सवारी दुर्घटना, सवारी दुर्घटना न्यूनीकरणका उपायहरू लगायतका विषयमा सचेतना प्रदान गरिएको जानकारी दिंदै भने, ‘सचेतना र चेकजाँका कारबाहीको क्रमलाई निरन्तर बढाउँदै लगिनेछ ।’


जिल्ला ट्राफिक कार्यालय बाँकेका अनुसार, लुम्बिनी प्रदेशस्तरीय ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत नेपालगन्जको फुल्टेक्रालगायत विभिन्न स्थान, कोहलपुरको हाइस्कूल, सम्झनाचोक, मदनचोक, बसपार्क, राप्तीसोनारीको कुसुम, नरैनापुरको भगवानपुरमा पुगी सडक प्रयोगकर्ता, सर्वसाधारण नागरिक, पैदल यात्रु, सवारीसाधनका चालक तथा सहचालकहरूलाई ट्राफिक नियमसम्बन्धी सचेतना प्रदान गरिएको छ ।


जिल्लाका विभिन्न स्थानमा दैनिकजसो सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिंदै जिल्ला ट्राफिक इन्चार्ज सुवेदीले सचेतना कार्यक्रमले सर्वसाधारण नागरिकहरू लगायत सरोकारवालाहरुमा ट्राफिक सम्बन्धी शिक्षाको ज्ञान भएको र यसले गर्दा दुर्घटनामा कमी आउनुका साथै अत्यन्तै सकारात्मक प्रभाव परेको पाइएको बताए ।


‘‘ट्राफिक प्रहरीले सवारी साधनले गल्ती गरेको अवस्थामा जरिवाना मात्र गराउने होइन, सम्बन्धित पक्षलाई ट्राफिक सम्बन्धी ज्ञान र सचेतना प्रदान गर्ने पनि हो,’ जिल्ला ट्राफिक प्रहरी प्रमुख सुवेदीले भने, ‘नागरिक सचेत भएपछि अटोमेटिक रूपमा सडक दुर्घटनामा कमी आउनुका साथै सवारी साधन लगायत सबै जनाले ट्राफिक नियमको पालना गर्नुहुन्छ ।’


जिल्ला ट्राफिक कार्यालय मातहतका समशेरगन्ज, कुसुम, फुलटेक्रा, सम्झना, भगवानपुरलगायतका पोष्टबाट जिल्लाका विभिन्न स्थानमा पुगेर ट्राफिक सचेतना प्रदान गरिएको बाँके ट्राफिकले जनाएको छ । दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि बाँके ट्राफिकले पछिल्लो समयमा जिल्लाका विभिन्न स्थानमा सरोकारवालाहरू बिच विभिन्न सचेतना कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ ।


पर्वपछि ट्राफिक व्यवस्थापनका विभिन्न योजनाहरु विस्तार गरिने जानकारी सुवेदीले दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया