भारतीय रुपैयाँको किनबेचमा भैरहेको अवैधानिक कारोबारबाट बिचौलिया भने मालामाल छन् । त्यस्ता बिचौलिया रुपैडिहामा छ्यापछ्याप्ती भेटिन्छन् भने नेपालगन्जसम्मै आएर रकम किनबेच गर्ने गरेका छन् ।
‘एकै जनाले ५० लाख भारतीय रुपैयाँ एकै दिन कारोबार गरेको जानकारी मलाई छ’, सब्जीमण्डीका एक व्यापारी भन्छन्, ‘अनुमान गर्नुस्, दैनिक उनले कति कमाए होलान् ?’ भारत रुपैडिहाबाट नेपाली रकम बोकेर आउने ती बिचौलिया नेपालगन्जबाट भारु बोकेर जान्छन् । प्रतिसय ३ देखि ५ रुपैयाँसम्म ‘बट्टा’ असुली गर्ने बिचौलियाले न त राज्यलाई कर तिर्छन् न त त्यसको कुनै वैधानिकता नै छ ।

तर, प्रहरी भन्छ निश्चित रकम भन्दा बढी नगद बोकेर हिड्नेलाई कानुनी कारवाही गर्छौं । अझ नगद बोकेर सीमाआरपार अझ ठूलो कारवाहीको व्यवस्था छ । ‘त्यो कारबाही व्यवस्था आम नागरिक र भारतबाट रोजगारी गरेर आउने नेपालीलाई मात्रै लागु भए जस्तो देखिन्छ’, बिचौलियाको कारोबारलाई नजिकबाट नियालिरहेका एक उद्योगपति भन्छन्, ‘खासगरी बैंकिङ्ग च्यानलबाट काम नगर्ने तथा अवैध कारोबार गर्नेहरुका लागि ती बिचौलिया अझ फाइदाका पात्र हुन् ।’ उनका अनुसार, नगद बोकेर आउने सामान्य नागरिक वा व्यापारीलाई भने प्रहरीले कानुनी कारवाहीको दायरामा ल्याउने गरेको छ ।
