समाचारदाता
दैनिक नेपालगन्ज
नेपालगन्ज लगायत सीमावर्ती नेपाली बजारमा भारतीय रुपैयाँको अवमूल्यनले रोजगारीका लागि भारत पुगेका नेपालीहरु मारमा परेका छन् ।
खासगरी छोटो समयका लागि मजदुरी गर्न जाने नेपालीहरुले नगद बोकेर फर्किदा भारतीय रुपैयाँको अवमूल्यनको मार खेप्नु परेको हो । सीमला, गुजरात, पञ्जाब, दिल्ली, मुम्बई लगायतका ठाउँमा पश्चिम पहाडका जिल्लाबाट छोटो समयका लागि रोजगारीमा जाने संख्या ठूलो छ ।
‘दशैं मनाउन फर्किएका नेपालीहरुमा यो समस्या अझ बढी पाइएको छ’, होटल व्यवसायी संघ बाँके नेपालगन्जका प्रवक्ता एकराज पाण्डेयले भने, ‘उनीहरुको पीडा न त राज्यले बुझ्यो, न त कुनै निकायले ।’ पाण्डेयका अनुसार, छोटो समयमा १२÷१५ हजार भारतीय रुपैयाँ लिएर आउने पहाडी जिल्लाका नेपालीहरु रकम साट्दा निकै मारमा पर्ने गरेका छन् ।
‘नेपालगन्जकै बजारमा किनमेल गर्दा पनि प्रति सय ७ रुपैयाँसम्म अवमूल्यन गरी कारोबार हुन्छ’, व्यवसायी भन्छन्, ‘हामीले पूरा मूल्य लिएर के गर्नु बिक्री नै कम दरमा हुने गरेको छ ।’ उनीहरुका अनुसार भारतीय रुपैयाँ एक सयको १ सय ६० रुपैयाँ हुुनुपर्नेमा बजारले १ सय ५३ रुपैयाँमा लिने, १ सय ५५ मा दिने गरेको छ ।
‘छोटा समयका लागि रोजगारीमा जाने नेपालीले भारतबाट बैंकिङ्ग पद्धतिमा रकम ल्याउन सक्ने अवस्था छैन’, ६ महिनामा सिमलामा रोजगारी गरेर फर्किएका सुर्खेतका एक युवा भन्छन्, ‘पहिलो कुरा कागज पत्र जुटाएर दिनै गाह्रो, दोस्रो कुरा रकम राख्ने र निकाल्ने प्रक्रियालाई निकै कडाई गरेकाले हामीलाई झन्झट हुने गर्छ ।’ उनका अनुसार, भारतीय रुपैयाँ सकभर अन्यत्र नजाओस् भन्ने दृष्टिकोणबाट भारत सरकारले बैंकिङ्ग पद्धतिमा निकै कडाई गरेको छ । ‘भारत भित्रै भने बैंकिङ्ग कारोबार निकै सहज र सजिलो बनाइदिएको छ’, उनी भन्छन्, ‘भारतीय नागरिक बाहेकलाई बैंकिङ्ग च्यानल सजिलो छैन ।’
त्यसकारणले नगद बोकेर आउने नेपालीहरुका लागि जोखिम पनि उत्तिकै छ । ‘त्यसैले कमाएको पैसाले सामान किनेर फर्किन्छौं’, सल्यानका एक अर्का युवाले सीमा प्रहरीमा चेकजाँच भैरहँदा दैनिक नेपालगन्जसँग भने, ‘हाम्रा बाध्यता कस्ले बुझिदिने, नगद ल्याउँदा चोरीको जोखिम, सामान ल्याउँदा चेकजाँचको हैरानी ।’ अझ पछिल्ला समयमा कमाएको पैसा अवमूल्यन हुँदा थप पीडा भोग्नु परेको उनीहरुको गुनासो छ ।