सुरक्षा अधिकारी भन्छन्, ‘ नेपालगन्जमा अतिवादीका योजना असफल’

नेपालगन्ज घटनाका कारकबारे नजिकबाट खोज–अनुसन्धानमा सक्रिय सुरक्षा अधिकारीले नेपालगन्जवासीले अतिवादीका योजना असफल पारिदिएको औल्याएका छन् ।

नागरिकको उच्च सजगता र प्रहरी प्रशासनको संयमताका कारण नेपालगन्जमा ठूलो दुर्घटना हुन नपाएको निष्कर्ष निकालिएको छ ।

नेपालगन्जमा राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको कार्यक्रममा अधिकांस वक्ताहरूले आम नेपालगन्जबासीको सतर्कताका कारण कुनै अप्रिय घटना हुन नपाएको बताए ।

‘प्रहरी, प्रशासनले उच्च संयमता देखाएको छ’, कार्यक्रमका वक्ताहरूको भनाइ थियो, ‘उत्तेजित भएर बल प्रयोग गरेको भए हुनसक्ने मानवीय क्षतिको अनुमानसम्म लगाउन सकिंदैन ।’

सहभागीहरूले सुरक्षा कमाण्डको भूमिकाहरूमा बाहिर प्रश्न उठाइरहेपनि नेपालगन्जको सन्दर्भमा ‘संयमता नै समाधानको अस्त्र बनेको’ धारणा राखे ।


‘अतिवादीहरूले ठूलो वितण्डा मच्चाउन चाहेका थिए, हामीले त्यो मौका दिएनौं’, सुरक्षा अधिकारीहरूको एउदै स्वर थियो, ‘कथंकदाचित प्रहरी उत्तेजित भएको भए ठूलो क्षति निम्त्याउने गरी अतिवादीहरू सल्बलाएका थिए ।’


बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले आम नागरिकको विश्वास र आपसी समझदारीले नेपालगन्ज छिट्टै सहज अवस्थामा फर्किएको बताए । ‘यही अवस्थाबाट समाजलाई सकारात्मक गति दिंदै अगाडि बढ्न सबैको सहयोगी भूमिका आवश्यक छ’, प्रजिअ आचार्यले नागरिक समाज, सञ्चारकर्मी, अधिकारकर्मीहरूको भूमिकाको प्रशंसा गर्दै भने ।

नेपालगन्ज घटनालाई आफुले निकै गम्भीरतापूर्वक अध्ययन गरेको जनाउ दिंदै प्रजिअ आचार्यले सहभागीहरु बीच भने, ‘देशका विभिन्न ठाउँमा श्रृंखलाबद्ध घटना हुँदा समेत शान्त रहेको नेपालगन्ज आपसी सद्भाव र चेतनाको बलियो आधारमा उभिएको प्रमाण हो ।’

तरपनि पछिल्लो घटना हुनुमा युवा पंक्तिमा धार्मिक र सामाजिक चेतनाको अभाव रहेको तर्क गर्दै प्रजिअ आचार्यले भने, ‘१६–२२ उमेर समूहको जनसंख्यालाई सकारात्मक दिशा निर्देश गर्न राज्यले पनि सकेको छैन, अभिभावकबाट पनि भएको छैन ।’ उनले सामाजिक सञ्जालको बढ्दो दुरुपयोगले सामान्य घटनालाई यो रुपमा पुर्याउनुको कारणका रुपमा चित्रण गरे ।

प्रजिअ आचार्यले कार्यक्रममा सहभागी अधिकारकर्मीहरूसँग असहज परिस्थिति बीच मानवअधिकारको अवस्था बारे पनि चासो राखे ।

त्यसक्रममा इन्सेक नेपालगन्जका संयोजक भोला महतले मानवअधिकार उल्लंघनको एउटा घटना मात्रै आफुहरु समक्ष आइपुगेको जानकारी गराउँदै अबका दिनमा संवेदनशील क्षेत्रको पहिचान र निर्धारण गरी सुरक्षा व्यवस्थापनको ‘रोड म्याप’ बनाउन सुझाव दिए । ‘सद्भावपूर्ण सम्बन्ध र सुरक्षा रणनीतिलाई सँगसँगै अगाडि बढाउनु पर्छ’, उनले भने ।


बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सन्तोष सिंह राठौैंरले सामाजिक सञ्जालहरुको दुरुपयोग गरी अतिवादीहरुले सामान्य घटना र विषयवस्तुलाई ‘प्रोभोग’ गरेको टिप्पणी गर्दै भने, ‘उनीहरु आफ्नो योजनामा सफल हुन सकेनन् ।’

