‘देहरादून म्याराथन’का प्रतिष्पर्धी नेपालीलाई नेपालगन्जमा स्वागत

भारतको देहरादूनमा सोमबार भएको ‘सारमङ देहरादून म्याराथन’मा नेपाली खेलाडीको उत्साहजनक प्रदर्शन भएको छ ।

धारा–नेपालगन्ज म्याराथनको समन्वयमा नेपालबाट सहभागी चार जना खेलाडीले देहरादून म्याराथनमा उत्साहजनक प्रदर्शन गरेका हुन् ।

‘जिते देशका लागि हारे स्वास्थ्यका लागि भन्ने मूल नारा लिएर हामी त्यहाँ पुगेका थियौं’, आफ्नो उमेर समूहमा प्रथम हुन सफल रेवत बहादुर दाहालले उपाधी देखाउँदै भने, ‘४२ किलोमिटरको पूरा म्याराथनमा युवाहरूको बीचमा पसेर पनि मेरो प्रदर्शनबाट सन्तुष्ट छु।’

६ सय बढी सहभागीहरू बीच महेन्द्र सिंह विष्ट पुरुषतर्फ र शशी मेहता महिला तर्फ च्याम्पियन हुन सफल देहरादून म्याराथनमा ५०–५९ उमेर समूहमा प्रथम दाहालले भारतीय आर्मीका खेलाडीहरू धेरै रहेको प्रतियोगितामा बाँकी ३ जनाले पनि उत्साहजनक प्रदर्शन गर्न सफल भएको बताए ।

उनीसँगै देहरादून म्याराथनमा सहभागी नेपाली खेलाडी राजु श्रेष्ठले २१ किलोमिटरको हाफ म्याराथनमा आफ्नो उमेर समूह ४० –४९ मा दोस्रो हुन सफल भए । त्यही जहरमान गुरुङ्ग सोही उमेर समूहमा चौथो भएका छन् । ५०–५९ उमेर समूहमा १० किलोमिटर दौड लगाएका शिवलाल ओली तेस्रो हुन सफल भए ।

नेपाल राष्ट्र बैंकबाट विभिन्न दौडमा भाग लिन पाएको सहयोग सम्झदै उनीहरूले देहरादूनमा भने धारा नेपालगन्ज म्याराथनको समन्वयमा सहभागी हुन पाएकोमा निकै खुशी भएको बताए ।

‘नेपालगन्ज म्याराथनको तयारीमा जुट्ने हो’, नेपाल आर्मीको रिटायरमेन्ट पछि स्वास्थ्यका लागि दौडने गरेका राजु श्रेष्ठले अघिल्लो बर्ष नेपालगन्जमा दौडिएको सम्झदै भने, ‘यसपटक त उल्लेख्य प्रगति गर्नुपर्ने छ ।’

सोमबार देहरादूनमा दौडिएर फर्किएका उनीहरूलाई मंगलबार धारा नेपालगन्ज म्याराथनका तर्फबाट आयोजकले नेपालगन्जमा स्वागत, सम्मान गरेको छ ।

आयोजकका तर्फबाट क्रियटिभ ह्याण्डसका कार्यकारी अध्यक्ष टीएस ठकुरी लगायतले भारतमा गएर नेपाली खेलाडीको प्रतिनिधित्व उत्साहजनक ढंगले फर्किएका चारै जनालाई स्वागत, सम्मान गरेका हुन् ।

‘नेपालगन्ज म्याराथन जस्तै एम्स सर्टिफाइड म्याराथन भएकाले नेपालीहरूको सहभागिताका लागि रेस डाइरेक्टर अनिल मोहनसँग समन्वय गरी खेलाडी पठाइएको थियो’, अध्यक्ष ठकुरीले विश्वव्यापी रूपमै नेपाली खेलाडीहरूलाई सहभागी गराउँदै लैजाने उद्देश्य सुनाउँदै भने, ‘हामी चाहन्छौं, नेपालगन्ज म्याराथनका सहभागीहरू विश्वका एम्स सर्टिफाइड ठूला, ठूला म्याराथनमा सहभागी हुन सकुन् ।’

त्यसका लागि आफुले ती देशका आयोजकहरूसँग निरन्तर सम्बन्ध र सम्पर्क बिस्तार गरिरहेको जानकारी दिंदै अध्यक्ष ठकुरीले भने, ‘ती देशबाट पनि नेपालगन्जमा खेलाडीहरू सहभागिताका लागि निम्त्याइने छ, किनकी नेपालगन्ज म्याराथन पनि एम्स सर्टिफाइड भैसकेको छ ।’

यसपटक ‘सिपाहीका लागि दौड’ नाराका साथ गरिएको देहरादून म्याराथन भारतमा राम्रो आकर्षण बन्दै गइरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया