म्याग्दीमा पालेका कालिजले पाएन बजार

कालिजले बजार नपाउँदा किसान निराश भएका छन् । बजार अभावमा कालिजपालन गरेका उद्यमीहरु विस्थापित हुन थालेका छन् । लागतअनुसार मूल्य र बजार नपाउँदा कालिजपालक किसान मर्कामा परेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीका अनुसार दुई वर्षअघि जिल्लाभर छवटा कालिज फार्म रहेकामा हाल एकवटा मात्र सञ्चालनमा रहेको छ । सञ्चालनमा रहेको हरियाली ग्रुपको फार्ममा पनि न्यून मात्रामा कालिज पालिएका छन् ।

तीन हजारभन्दा बढी कालिज पाल्न सक्ने क्षमता रहेको फार्ममा हाल दुई सय ५० वटाको हाराहारीमा कालिज रहेका हरियाली ग्रुपका महाप्रबन्धक गोविन्द पौडेलले जानकारी दिनुभयो । “सुुरुमा बजार र मूल्य राम्रो थियो, अहिले माग आउन र बजार पाउन छाडेपछि सङ्ख्या घटाएका छाँै,” उहाँले भन्नुभयो, “दानाको मूल्य महँगिने र लागतअनुसार मूल्य नपर्ने हुँदा कालिजपालन फस्टाउन सकेन ।” कालिजलाई वनखुकुरा भनेर चिन्ने गरिन्छ । ‘राउननेक’ जातको कालिज घरमा पाल्नलाई सरकारले अनुमति दिएको छ । पछिल्लो पटक संशोधित वन ऐनले कालिजको व्यावसायिक पालन गर्न सक्ने व्यवस्था गरेको छ । एकवटा भाले कालिजको मूल्य रु दुई हजार पाँच सयदेखि तीन हजार र पोथीको मूल्य रु दुई हजारदेखि दुई हजार एक छ । चल्लाको मूल्य प्रतिगोटा रु आठ सयदेखि रु आठ सय ५० छ ।

पाँच महिना पालेपछि दुई किलोभन्दा बढी तौल हुने कालिज मासुका लागि खानयोग्य हुन्छन् । म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटमा विसं २०७८ मा स्थापना भएको यमितादह कृषि तथा पशुपक्षी फार्ममा हाल एक हजार दुई सय गोटा बिक्रीयोग्य कालिज छन् । “दिनमा चार हजारको दाना खान्छ, पाँच महिनामा बिक्री गर्नुपर्ने कालिज एक वर्षमा पनि बिकेको छैन,” यमितादह कृषि तथा पशुपक्षी फार्मका कर्मचारी मनबहादुर पुनले भन्नुभयो, “गाउँघरमा यसको उपभोक्ता छैनन् । बजारमा कालिजको बिक्री घटेको छ ।”

सो फार्ममा बेलायतमा रहेका हर्कबहादुर पुनले रु ६० लाख लगानी गरेर तीन रोपनी जमिनमा कालिजपालन गर्नुभएको हो । कालिजको चल्ला उत्पादन गर्ने ‘ह्याचिङ’ मेसिन भए पनि चल्लाको माग नभएकाले मेसिन प्रयोग भएको छैन । कालिजले सामान्य कुखुराको जस्तै प्रोटिन बढी भएको दाना खाने गर्दछन् । कालिज बिक्री गराउन पोखरामा रेष्टुरेष्ट खोल्न लागेको पुनले बताउनुभयो । कालिज सुत्केरी र युरिक एसिड भएका लागि लाभदायक मानिन्छ । म्याग्दी र आसपासका क्षेत्रका किसानले उत्पादन गरेको कालिज खपत हुने बजार बेनी, गलेश्वर, तातोपानी, कुश्मा, पोखरा, जोमसोम र घोडेपानी हो । आन्तरिक पर्यटक कालिजका उपभोक्ता हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीका प्राविधिक गणेश रिजालले मानिसहरुको खर्च गर्ने क्षमतामा आएको कमीको असर कालिजपालनमा परेको बताउनुभयो ।

“उपभोक्ताहरुसँग पैसा धेरै हुँदा कालिज, च्याङ्ग्रा, खसी, बोकाको खपत धेरै थियो,” उहाँले भन्नुभयो, “पछिल्लो समय कालिजको मात्र नभएर खसीबोका, लोकल कुखुरा र च्याङ्ग्राको मासुको खपत पनि घट्न थालेको छ ।” धेरै समय कालिज पाल्दा दानामा लगानी बढ्ने भएकाले सुकुटी बनाउने, ‘डिपफ्रिज’ गर्ने र आन्तरिक बजारीकरण गर्नुपर्ने सुझाव किसानलाई पशु सेवा प्राविधिकहरुले दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया