इजराइली सेनाले शुक्रबार गाजाका २३ लाख जनतामध्ये करिब आधालाई उक्त सहर खाली गर्न आदेश दिएको संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले बताएका छन् । इजराइलमाथि हमासको भयानक आक्रमणपछि हमास लडाकु समूहलाई निमिट्यान्न पार्ने लक्ष्यका साथ जमिन आक्रमण गर्नुअघि सेनाले उक्त आदेश दिएको हो । उक्त आदेशले यस अघिदेखि नै इजराइली हवाई हमला र नाकाबन्दीको सामना गरिरहेका सर्वसाधारण र सहायताकर्मीहरू आतङ्कित भएका छन् । इजराइली सेनाले गाजा सिटीका लाखौँ नागरिकलाई गहिरो दक्षिणी गाजापट्टी (साँघुरो तटीय क्षेत्र) तर्फ भाग्न चेतावनी दिँदै बिहान गाजा सिटी खाली गर्ने आदेश दिएको थियो । गाजा सिटीका सुरुङमुनि हमास लडाकुहरू लुकेर बसेको इजराइलको आदेशमा आरोप लगाइएको थियो ।

“यो निष्कासन तपाईं आफ्नै सुरक्षाका लागि हो”, गाजा सिटीका नागरिकहरूलाई पठाइएको चेतावनीमा इजराइली सेनाले भनेको छ । बिहीबार संयुक्त राष्ट्रसङ्घले इजराइली सेनाबाट न्युयोर्कमा उत्तरी गाजाका सबै ११ लाख सर्वसाधारणलाई दक्षिणतिर भाग्न २४ घन्टाको समय दिएको एउटा छुट्टै निर्देशन प्राप्त गरेको बताएको छ ।
सन् २००७ देखि गाजामा शासन गरेको हमासले उक्त आदेशलाई खारेज गरेको छ । उसले प्यालेस्टिनीहरूलाई आफ्नो घरमै रहन र कब्जा गरेर छेडिएको मनोवैज्ञानिक युद्धको सामना गर्न दृढ रहन आह्वान गरेको छ । “यो अराजकता हो, के गर्नुपर्ने कसैले बुझेको छैन”, गाजा सिटीमा संयुक्त राष्ट्रसङ्घ प्यालेस्टिनी शराणार्थी एजेन्सीकी अधिकारी इनास हमदानले भन्नुभयो । उहाँले गाजा सिटी र उत्तरी गाजामा रहेका राष्ट्रसङ्घका सबै कर्मचारीहरूलाई दक्षिणी रफाहमा जान भनिएको बताउनुभयो । –––