गृह मन्त्रालयले बाँकेका सुरक्षा अधिकारी फेरेको छ । प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख फेर्ने निर्णय गरिएको हो ।
पाँच जना प्रमुख जिल्ला अधिकारीको सरुवा गर्ने सरकारी निर्णयसँगै बाँकेमा प्रजिअ फेरिएका हुन् ।
उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न जिल्लाका पाँच जना सिडिओको सरुवा गरेका हुन् । जसमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यलाई गृह मन्त्रालय तानिएको छ । इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई बाँकेको सिडिओको जिम्मेवारी दिइएको छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई सर्लाहीको प्रमुख जिल्ला अधिकारी, सर्लाहीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई इलाम सरुवा गरिएको छ भने गृह मन्त्रालयमा कार्यरत सहसचिव टुवराज पोखरेललाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
विहीवारनै प्रहरी प्रधान कार्यालयले बाँके र सर्लाहीका एसपीलाई काज सरुवा गरेको छ । बाँकेमा सुवास चन्द्र बोहरा र सर्लाहीमा प्रविण धिताललाई पठाइएको प्रहरी स्रोतले जनाएको छ ।
सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि असोज १६ बाट बाँकेमा लगातार कफ्र्यू लगाइएको थियो । दुई फरक धार्मिक समुदायबिच तनाव सिर्जना भएपछि नेपालगञ्ज क्षेत्रमा सुरुवाती दिनमा नै स्थानीय प्रशासनले सेनाको सहयोग लिएको थियो ।
सर्लाहीमा पनि दुई समुदायको बिचमा विवाद भएको थियो ।