प्रहरी उपरीक्षक राठौरले ढिलो, चाँडो घटनाका दोषीहरु कानुनी कारवाहीको दायरामा आउने ठोकुवा गर्दै भने, ‘अबका दिनमा पनि नेपालगन्जबासी अटुट एकताका साथ यसखालका असामाजिक तत्वबाट जोगिएर आपसी सद्भाव बलियो बनाउँदै अगाडि बढ्नुको विकल्प छैन ।’

कार्यक्रमको अध्यक्षता गरिरहेकी राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्ज कार्यालय प्रमुख द्वारिका अधिकारीले जात र धर्मका आधारमा समाजलाई विभाजन गर्ने तथा द्वन्द्व निम्त्याउने कुराले कसैलाई पनि फाइदा नपुग्ने औंल्याइन् ।

‘केही समस्या छन् भने आयोग आउन सक्नुहुन्छ’, जिल्ला प्रशासन र प्रहरी कार्यालयमा उजुरी दिन सकिन्छ’, आम नागरिकलाई सुनुवाईका विभिन्न विकल्प प्रस्तुत गर्दै अधिकारीले भनिन्, ‘तर, जात, धर्म र सम्प्रदायका आधारमा विवाद, बहस र द्वन्द्व नगरौं ।’


सामाजिक अभियन्ता शाहिदा शाहले युवा पुस्तामा धर्मको ज्ञान र सामाजिक चेतना पटक्कै नभएको औंल्याइन् । ‘राज्यले तत्काल नैतिक शिक्षालाई पाठ्यक्रममा समावेश गरेर आगामी पुस्तालाई नैतिकवान बनाउन जरुरी छ’, पछिल्लो घटनालाई नजिकबाट नियाल्दा युवा पुस्तामा धर्म र सामाजिक संस्कार पटक्कै नपाइएको धारणा राख्दै भनिन् ।


कार्यक्रममा सहभागी अन्तरधार्मिक तथा सामाजिक सद्भाव समितिका संयोजक चन्द्रनाथ योगीले ‘प्रहरीको नरमी व्यवहार र प्रशासनको संयोजनकारी भूमिकाका कारण नेपालगन्जमा कुनै अप्रिय घटना हुन नपाएको’ धारणा राखे ।

यद्यपि, सुरक्षा कमाण्डमा ‘अनुभवको अभाव’ औंल्याएका महन्त योगीले कुनै पनि पर्व, संस्कार मनाउँदा कानुनको उल्लंघन रोक्न प्रहरी प्रशासनले कडाई अपनाउनु पर्ने सुझाव दिए ।

सद्भाव समितिका सहसंयोजक मौलाना अब्दुल जब्बार मञ्जरीले प्रशासनको संयमताले नै ठूलो दुर्घटना टरेको बताए । ‘प्रहरी, प्रशासनले बल प्रयोग गरेको भए नेपालगन्जमा ठूलो मानवीय क्षतिको जोखिम थियो, मौलाना जब्बारले भने, ‘प्रहरी, प्रशासनको संयमताले नेपालगन्ज जोगियो ।’ उनले यसअघिका ठूला–ठूला घटनाका देशव्यापी चर्चा गर्दै दमनले समस्याको समाधान नदिने बताए ।


कार्यक्रममा सहभागी अधिवक्ता विश्वजित तिवारी, अधिवक्ता चित्र बहादुर शाही, अधिकारकर्मी प्रल्हाद खत्री, पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, पूर्व अध्यक्ष रुद्र सुवेदी लगायतले आगामी दिनका लागि उच्च सतर्कता अपनाउन सुझाव दिए ।

उनीहरुले पछिल्लो घटनाका हरकोई दोषीको पहिचान गरी कानुनी कारवाहीको दायरामा ल्याउन प्रहरी, प्रशासनलाई सुझाव दिंदै सामाजिक सञ्जालको नियमन र निगरानीमा राज्यको ध्यानाकर्षण गराए ।

‘मिडियाका नाममा भैरहेको अराजकता रोक्न प्रहरी, प्रशासन गम्भीर बन्नुपर्छ’, महासंघ अध्यक्ष भण्डारीले खासगरी युटुब र अनलाइनका नाममा जथाभावी गर्नेहरुलाई निगरानी र नियमनको सुझाव दिंदै भने ।

पूर्व अध्यक्ष सुवेदीले मूलधारका सञ्चारमाध्यम र सञ्चारकर्मीले खेलेको भूमिकालाई राज्यले सराहना गर्नुपर्ने टिप्पणी गर्दै ‘नागरिकता पत्रकारिताका नाममा सामाजिक सञ्जाल र युटुबमार्फत भैरहेको अराजकता रोकिनु जरुरी छ ।’

प्रतिक्रिया

प्रतिक्रिया